Nepali Rajneeti

आजै नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ।

प्रहरी प्रधान कार्यालयले आकस्मिक रूपमा नेपालको सुरक्षामा एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी खटाएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी नायब निरीक्षकको नेतृत्वमा रहेको उक्त टोलीले नेपालको अग्रपंक्तिको सुरक्षा गर्छ।

‘सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै हाल अस्थायी रूपमा उहाँको सुरक्षामा प्रहरी बढाइको हो, आजैदेखि टोली खटिएको छ,’ एक उच्च प्रहरी अधिकारीले भने।

यसअघि नेपालको सुरक्षामा नेपाल प्रहरीका दुई जना र सशस्त्रको गाडीसहितको टोली थियो।

भिभिआइपी/भिआइपीको सुरक्षासम्बन्धी निर्देशिका २०७७ कार्यान्वयनमा आएपछि नेपालको सुरक्षामा रहेको अगुवा गाडीसहितको टोली फिर्ता गरिएको थियो।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने नेता नेपालको सुरक्षामा प्रहरी बढाइएकोबारे आफूलाई जानकारी नभएको बताए।

सुरक्षासम्बन्धी निर्देशिकाअनुसार गृह मन्त्रालयको टोलीले चुनौती मूल्यांकन गरेपछि मात्रै नेताहरूको सुरक्षा बढाउने/घटाउनेबारे निर्णय लिने व्यवस्था छ तर आकस्मिक रूपमा आउन सक्ने सुरक्षा चुनौती हटाउन सुरक्षाकर्मी बढाउने गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय