शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौं, ४ माघ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले कुराभन्दा काम बढी गरेको दाबी गरेकी छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्,

“म मन्त्री भएलगत्तै कोभिड संक्रमित भएँ । रिकभर हुनै एक महिना लाग्यो । साँच्चै भन्ने हो भने दुई महिनामात्र काम गरेकी हुँ । ढिलो बजेट स्वीकृत हुँदा पनि । सरुवा बढुवामा लागिनँ । अहस्तक्षेपको नीति लिएँ । मैले कुराभन्दा काम बढी गरेकी छु ।”

तपाईंले सय दिने कामको ३७ बुँदामा फेहरिस्त प्रस्तुत गर्नुभयो, संसदीय व्यवस्थामा त कामको समीक्षा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्,

“मेरो मन्त्रालय एक-डेढ सय अर्बको काम गर्ने खालको होइन । कतिपय त ४५ लाखका आयोजना पनि छन् । मैले गुड फेथमा काम गरेकोे छु । नीतिगत सुधार गरेकी छु, यो देखिने काम हो । कतिपय कामको प्रभाव अलि दिन पछि देखिन्छ ।

निश्चय नै प्रधानमन्त्रीको कार्यकाल परीक्षण गर्ने इन्जिन हामी हौं । हामी प्रधानमन्त्रीप्रति जवाफदेही हुन्छौं । मैले मेरो कार्यक्षेत्रको कुरा गरें । यो पनि सरकारकै काम हो । मन्त्रीले गरेको कामबारे जनताले जान्न चाहनु स्वाभाविक हो । प्रधानमन्त्रीले ६ महिनाको तुलनात्मक अध्ययनको प्रतिवेदन चाँडै ल्याउँदै हुनुहुन्छ ।”

बाहिरफेर जे जस्तो चर्चा गरे पनि शेरबहादुर देउवाको कुशल प्रधानमन्त्री रहेको उनले अनुभव सुनाइन् । उनले थपिन्, “म यो मन्त्रिपरिषद्को सबैभन्दा कम उमेरकी मन्त्री हुँ । मेरो पहिलो मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीले आठ वटा एजेन्डामा आठ मिनेटमा सक्नुभयो । उहाँको गाइड लाइन दिने तरिका छुट्टै छ ।”

सरकारले खोपको अभाव हुन नदिएको पनि उनले बताइन् । मन्त्री झाँक्रीले भनिन्, “कतिपयले खोप नलगाएकाले खोप लगाउन विज्ञापन गर्नुपरेको छ । हामीले काठमाडौंपछि प्रदेश २ मा प्रादेशिक खोप भण्डारण केन्द्र बनाएका छौं ।”

तपाईंमाथि मन्त्रालयबाहिर बिचौलियासँग मिटिङ र सेटिङ गरेको गम्भीर आरोप छ नि भन्ने प्रश्नमा उनी आक्रामक रुपमा प्रस्तुत भइन्, “म मेरो छोरालाई गुड मर्निङ पनि नभन्दै तपाईंसँग एकाबिहानै कुरा गरिरहेकी छु । तपाईंले यस्ता नचाहिँदा कुरा गर्ने ?”

उनले स्पष्टीकरण दिइन्, “म बाहिर मिटिङ र सेटिङ किन गर्छु ? दलाल, व्यापारी, विचौलियाले मेरो मन्त्रालयमा टेकेका छैनन् । उनीहरु मेरो क्वार्टर र मन्त्रालयको गेटभित्र छिर्न सकेका छैनन् । मैले चेन ब्रेक गरिसकें । कुन चाहिँ बिचौलिया हो ? मैले चिनेको पनि छैन ।

मेरो मन्त्रालयमा कुनै अनियमितता छ भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने हो । मैले कर्मचारी संयन्त्रमार्फत काम निकाल्ने हो । म त्यति असक्षम पनि छैन कि मलाई कर्मचारीहरुले मनलाग्दी घुमाऊन् । म कर्मचारी परिवारकै मानिस हुँ । कसलाई कति दूरीमा राख्नुपर्छ, मलाई धेरै कुरा थाहा छ ।” यो खबर रिपोटर्स नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय