नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने निश्चितप्रायः छ । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावी तालमेलको भद्र सहमति बनिसकेको बुझिएको छ । काँग्रेसले पार्टीभित्रबाट तालमेलको निर्णय समेत गराइसकेको छ । माओवादीमा प्रचण्डको निर्णय नाघ्ने कोही छैन ।

 

उनले प्रधानमन्त्रीमा समेत आलोपालो गरेर जाने विषय बोलिसकेका छन् ।सत्ता गठबन्धनबीच नै चुनावी तालमेलको कुरा भएको छ । तर, माधव नेपाल पक्षका झलनाथ खनाल एमालेसँग मिल्ने सम्भावना टरेको छैन । त्यस्तो अवस्थामा पनि काँग्रेस र माओवादी मिलेर जाने अवस्था कायम रहन्छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी या महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि गठबन्धनमा रहने सम्भावना बलियो छ ।

 

काँग्रेस र माओवादीबीच चुनावी तालमेल भए के होला ? २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार खडा गरेका थिए । सुर्य चिन्हमा उम्मेदवार बनेका १०३ मध्ये ८० जना विजयी भएका थिए । गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह लिएर माओवादीका ३६ उम्मेदवार विजयी भएका थिए । दुवै दलले एक अर्काको उम्मेदवारलाई साथ दिएका थिए ।

 

यसैको नतिजास्वरुप दुवै दलले उल्लेख्य संख्यामा प्रत्यक्षतर्फ जीत हासिल गरे । नेपाली काँग्रेस निकै खुम्चियो । काँग्रेसले प्रत्यक्षतर्फ मात्र २३ सिट जित्यो ।२०७० सालको निर्वाचनमा हार व्यहोरेको धेरै क्षेत्रमा एमाले उम्मेदवार माओवादीसँगको गठबन्धनले विजयी भएका थिए । यसले पनि २०७४ मा गठबन्धनले एमालेलाई सबैभन्दा लाभ मिलेको देखिन्छ ।

 

माओवादीसँगको गठबन्धनले ८० स्थानमा प्रत्यक्षतर्फको उम्मेदवारलाई विजय बनाउन सकेको एमालेले अबको चुनावमा एक्लै यही सफलता हासिल गर्न चमत्कार नै हुनुपर्छ । माओवादीसँगको गठबन्धन तोडिनु र काँग्रेससहित माओवादी, नेकपा एस, जसपा र जनमोर्चा नेपाल समेतको गठबन्धनले ओलीलाई ठूलो धक्का पर्न सक्छ ।

 

यसअघिको निर्वाचन परिणामलाई आधार मान्दा ओली समूहलाई देशभरका निर्वाचन क्षेत्रमा चुनाव फलामको च्युरा सरह हुनसक्छ । एमालेको माओवादी केन्द्रसँग चुनावी सहकार्य नहुने र प्रचण्ड देउवासँग मिलेर जाने सहमति कार्यान्वयन हुने हो भने नतिजा निकै फरक आउनसक्छ ।

विघटित प्रतिनिधि सभामा निर्वाचित एमालेका ८० मध्ये ३१ जनाले १० हजार भन्दा बढी मतान्तरले जित हासिल गरेका थिए । १६ जनाले ७ हजार, ११ जनाले ५ हजार, ६ जनाले ३ हजार, ६ हजारले २ हजार, ५ जनाले १ हजार, ३ जनाले ५ सय र ३ जनाले ५ सयभन्दा कम मतान्तले जीत हासिल गर्न सकेका थिए । यो तथ्यांकलाई आधार मान्ने हो भने माओवादीसँग विना गठबन्धनमा जाँदा एमालेलाई सिधै ५० सिटमा झट्का लाग्ने देखिन्छ ।माओवादीको मत एमालेलाई पर्दा कम्तिमा ५० सिटमा जीत सुनिश्चित भएको हो ।

 

बाँकी ३० सिटमा पनि कम्युनिस्ट एकता नहुँदा जीत निकै कठिन हुने देखिन्छ । त्यसमाथि काँग्रेससँग माओवादी र एमालेको नेपाल पक्षीको भित्री गठबन्धन बनेमा ओलीले झन् ठूलो झड्का खानुपर्ने हुनसक्छ ।

 

१० हजारभन्दा मतान्तरले जीत हासिल गर्नेमा माधव नेपाल पक्षका निवर्तमान प्रत्यक्ष निर्वाचित सांसदहरुको संख्या उल्लेख्य छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, सोमनाथ पाण्डे, विरोध खतिवडा, मेटमणी चौधरी, कृष्णलाल श्रेष्ठलगायत छन् । यो तथ्यले पनि ओलीलाई अबको चुनाव सजिलो छैन ।

 

 

त्यसैले ओलीले वाम एकताको आग्रह गरिसकेका छन् । वामदेव गौतम एकताका लागि सक्रिय छन् । तर, प्रचण्डले देउवासँग हात मिलाइसकेको र विगतमा जस्तो परिवर्तन नहुने बताइसकेका छन् । यसबाट ओलीलाई चुनावमा धक्का लाग्ने अवस्था विकास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय