धनकुटा — सबैको हातमा मदिरा (कोदोको रक्सी) को गिलास थियो । पिउने क्रमसँगै कार्यक्रमको औपचारिक सुरुवात गरियो । सन्दर्भ थियो, परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रवर्द्धन समिति गठन गर्ने ।

 

 

मंगलबार दिउँसो धनकुटा नगरपालिका–७ बसपार्कस्थित सैनिक भवनमा आयोजित कार्यक्रमको दृश्य हो यो । सुरुमा मञ्चमा आसिन अतिथिलाई मदिरा बाँडियो ।

 

 

 

 

त्यसपछि सहभागीलाई बाँडिए पछि सबैले एकै स्वरमा चियर्स भन्दै पिए । उपस्थित कतिपयले सुरुमा पानी वितरण गरेको ठाने पनि प्लास्टिकको ठूलो बोतलबाट गिलासमा राखेर मदिरा बाँडिएको थियो । कोदोको रक्सी प्रवर्द्धन समिति प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा अधिकांश महिला सहभागी थिए ।

परम्परागत पेय पदार्थ ब्रान्डिङ गर्न अभिप्रेरित गर्न अभियान थालिएको घरेलु रक्सी प्रवर्द्धन समिति प्रदेश १ का अध्यक्ष टेकबहादुर खजुमले बताए ।

 

 

जमिन बाँझिन थालेकोले कोदो बालीको उत्पादन गर्न अभियानले सघाउ पुर्‍याउने उनको विश्लेषण छ । ‘झट्ट रक्सीको नाम सुन्दा मनोवैज्ञानिक रूपमा त्रास उब्जिने गरे पनि अब घरेलु रक्सीको ब्राडिङ गर्न जरुरी छ,’ खजुमले भने, ‘पुराना कानुन परिमार्जन तथा समयसापेक्ष ऐन

 

 

 

कानुनमार्फत यसको उत्पादन गरी विदेश निर्यात गर्ने वातावरण बनाउन सके राजस्व वृद्धि गर्न सकिन्छ ।’ उनले घरेलु मदिरालाई ब्यान्ड (प्रतिबन्ध) होइन, ब्रान्ड बनाएर विदेश निर्याततर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

 

घरेलु मदिरा प्रवर्द्धन अभियन्ता सरु सिंगकले अवधारणा पत्र प्रस्तुत गरिन् । उनले जनजातिहरूले पुख्र्यौली रूपमा विकास गरेको मदिरा बनाउने प्रविधि कला अझै पनि सुरक्षित रहेको भन्दै संरक्षणमा जोड दिइन् । उत्पादित मदिराको स्तरीकरण र ब्रान्डिङ गरी व्यवस्थित बजारीकरणतर्फ सरकारको चासो जानुपर्नेमा उनल जोड दिइन् ।

 

 

 

प्रदेशका सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको ब्रान्डिङ गरी विदेश निर्यात गर्ने भने पनि अझै त्यसले मूर्तरूप नपाएकाले आफूहरू अभियानमा जुटेको बताइन् प्रचलित मदिरा ऐन २०३१ तथा मदिरासम्बन्धी नियमावली २०३३ लगायत विभिन्न निर्देशनहरूले घरेलु मदिरालाई प्रतिबन्धित वस्तुको रूपमा उल्लेख गरेको छ ।

 

 

त्यस्ता कानुन संशोधन तथा समयानुकूल परिमार्जन गर्न बाँकि रहे पनि घरेलु मदिरा उत्पादन गर्न अभियान थालिएका छन् । कानुन संशोधन नहुन्जेल विद्यमान कानुनले घरेलु मदिरा उत्पादनमा समस्या हुनसक्ने अवधारणापत्रमा उल्लेख छ ।

 

बन्देज फुकुवा गर्न कानुन संशोधन गरेर घरेलु मदिराको उत्पादन, गुणस्तरसँगै वैज्ञानिक परिक्षण गरी मानव स्वास्थ्यका विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको अभियन्ता सिंगकले बताइन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, आदिवासी जनजाति महासंघ, पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथिका रूपमा सहभागी थिए ।।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय