शनिबार , बैसाख २२, २०८१

काठमाडौँ –

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनावमा अरू दलहरूसँग गठबन्धन गरेर जानुपर्ने बताएका छन्।

०७४ मा गठबन्धन नगर्दा धेरै नेताहरू हारेको प्रसंग निकाल्दै आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा देउवाले भने, ‘सबै सिट जित्नका लागि गठबन्धन गर्नुपर्छ,

०७४ मै म त बालबाल जितेको हुँ। हाम्रा साथीहरू धेरै हार्नुभएकै हो।’ गठबन्धन नगर्दा कांग्रेसले धेरै ठाउँ गुमाउन सक्ने उनको भनाइ थियो।

उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाकै गठबन्धनलाई चुनावसम्म कायमै राख्नुपर्ने पनि बताए।

उनले माओवादीलाई साथ दियो भनेर आफ्नो आलोचना हुने गरेकोमा भने, ‘माओवादीलाई बोक्यो भन्छन् मैले बोकेको हो? गिरिजाबाबुले शान्ति प्रक्रियामा ल्याएको होइन?

त्यसबेला केही नभन्ने अहिले मलाई प्रश्न गर्ने?’ उनले माओवादीले कांग्रेस नेता तथा कार्यकर्तालाई पहिले दु:ख दिए पनि पुराना कुरा बिर्सेर अहिले गठबन्धन गर्नुपर्ने बताए।

‘मलाई पनि माओवादीले दु:ख दिएकै हुन्। एम्बुस थापेका थिए,’ उनले भने। देउवालाई तत्कालीन माओवादीले कैलालीमा एम्बुस थापेका थिए।

डोटीबाट फर्कंदै गर्दा उनी चढेको गाडीलाई लक्षित गरेर द्वन्द्वकालमा माओवादीले एम्बुस थापेको थियो। देउवाले आफूले लिएको

सिद्धान्तमा शंका नगर्न पनि आग्रह गरेका थिए। उनीभन्दा अघि बोलेका शेखर कोइरालाले केका लागि गठबन्धन भन्दै प्रश्न गरेका थिए।

कोइरालालाई जवाफ दिने क्रममा आफ्नो पालोभन्दा अघि नै बोलेका देउवाले भने, ‘म धेरै लडेर यहाँ आइपुगेको हुँ। सिद्धान्तमा शंका नगर्नुस्।

अब म सभापति बन्ने पनि होइन।’ देउवा १५ औं महाधिवेशनमा सभापति उठ्न पाउँदैनन्, विधानले नै रोकेको छ। कांग्रेसले जारी केन्द्रीय समितिबाट

गठबन्धन गर्ने मोडालिटी तयार गर्ने भएको छ। आजै केन्द्रीय समितिले गठबन्धनबारे सैद्धान्तिक निर्णय लिने नेताहरूले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय