काठमाडौं ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मासिक २० हजार तलब लिने गरेको पाइएको छ । उनी आफैले यस्तो खुलासा गरेका हुन् ।
उनले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् ।
तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै विप्लवले आफूले ट्याक्टर लगाउने लगायतका काम गर्ने गरेको भन्दै हातको ठेला देखाएका छन् ।
‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ उनले भनेका छन्, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’
केही दिनअघि मात्रै विप्लव बस्दै आएको कपिलवस्तुस्थित खरको झुपडी सार्वजनिक भएको थियो । विप्लव शहरका ठूला बिल्डिङमा बस्न छोडेर कपिलवस्तुको दुर्गम गाउँको झुपडीमा बसेर राजनीतिक गतिविधी र जनतासँग हातेमालो गर्दै श्रममा जोडिएका छन् ।
भूमिगत राजनीतिबाट सरकारसँग तीन बुँदे सहमति गर्दै उनी केही समयअघि सार्वजनिक भएका थिए । विप्लव राहत वितरण, आइसोलेशन निर्माण, रक्तदान कार्यक्रम, खाना वितरण, स्वास्थ्य सामाग्री वितरण, अक्सिजन सिलिण्डर संकलन र वितरणसँगै कृर्षी कर्मममा पनि व्यस्त छन् । रिपोटर्स नेपालवाट