एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन्।

 

 

अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन्।नेकपा एस पनि सत्ता गठबन्धनमा छ।

 

 

 

नेकपा एसको दुई दिनसम्म काठमाडौंमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले कांगे्रस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए। ‘स्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा कांग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरे’,

 

 

 

परिषद् बैठकमा वाग्मती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए।वाग्मती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए। प्रतिनिधिहरूले स्थानीय तह निर्वाचनमा समग्र रूपमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूले नेकपा एसबाट फाइदा लिएको विवरण प्रस्तुत गरेका थिए।

 

 

 

उनीहरूले कांग्रेस र माओवादीले जितेका अधिकांश स्थानमा नेकपा एसको सहयोग रहेको दाबी गरेका थिए।एमालेले करिब १ सय स्थानमा नेकपा एसकै कारण चुनाव हारेको विवरण पनि परिषद्मा प्रस्तुत गरिएको थियो। ‘अब हामी गठबन्धन नगरी एक्लै चुनाव लडौं, कसैको बैसाखी नटेकौं’, कर्णाली प्रदेशका एक नेताले समूहगत छलफलमा भने। कर्णाली प्रदेशका तर्फबाट अमरबहादुर थापाले एक्लै चुनावमा जानुपर्नेसहितको निचोड परिषद् बैठकमा राखेका थिए।समूहगत छलफलमा एमालेसँगको एकीकरण र गठबन्धनका विषयमा पनि छलफल भएको थियो। एमालेभित्र नेता–

 

 

 

कार्यकर्ता असल भए पनि अध्यक्ष केपी ओलीकै कारण तत्काल पार्टी एकीकरण गर्न नहुने तर उनले आफू सच्चिएको र विगतमा भएका कमीकमजोरीप्रति आत्मसमीक्षा गरे एकता र गठबन्धनका लागि नेतृत्वले सोच्नुपर्ने धारणा प्रतिनिधिहरूले राखेका थिए। ‘एमालेका नेता–कार्यकर्तामा ओली प्रवृत्ति हाबी भयो।जिल्ला तहमा पनि त्यसखालका प्रवृत्ति फैलिएको छ, जसले गर्दा तत्कालै पार्टी एकीकरण हुने सम्भावना छैन। तर एमाले नेतृत्व सच्चिएको आभास भएमा हाम्रो नेतृत्वले सोच्नुपर्ने धारणा आएको छ’,

 

 

 

परिषद् बैठकमा सहभागी एक प्रतिनिधिले भने। ती प्रतिनिधिका अनुसार सहभागीले एमालेलाई गाली गरेर आफूहरू ठूलो नहुने बरु आफ्नै पार्टी निर्माणमा लागे मात्रै ठूलो र संगठित हुने भएकाले संगठन निर्माणमा लाग्नुपर्ने धारणा राखेका थिए।

 

 

 

परिषद् बैठकमा सहभागी प्रतिनिधिहरूले कांग्रेससँगको सहकार्यले पार्टी उँभो नलाग्ने बरु ध्वस्त हुने भएकाले कांग्रेससहितको गठबन्धनबाट चाँडै बाहिरिन नेतृत्वलाई सुझाएका छन्।

 

 

 

खासगरी कर्णाली प्रदेशबाट सहभागी प्रतिनिधिले पार्टी बनाउने हो भने तत्काल कांग्रेसको साथ छाड्न सुझाव दिएका थिए। उनीहरूले निर्वाचनमा कुनै दलसँग तालमेल वा गठबन्धन गर्नुपरे जिल्ला तहलाई अधिकार नदिई केन्द्रबाटै प्रतिशतका आधारमा सिट संख्या तोकिनुपर्नेमा जोड दिएका थिए।

 

 

 

नेकपा एस प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले भने, ‘मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी नेकपा एस स्थापना गर्नुपरेको, कम्युनिस्ट आन्दोलनमा देखा परेका विसर्जनवाद र अवसरवादविरुद्ध जनतालाई एकताबद्ध गर्ने, पार्टीको औचित्य, आवश्यकता र आगामी कार्यदिशाबारे परिषद् बैठकमा छलफल भयो।’

 

 

 

केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठका अनुसार परिषद् बैठकमा छलफलका लागि गठन गरिएका ११ वटै समूहले आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि धारणा राखे। बैठकमा करिब एक हजार पाँच सय बढी नेता–कार्यकर्ता उपस्थित थिए। परिषद् बैठकमा सहभागीले पार्टीमा संस्थागत प्रणाली विकास नभएको भन्दै नेताहरूको आलोचना गरेका थिए।

 

 

 

व्यक्तिको पहुँचका आधारमा नेताहरूले काम गरेका र सामान्य कार्यकर्ताका प्रस्तावलाई बेवास्ता गरेको आरोप पनि प्रतिनिधिले लगाएका थिए। पार्टीमा मौलाउँदो ‘गणेश’ प्रवृत्तिमा तत्काल रोक लगाउनुपर्ने उनीहरूले बताएका थिए।

 

 

‘नेताहरूका वरिपरि धेरै घुम्ने, अरूलाई गाली गर्ने तर नीति र सिद्धान्तप्रति प्रतिबद्ध नभएका धेरै देखियो, नेताहरूसँग घुमेर रमाउने मात्रै नेता–कार्यकर्ता देखिए, उनीहरूले नै नेताहरूलाई चलाएको देखियो’, बैठकमा सहभागी एक प्रतिनिधिले भनेका थिए।‘

 

 

 

एमालेबाट हामी सबैजना विद्रोह गरेर आएका हौं तर सरकारमा सहभागी मन्त्रीले मात्रै पार्टी थेगेको जस्तो देखियो, पार्टीको निर्णय तत्कालै शिरोधार्य नगरी पार्टी नेतृत्वकै बदनाम गरियो,’ नेकपा एसमा मन्त्री फेरबदलमा चलेको रस्साकस्सीतर्फ लक्षित गर्दै प्रतिनिधिले भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय