नेपाली राजनिती,

काठमाडौं ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन् ।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेको बताएर पठाउने गरेका छन् ।

पछिल्लो पटक रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरु पूर्वजिल्लासभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई वागमतीबाट राष्ट्रियसभाको टिकट माग्न बालुवाटार गएका थिए ।

उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए । राष्ट्रियसभा निर्वाचनमात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए ।

उनले भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिनँ, गाउँ गाउँमा एमाले बलियो छ, गठबन्धन छाड्ने कुरा छैन, भोलि वागमतीको सिट हाम्रो भागमा पर्‍यो भने विचार गरौंला भनेर पठाउनुभयो । एमाले तल्लो तहमा फुटेकै छैन भन्ने उहाँको कुरा थियो ।’

देउवालाई भेट्न कांग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्वसभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरु भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसीलगायतका नेता बालुवाटार पुगेका थिए ।

देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै कांग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘एमाले कमजोर भएको छैन, पहिले कांग्रेसलाई गाउँमा बलियो बनाउँ अनि एक्लै लड्ने कुरा गरौं’ देउवाको भनाइ उदृत गर्दै ती नेताले भने ।

देउवालाई सभापतिमा जितेपछि बधाई दिन भनेर गएको कांग्रेस रामेछापको टोलीले खड्कालाई टिकट मागेको हो । भेटपछि कांग्रेस नेताहरु जिल्ला कार्यसमिति बैठक बस्न शनिवार रामेछापको टोकरपुर पुगेका थिए । बढिमालीका डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय