शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं।

काठमाडौंमा महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले

मतगणना प्रतिनिधि राख्नेबारे जिल्ला निर्वाचन कार्यालयले गरेको व्यवस्थामा आपत्ति जनाएका छन् ।

बालेनका अनुसार मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि राख्न सकिने जानकारी निर्वाचन अधिकृतले गराएका छन् ।

‘सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि

पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’हरेकलाई हरेकसँग प्रतिस्पर्धी मानिएको छ ।

हरेकले पाउने प्रत्येक मतको मतभार बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?’

उनले स्वतन्त्रहरु आफैमा फरक फरक विचार, समूह र उम्मेदवार भएको बताएका छन् । उनीहरु आफै बीचमा प्रतिस्पर्धा हुन्छ ।

उनले पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको भन्ने प्रश्न उठाएका छन् ।

‘कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधि छान्ने हो रु पाँच जनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो ?

आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन,’ उनले लेखेका छन् ।

सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगर्न बालेनले सचेत गराएका छन् ।

५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधि भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपूर्ण भएको उनले बताएका छन् ।

‘यो लोकतन्त्रको विरुद्धमा छ । यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपुर्ण हुँदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् ।

हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस्,’ उनले लेखेका छन्,

यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय