काठमाडौं:

देउवाविरुद्ध मोर्चाबन्दीमा जुट्यो शेखर समूह: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको प्रतिवद्धता थियो, महाधिवेशनसँगै गुटहरु सकिने छ ।

महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने कोइराला पराजित । तर महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको बताउने कोइरालाले पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् ।

सभापति देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको गुनासो डा. शेखर समूहका नेताहरुको छ । केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरियता तोके ।

सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २० औं वरियतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भए । वागमती प्रदेशमा मन्त्रीहरु छनोट गर्दा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भाग दिए, तर डा. शेखरसँग परामर्शसमेत गरेनन् ।

सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गरे । कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएकाले यो देउवाको विवेकको निर्णय थियो ।

तर उनले रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरे । पार्टीमा आफूलाई मत नदिनेको पनि सभापति हुने र सबैलाई समेटेर लैजाने प्रतिवद्धता विपरीत सभापति देउवाले फेरि गुटलाई अगाडि बढाउन खोजेको आरोप कोइराला समूहको छ ।

देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका देउवाले डा. शेखरलाई सम्झिएनन् ।

सोमबार केन्द्रीय कार्यसमितिबाट उम्मेदवार चयन गर्दा पनि उनले शेखरको साटो पौडेलसँग परामर्श गरे । मंगलबार भएको छलफलमा यो समूहका नेताहरुले ४० प्रतिशत मत पाएका डा. शेखरलाई नेताकै रुपमा स्वीकार गर्न नखोजेको निष्कर्ष निकालेका छन् ।

नेताहरुका अनुसार महाधिवेशनमै सहभागी नभएका रामचन्द्र पौडेललाई ‘स्पेस’ दिइरहेको भन्दै यो समूहका एक नेता भन्छन्, ‘पौडेललाई यो समूहको नेताका रुपमा व्यवहार गर्नुभएको हो भने त्यो गलत हो ।

हाम्रो समूहको नेता शेखर कोइराला हो । उहाँलाई पनि समेटेर लैजाने उदारता पार्टी सभापतिले देखाउनुभएको छैन ।’ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएपनि पौडेलले

अप्रत्यक्ष रुपमा देउवालाई नै सहयोग गरेको कोइराला समूहको दाबी छ । डा. शेखरले आफूले गुटलाई निरन्तरता दिन खोजेको नभई पार्टीभित्र न्याय खोजेको धारणा राखेका थिए ।

‘म गुटका नाममा भागबण्डा खोज्दिन, तर पार्टीमा सबैलाई न्याय चाहिन्छ भन्ने पक्षमा छु,’ उनले भने, ‘सभापतिले जुनियरलाई मनोनित गर्दा हाम्रातिर भएका सिनियर साथीहरुलाई छुटाउनुभयो, यो न्यायोचित भएन ।’

मंगलबारको छलफलमा कोइरालासहित धनराज गुरुङ, चन्द्र भण्डारी, गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत थिए ।

सभापति देउवा महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका कोइरालासँग सहकार्य गरेर अगाडि बढ्ने पक्षमा देखिनुभएन ।

उहाँले शेखर समूहलाई शक्तिका रुपमा स्वीकार गरेको पाइएन,’ छलफलको निष्कर्ष सुनाउँदै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भनेका छन्, ‘हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं, तर उहाँले त्यो व्यवहार देखाउनुभएन ।’

उनले अघि भने, ‘हामीले भागबण्डा खोजेका होइनौं, साझेदारी चाहेका हौं । त्यो व्यवहार सभापतिबाट होस् भन्ने हाम्रो अपेक्षा हो ।

तर उहाँ एक्लै जान खोज्नु शुभ शंकेत होइन ।’ त्यसैले आगामी रणनीति बनाउन छलफलमा जुटेको यो समूहले बुधबार आफ्नो समूहबाट महाधिवेशनमा उम्मेदवार बनेका पदाधिकारी, केन्द्रीय सदस्यका साथै प्रदेश सभापतिहरुसँग छलफल गर्दैछ ।

पौडेल र सिंहलाई मन्त्री दिए, शेखरसँग परामर्श समेत गरेनन्

नयाँ कार्यसमितिले औपचारिक रुपमा काम थाल्नु अघिल्लो दिन नेपाली कांग्रेसबाट वागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिए ।

प्रदेश मन्त्री छान्दा सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई सम्झिए, मन्त्रीमा भाग दिए । पौडेलको सिफारिशमा बलराम पौडेल भूमि व्यवस्था र सिंहको सिफारिशमा दीपेन्द्र श्रेष्ठलाई संस्कृति मन्त्री बनाए ।

तर सभापतिमा ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालासँग परामर्श गर्न आवश्यक छानेनन् । दोस्रो चरणको मतदानमा विजयी भएपछि डा. शेखरले फोन मार्फत बधाई दिएका थिए । त्यसयता दुई नेताबीच कुनै सम्वाद भएको छैन ।

आफ्नो समूहले पाएको मत (४० प्रतिशत) का आधारमा भागबण्डा नखोज्ने डा. शेखर र उनको टिमको प्रष्ट मत छ ।

त्यसैले मन्त्री नियुक्तिमा चासो नराख्नु अस्वाभाविक होइन । तर उपसभापति, महामन्त्री र सहमहामन्त्री समेत निर्वाचित भएको समूहका नेताका रुपमा शेखरसँग सभापतिले परामर्श गर्नुपर्ने नेताहरु बताउँछन् ।

देउवाले भने शेखर होइन, रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहहरुसँग सहकार्य गर्ने संकेत गरेका छन् ।

पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि शुक्रबार भएको नेताहरुसँग भएको छलफलमा पनि उनले त्यही छनक दिएका छन् ।

कांग्रेसको निर्वाचन समितिले नयाँ कार्यसमिति सदस्यहरुलाई भोलि ११ बजे निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम राखेको छ । दिउँसो १ बजे पहिलो बैठक बस्नेछ । त्यसको तयारीबारे छलफल गर्न केन्द्रीय कार्यालयका कर्मचारीहरुले शुक्रबार सभापति, उपसभापति र महामन्त्रीहरुसँग छलफल गरेका थिए ।

छलफलका क्रममा सभापति देउवाले भोलि नै केही नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने संकेत गरेका छन् । उनको सूचीमा उम्मेदवारहरु, जसले दोस्रो चरणमा समर्थन गरेका थिए, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन् ।

यस्तै रामचन्द्र पौडेल, कृष्ण सिटौला र आफ्नो प्यालनलबाट महामन्त्री लडेर पराजित भएका डा. प्रकाशशरण महत छन् ।

निकटवर्ती स्रोतका अनुसार सभापति देउवाले पौडेललाई दोस्रो वरियतामा राखेर वरिष्ठ नेता बनाउने सम्भावना बलियो छ ।

पर्ख र हेरको रणनीतिमा शेखर

नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकको अघिल्लो दिन डा. शेखरले पनि आफ्नो समूहका नेताहरुसँग छलफल गरेका थिए ।

पदाधिकारीमा निर्वाचित मात्र होइन, उम्मेदवार रहेका नेताहरुलाई समेत बोलाएका छलफल गरेका उनले छिट्टै आफ्नो प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार भएकाहरुसँग परामर्श गर्ने योजना छ ।

एक सहभागीका अनुसार डा. शेखर मात्र होइन, सबै नेताहरू ४० प्रतिशत मतका आधारमा भाग नखोज्ने सार्वजनिक प्रतिबद्धतामा कायमै देखिएका छन् ।

आम चुनावमा केन्द्रित हुने, सभापतिबारे सार्वजनिक रुपमा नकारात्मक टीका टिप्पणी नगर्ने र मद्दत नै गरेर जाने नेताहरुले बताएका छन् ।

तर आफूहरुले प्रतिनिधित्व गरेको विचार समूहको भावना सम्बोधन नगरे संघर्ष गर्न पछि नपर्ने नेताहरुले बताएका छन् ।

सभापतिमा ४० प्रतिशत मत आएको भए पनि केन्द्रीय सदस्य कम भएकाले पनि डा. शेखरलाई नेताका रुपमा स्वीकार नगरेको हुनसक्ने कतिपयको बुझाइ छ ।

एक केन्द्रीय सदस्य भन्छन्, ‘सभापतिजी यसरी नै अघि बढ्नुभयो भने भोलिका दिनमा पार्टीमा समस्या आउन सक्छ ।’

प्रचण्डलाई भेटेर शेखरले भने- म चुनावी गठबन्धनको पक्षमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उनका सहयोगी दिनेश थपलियाले भने ।

थपलियाका अनुसार प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए ।

डा. कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।

कांग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय