मंगलबार , चैत्र ६, २०८०

काठमाडौं।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जटिल राजनीतिक परिस्थितिबीच प्रधानमन्त्री बनेका छन् ।

विगतमा जस्तो उनमो प्रधानमन्त्री बन्दा त्यति खुशी प्रकट भएको छैन । उनी यसपटक प्रधानमन्त्री बन्न त्यतिसारो लालायित पनि थिएनन् ।

तत्कालीन नेकपा हुँदै नेकपा एमालेभित्रको विवादले देउवालाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्यायो । तर, कुर्सी थाम्न सजिलो छैन ।

उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका अलावा जसपाको उपेन्द्र यादव पक्षधरलाई चित्त बुझाउनुपर्ने हुन्छ ।

मन्त्रिमण्डल बाँडफाँडमा माओवादीले अर्थ र ऊर्जा जस्ता महत्वपूर्ण मन्त्रालय पाइसकेको छ । गृहमा देउवाले आफूनिकट बालकृष्ण खाँडलाई लगेका छन् ।

महत्वपूर्ण मन्त्रालयहरु बाँडफाँड अर्को समस्या आउन सक्छ । माधवकुमार नेपाल र उपेन्द्र यादवले आफ्नो समूह व्यवस्थापनका लागि बढी भन्दा बढी र शक्तिशाली मन्त्रालय माग गर्न सक्छन् । त्यो अर्को चुनौती बन्न सक्छ ।

देउवाले विश्वासको मत पाउन सजिलो छैन । एमालेभित्र माधवकुमार नेपाल पक्ष एकढिक्का हुनुपर्छ । उक्त समूहमा १० भन्दा कम सांसद रहेमा अर्को समस्या आउन सक्छ ।

जसपाको उपेन्द्र यादव समूहमा यथावस्थामा १३ जना सांसद छन् । उक्त संख्या जोगाउनुपर्ने चुनौती छ । मन्त्री बन्न नपाए गुट नै छाड्ने अवस्था बन्न सक्छ ।

विश्वासको मत पाएमा देउवालाई अबको सरकार सञ्चालन सजिलो छैन । विश्वासको मत नपाए चुनावमा जाने सम्भावना हुन्छ । तर, फेरि मुद्दा अदालतमा जाने सम्भावना पनि छ ।

देउवालाई अर्को चुनौती आफ्नै पार्टी भित्रबाट हुनसक्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटोला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला मात्र नभई उपसभापति विमलेन्द्र निधि पनि देउवाको विपक्षमा छन् । उनीहरुको चुनौती सामना गर्न कठिन हुनसक्छ ।

काँग्रेसको १४औं महाधिवेशन भदौका लागि तोकिएको छ । महाधिवेशनमा देउवालाई फेरि सभापति बन्न कठिन छ । मन्त्रिमण्डल बाँडफाँडमा अन्य दललाई महत्वपूर्ण मन्त्रालय दिएपछि देउवा आफ्नै समूहभित्रबाट दबाबमा पर्न सक्छन् । अर्कोतर्फ, पौडेल समूहबाट मन्त्री बनाएर व्यवस्थापनको चुनौती पनि छ ।

देउवाले प्रधानमन्त्रीको सपथ खाएपछि विदेशी नेताहरुमध्ये छिमेकी भारत र चीनका प्रधानमन्त्रीहरुबाट बधाई पाएनन् । राजदूतहरुले निवासमै भेटेर बधाई दिए । विदेशी नेताहरुले बधाई नदिनुले देउवामाथि छिमेकीबाट असहयोग हुने आँकलन उत्तिकै छ । कुटनीतिक क्षमता देखाएर छिमेकीको साथ लिने चुनौती पनि देउवासामु छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय