मंगलबार , बैसाख १८, २०८१

काठमाडौँ

काठमाडौं टोखा नगरपालिका–९स्थित लार्के आवासीय विद्यालयले सरकारको निर्देशन उल्लंघन गर्दै परीक्षा सञ्चालन गरिरहेको छ । मन्त्रिपरिषद्, सीसीएमसी र स्थानीय सरकारले समेत परीक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन् ।

एनप्याब्सनमा आबद्ध उक्त निजी स्कुलले मंगलबार कक्षा १० को सामाजिक विषयको परीक्षा सञ्चालन गरेको हो । परीक्षा दिनका लागि विद्यार्थीलाई पोसाकबिनै बिहानै विद्यालयमा बोलाइएको थियो ।

एक विद्यार्थीले आफू परीक्षा दिएर फर्केको बताए । अभिभावकहरुले पनि परीक्षा रोक्न आग्रह गर्दागर्दै जबरजस्ती परीक्षा सञ्चालन गरेको ती विद्यार्थीले गुनासो गरे ।

विद्यालयले कक्षा १० का विद्यार्थीको एसईई प्रि–बोर्ड परीक्षा लिएको हो । त्यसका लागि एनप्याब्सनको छाप लगाइएको प्रश्नपत्र             बाँडिएको थियो ।

‘कोरोना व्यापक रुपमा फैलिएको छ भनेर परीक्षा रोक्न भनेका थियौं,’ एक अभिभावकले भने, ‘परीक्षा दिन नआउने फेल हुन्छन् भनेर जबरजस्ती गरे ।’

टोखा नगरपालिकामा एनप्याब्सनमा आबद्ध अन्य स्कूलले पनि परीक्षा लिइरहेको हुनसक्ने ती अभिभावकले आंशका गरे । ‘हाम्रो परीक्षा रोकिँदैन, सरकारले गरेको मनलाग्दी निर्णय मान्दैनौं,’ भनेका छन्, बुधबार पनि परीक्षा लिने कुरा छ,’ ती अभिभावकले भने ।

बुधबारको परीक्षाबारे मंगलबार साँझसम्म जानकारी दिने स्कुलले बताएको पनि उनको भनाइ छ ।

टोखा नगरपालिकाले सोमबार नै सूचना प्रकाशित गरेर सबै परीक्षा स्थगित गर्न सामुदायिक र संस्थागत विद्यालयलाई निर्देशन दिएको थियो ।

शिक्षा विभाग प्रमुख बाबुराम गौतमले वैकल्पिक माध्यमबाट पठनपाठनबाट शिक्षण गतिविधि सञ्चालन गर्न आग्रह गरेका थिए ।

लोर्के आवासीय विद्यालयले भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो । ‘आउट ड्रेसमा गएर परीक्षा दियौं, भोलि पनि परीक्षा दिन आउनु भनेका छन्,’ एक छात्रले भने ।

विद्यालयका सञ्चालक रामहरि ढकालले भने आइतबारदेखि नै परीक्षा स्थगित गरिसकिएको दाबी गरे । ‘सरहरुले प्रश्नपत्र लिन बोलाउनु भयो होला, परीक्षा त छैन,’ उनले भने ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सरकारको निर्देशनविपरीत परीक्षा सञ्चालन गर्ने विद्यालयलाई कारबाही हुने बताएका छन् ।

उनले भने, ‘कोरोना संक्रमणका लागि सरकारले निषेधाज्ञा जारी गरेका बेला परीक्षा सञ्चालन गर्नु अवैध हो । केही विद्यालयले अटेर गरी परीक्षा सञ्चालन गरिरहेको जानकारी आएको छ । हामीले त्यसबारेमा बुझ्दैछौं,’ उनले भने ।

मेयर अधिकारीले विद्यार्थी र अभिभावकलाई परीक्षामा सहभागी नहुन पनि आग्रह गरेका छन् । ‘म अभिभावक र विद्यार्थीलाई जोखिम मोलेर परीक्षामा सहभागी नहुन आग्रह गर्दछु ।

परीक्षा छुट्छ भनेर कसैले डर देखाइरहेको छ भने पनि डराउनुपर्दैन । त्यसको जिम्मेवारी म लिन्छु,’ उनले भने ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय