बिहिबार , बैसाख ६, २०८१

विराटनगरको सिटी सिनेमा हलमा उद्योगीहरूलाई सुटुक्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । कोरोना महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाले दोस्रो डोजको खोप नपाइरहेको अवस्थामा नेकपा एमाले पार्टी समर्थक र केही उद्योगीलाई लुकाएर खोप लगाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

मन्त्रीको सिफारिसमा नीजि सिनेमा हलमा सार्वजनिक सूचनाबिना पहुँच पुगेका व्यक्ति र उद्योगपतीहरूलाई गोप्य रूपमा कोरोनाविरुद्धको खोप लगाइँदै गरेको सूचना पाएपछि स्थानी विरोधमा उत्रिएका थिए । शुक्रबार दिउँसो १ बजे विराटनगर–२ तीनपैनीस्थित सिटी सिनेमा हल परिसरमा पहुँच पुगेकाहरूलाई कोरोनाविरुद्धको दोश्रो डोज दिइन लागेको थियो । विराटनगरको सिटी सिनेमा हल नियमित खोप लगाउने खोप केन्द्र होइन ।

तर त्यहाँ सामाजिक विकास मन्त्रालयको बा १ झ ९३६५ नम्बरको खोप बोक्ने गाडीमा ल्याइएको ३०० सय डोज खोप ल्याइएको थियो । एमाले समर्थक कार्यकर्ताले हलको गेटमा ताल्चा लगाएर गेटबाट मान्छे छान्दै खोपका लागि भित्र पठाउँदै गर्न थालेपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयले अग्रपङ्तिमा नखटिएकाहरूले पनि खोप लगाएको भन्दै विरोध गरेका थिए । स्थानीयको विरोधपछि भागाभाग मच्चिएको हो ।

३०० डोज खोपमध्ये करिब दुई सय जनालाई लगाइसकेपछि स्थानीयहरूले विरोध गरी खोप कार्यक्रम अवरोध गरेका थिए । विवादपछि स्थानीयले १ घण्टा सिनेमा हलको प्राङ्गणमै रोकेर राख्दै बाँकी रहेको खोप वडा कार्यालयमा दिन दबाब दिएका थिए । आक्रोश बढ्न थालेपछि प्रहरीले गााडी सहित स्वास्थ्यकर्मीलाई सुरक्षित निकालेको थियो ।

अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीले भने, ‘‘प्रदेश सरकारले गोप्य रूपमा पहुँच भएकालाई मात्र खोप दिएपछि हामी आक्रोशित भएका हौँ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मीसहितका फ्रन्टलाइनरलाई खोप लगाएको भए हामी स्वागत गर्थ्याैँ ।’

सामाजिक विकास मन्त्री उषाकला राईले पार्टी समर्थक र केही उद्योगपतिलाई लुकाएर खोप दिएको स्थानीयको आरोप छ । खोप लगाउन सुरु गरेपछि मन्त्री राईले व्यक्तिगत रूपमा निम्त्याएका केही उद्योगी–व्यवसायी गाडी लिएरै सिटी सिनेमाहलको गेटसम्म पुगेका थिए । स्थानीयका अनुसार उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको अगुवाईमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाइएको थियो ।

खोप लगाउने विषयबारे विराटनगर महानगरपालिका समेत अनविज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताएका छन् । उनले भने,‘कसले कसका लागि खोप कार्यक्रम राखेको हो हामीलाई जानकारी छैन । मैले पनि भर्खरै जानकारी पाएँ । सिडिओ साहबलाई सोध्दा उहाँले पनि आफूलाई सो बारेमा केही जानकारी नभएको जानकारी गराउनुभएको छ । म यसबारेमा थप बुझ्दैछु।’

यता, सामाजिक विकास मन्त्री उषाकला राईले भने प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री तथा मन्त्रिपरिषदका केही कर्मचारीसहित अन्य मन्त्रालयका दोस्रो डोजको खोप लगाउन छुटेका कर्मचारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले खोप लगाउने कार्यक्रम राखिएको बताएकी छन् । केटिएम दैनिकवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय