मंगलबार , बैसाख २५, २०८१

काठमाडौं – बजेटमा करको दर हेरफेर गरेको विषयमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिमा लफडा भएको छ । मंगलबार बसेको पहिलो बैठकमा संयोजक चयनको विषयमा लफडा भएको हो ।

 

ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको समिति बैठकले समितिको संयोजक चयन गर्ने विषयमा एमाले र कांग्रेसका नेताहरुबीच कुरा नमिलेपछि बैठक स्थगित भएको छ । सभापति चयनको पहल भए पनि सफल नभएको समिति सदस्य कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।

 

सभापतिमा कांग्रेस र एमालेको दावि छ । ज्येष्ठ सदस्य कर्णका अनुसार बैठक आज दिउँसो साढे २ बजे फेरि बस्नेछ । समिति सचिव सुरेन्द्र अर्यालले सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय पनि भएको जानकारी दिए ।

 

‘सकेसम्म सर्वसम्मतिमा सभापति चयन गर्ने निर्णय भएको छ । अब अर्को बैठक (बुधबार दिउँसो साढे २ बथजेसम्म) माननीय सदस्यहरुले आन्तरिक छलफल गरेर सहमतिको प्रयत्न गर्ने भन्ने भएको छ’ सचिव अर्यालले भने ।

 

समितिलाई कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन दिने समयावधि तोकिएको छ । तोकिएको समयावधि मंगलबारबाटै सुरु भएको छ ।

 

समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् । छानबिन गर्न समिति गठन भएपछि शर्माले २२ असारमै राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय