शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनीती

नेकपा (माओवादी केन्द्र) का पूर्व नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको भन्दै अवैधानिक भएको आरोप लगाएका छन्।

शुक्रबार माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेताहरूसहित पुगेका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका हुन्। उनले विगत २९ वर्षदेखि सो पार्टीमा महाधिवेशन नभएको भएपनि २०६९ सालमा एउटा नाम मात्रैको महाधिवेशन भएको र तत्पश्चात पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको बताए ।

उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरेको पनि उल्लेख गरे। ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दल सम्बन्धी ऐन अनुसार चलिरहेको छैन । एकप्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । करिब २८, २९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । त्यसपछि २०७८ सालसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन,’ उनले भने।

नेता रायामाझीले माओवादी विसर्जन भइसकेको बताए। ‘यो ढल्न लागेको पार्टीलाई हामीले एक लाता हानेको मात्र हो’, रायामाझीले भने, ‘एकता भंगगर्नेदेखि लिएर यो कामहरू प्रचण्डले गरे। यो अवैधानिक पार्टी हो।’

यो अवैधानिक कमिटिको सिफारिसले जनताका प्रतिनिधि हटाउने काम गरेको भन्दै उनले यो पार्टी अवैधानिक भएकाले आफूहरूको कारबाही फिर्ता हुनुपर्ने जिकिर गरे। ‘यसले हाम्रो सांसद पद खाइदियो। हाम्रो मात्रै होइन राष्ट्रिय सभादेखि स्थानीय तहसम्म सबैको खान खोजेको थियो तर स्थानीय तह चै हामीले फिर्ता ल्यायौं। राष्ट्रिय सभामा यो पार्टीले आफ्नो उम्मेद्वारसमेत दिन सकेन।’

उनले थप भने, ‘एमाले, माओवादीको एकतालाई शून्य समय मानेपनि करिब ७ वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गरियो । संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने?’

उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुन संगत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने दाबी पनि गरे । राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्व नेताहरु मणि थापा, प्रभु शाह लगायत पुगेका थिए । उनीहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताए ।

‘यस विषयमा निर्वाचन आयोगले कानुन अनुसार काम गरेन भने हामी सर्वोच्च जान्छौं यो हाम्रो सुरूवात मात्र हो’, उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय