काठमाडौं ।

नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्मा हेरफेर हुन सक्ने बताएका छन्। मंगलबार प्रचण्डले मन्त्रिपरिषद्मा

हेरफेर हुन लागेको संकेत गरेका हुन्। नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न

जनकपुरधाम पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीसँग सो कुरा बताए। सत्तागठबन्धनमा सो कुरा भइरहेकोले अहिले नै टुंगो भने लागिनसकेको अध्यक्ष दाहालले बताए।

मन्त्रि हेरफेर गर्दा आफ्नो हैसियत अनुसार आफ्नो पार्टीले मन्त्रालय पाउनुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफूले कुरा राखेको पनि दाहालले जानकारी दिए।

उनले भने,‘मन्त्रिपरिषद् विस्तार र हेरफेरको कुरा चलेको छ । केही मन्त्रीहरू हेरफेर हुन्छन्, केहीमा नयाँ आउँछन् । माओवादी

केन्द्रले आफ्नो हैसियतअनुसार थप मन्त्रालय पाउनुपर्ने दाबी पनि गरेको छ।’ अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन र

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी बनाएका कारण माओवादी लचिलो हुँदै आएको बताए ।

उनले भने,‘प्रधानमन्त्रीले पनि मेरो पार्टीको महाधिवेशनसम्म हेर्दिनुस् भन्नुभयो । माधवजीले म त भर्खर नयाँ पार्टी बनाएको मलाई दुःख छ भन्नुभयो ।

सबैभन्दा ठूलो त्याग गठबन्धनमा माओवादीले गरेको छ । हामीले सबैको अप्ठ्यारो बुझ्यौं । अब चाहिँ मन्त्रिपरिषदमा हामीलाई सम्मानजनक हैसियत चाहिन्छ ।

यो कुरा प्रधानमन्त्रीलाई भनेका छौं । यसमा प्रधानमन्त्री सहमत हुनुहुन्छ।’ उनले चुनावी तालमेलबारे गठबन्धनको नेतृत्व तहमा कुनै तिक्तता नरहेको बताए ।

माओवादीले चुनाव जित्न नसक्ने भएकाले गठबन्धन गर्नुपरेको होइन : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आगामी निर्वाचनमा आफ्नै खुट्टामा उभिएर परिणाम ल्याउन केन्द्रीत भएको बताएका छन्। मंगलबार मधेस प्रदेशमा आयोजना हुन

लागेको प्रशिक्षणमा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले आफ्नै संगठनको बलमा चुनाव जित्ने गरि केन्द्रीत भएको बताए।

उनले गठबन्धनको विषयमा कुनै तिक्तता नभए पनि माओवादीले चुनाव जित्न नसक्ने भएर गठबन्धन गर्न परेको रुपमा बुझ्न नहुने बताए।

‘गठबन्धनका विषयमा नेतृत्व तहमा तिक्तता छैन। माओवादीले चुनाव जित्न नसक्ने भएकाले गठबन्धन गर्न परेको होइन’ प्रचण्डले भने,

‘यो बीचमा जति पनि माओवादीका गतिविधि भएका छन्। आफ्नै खुट्टामा उभिने र आफ्नै बलमा परिणाम ल्याउने विषयमा केन्द्रीत छौं।’

तर, गठबन्धन बनाउनेमा माओवादी नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रचण्डले दाबी गरे। अहिलेको गठबन्धन चुनावका लागि नबनेको बताउँदै प्रचण्डले संविधान,लोकतन्त्र र राष्ट्रियताको रक्षा निम्ति बनाएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय