अहिले त्यहाँ मानिसहरुलाई प्रवेश गर्नबाट रोक्न ब्यारिकेड लगाइएको छ भने कामदारहरुले पाइप र टायलहरु मिलाइरहेको देख्न सकिन्छ । यो काम वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्रीका लागि नयाँ घर, नयाँ संसद् निर्माण गर्ने परियोजना अन्तर्गतको काम हो ।
यसका लागि झन्डै दुई खर्ब भारतीय रुपैँया खर्च लाग्ने अनुमान रहेको छ ।
तर यो ‘सेन्ट्रल भिस्ता’ परियोजना २०१९ को सेप्टेम्बरमा घोषणा भएदेखि नै विवादमा आइरहेको छ । त्यति धेरै रकम बरु नागरिकहरुको हितका लागि या दिल्लीको हावालाई सफा स्वच्छ राख्नमा खर्च गर्दा बढी उपयोगी हुने आलोचकहरुको भनाइ रहँदै आएको छ । दिल्लीको हावा संसारकै सबैभन्दा दूषितमा पर्दछ ।
यता सरकारले ती सबै भनाइलाई बेवास्ता गर्दै सेन्ट्रल भिस्ता परियोजना अर्थतन्त्र वृद्धिका लागि उल्लेखनीय रहने तर्क गर्ने गरेको छ । शहरी विकास मन्त्री हर्दिप सिंह पूरीका अनुसार यसले ठूलो स्तरमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ र अन्ततः सबै भारतीयहरुलाई गर्व तुल्याउनेछ ।
यसरी एकातर्फ देश कोभिडको दोस्रो लहरले भयावह स्थितिसँग लडिरहँदा राष्ट्रपतिका लागि नयाँ घर निर्माणका कामहरु चलिरहेको छ । यस कारण पनि यो परियोजनाबारे जनधारणा झन निराशाजनक बनेको छ । आलोचकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको प्राथमिकताबारे प्रश्न उठाइरहेका छन् ।
विपक्षी नेता राहुल गान्धीले त यसलाई अपराधिक क्षतिको नाम समेत दिएका हुन् र मोदीलाई अहिले महामारी व्यवस्थापनमा केन्द्रित रहन सुझाव दिएका छन् । विज्ञहरुले यसैको विरोधमा मोदीलाई खुला पत्र पनि लेखेका छन् र ठूलो स्तरमा यसरी श्रोतसाधनहरु नोक्सान गर्नुको सट्टा मान्छेको ज्यान बचाउन सकिने बताएका हुन् ।
प्रधानमन्त्रीको यो नयाँ घर आगामी डिसेम्बर २०२२ सम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।
इतिहासविद् नारायनी गुप्ताले बीबीसीसँग बताइन्, “यो पूर्ण रुपमा अनुचित हो । महामारीले हजारौँको ज्यान लिइरहँदा, चिहानघर भरिएर ठाउँ नभएको अवस्थामा सरकारले कसरी हावामा महल ठड्याउन सक्छ ?”
अहिले कहाँ बस्छन् त मोदी ?
सबै हिसाबमा मोदीको हालको वासस्थान पनि अत्यन्तै विलासी रहेको छ । लोक कल्यान मार्गमा रहेको १२ एकडको कम्प्लेक्समा पाँचवटा बंगला छन् र यो राष्ट्रपति भवन अनि संसद् भवन भन्दा तीन किलोमिटरको दुरीमा छ । प्रधानमन्त्रीको वासस्थान बाहेक सो कप्लेक्समा अतिथिहरुका लागि समेत बस्नेखाने ठाउँको व्यवस्था छ, कार्यालय, मिटिङ गर्ने कोठा, थिएटर अनि हेलीप्याड पनि रहेको छ ।
केही वर्ष अगाडि मात्र त्यहाँ नजिकैको सफदार्जुङ विमानस्थलसँग सीधै जोडिने जमिन मुनिको सुरुङ पनि निर्माण गरिएको थियो । दिल्लीमा आधारित आर्किटेक गौतम भाटिया भन्छन्, “त्यो पूरै सकड क्षेत्र भारतीय प्रधानमन्त्रीको कब्जामा छ । ”
सो ठाउँ र सम्पत्ति सबैभन्दा पहिले राजिब गान्धीले १९८४ मा चयन गरेका थिए । र त्यसै समय देखि यो सबै भारतीय प्रधानमन्त्रीको घर बनेको हो । गान्धीले त्यो समयमा तीनवटा बंगला मात्र प्रयोग गरेका थिए जसमा चौथो र पाँचौ पछि स्टाफ र सुरक्षाकर्मीका लागि आवश्यक परेर थपिएको थियो ।
केही वर्षयता देखि भारतीय नागरिकहरुले पनि कप्लेक्सको भित्री दृश्यका केही झलक देख्न पाइरहेका छन् जसमा नरेन्द्र मोदीले मयुरलाई खुवाइरहेको, आमालाई ह्वीलचियरमा घुमाइरहेको अनि योगा गरिरहेको जस्ता भिडियो सार्वजानिक गर्ने गरेका छन् । अहिले निर्माण भइरहेको नयाँ घरका बारेमा विस्तृतमा जानकारी दिइएको छैन । सुरक्षा सम्बन्धी कारणले यसबारे धेरै बताउन नसकिने परियोजनाका आर्टिटेक बिमल पटेलको कार्यालयले बीबीसीलाई बताएको हो ।
यस्तोमा वातावरण र संरक्षणवादीहरुले पारदर्शिता नअपनाइएका बारेमा पनि गुनासो गरिरहेका छन् । किनकी यस परियोजना अन्र्तगत हजारौँ दुर्लभ कलात्मक वस्तु र सामग्रीहरु एक ठाउँबाट अर्कोमा सार्नुपर्नेछ । सरकारी डक्युमेन्ट अनुसार प्रधानमन्त्रीले दशवटा चार तले भवन प्रयोग गर्नेछन् जुन राष्ट्रपति भवन र दक्षिणतर्फको ब्लकका बीचमा हुनेछ । दक्षिण ब्लकमा हाल रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय अवस्थित छन् । यसमा अस्थाइ अफिसका रुपमा प्रयोग गरिएको बेलायतद्वारा निर्मित ब्यारेकहरु भने भत्काइने बताइएको छ ।
भारतको पुरातात्विक सवेक्षणको निर्देशन अनुसार कुनैपनि सम्पदाका संरचनाहरु ३०० मिटरको दुरीमा हुनुपर्दछ । तर प्रधानमन्त्रीको नयाँ घर भने तीस मिटर टाढा रहने बताइएको छ । त्यसैगरी यसबीच धेरै पुराना रुखबिरुवाहरु पनि छन् जसलाई के गरिनेछ भनेर पनि स्पष्ट बताइएको छैन ।
किन सर्न चाहन्छन् मोदी ?
आधिकारिक निकायहरुका अनुसार प्रधानमन्त्रीको अहिलेको घर राम्रो ठाउँमा अवस्थित छैन, सुरक्षित राख्न कठिन छ र व्यवस्थापनलाई सहज, प्रभावकारी अनि सहुलियतपूर्ण बनाउनका लागि संरचनाहरुमा सुधार ल्याउन आवश्यक छ । उनीहरुका अनुसार प्रधानमन्त्रीको वासस्थान र कार्यालय नजिक हुन जरुरी छ नत्र उनको यात्राले सकड ट्राफिकमा ठूलो अवरोध ल्याउँछ ।
तर यस परियोजनाको लक्ष्य वास्तवमा फरक रहेको मोहन गुरुस्वामीको दाबी छ । उनले भनेका छन्, “अहिले सबै निर्णय लिने किसिमका कामहरु प्रधानमन्त्रीको घरबाट हुने गरेको छ । उनीसँग यसका लागि सयौँ स्टाफहरु छन् र दिनमा तीनसय वटासम्म फाइलहरु उनीहरुले सम्हालिरहेका छन् । यसरी उनले सबै शक्ति आफ्नो हातमा केन्द्रित गराइरहेका छन् । उनले राष्ट्रपतिमा एकिकृत सरकारको सिर्जना गरिरहेका छन् र यसैका लागि उनलाई ठूलो भवन : ह्वाइटहाउस या क्रेम्लिनको आवश्यकता परेको हो । ”
गुरुस्वामीका अनुसार भारतीय प्रधानमन्त्रीहरु सधैँ पछाडिका भवनमा मात्र बस्ने गर्दथे तर मोदीले चाहिँ आफूलाई केन्द्रमा राख्ने प्रयास गरिरहेका छन् ।
यता सार्वजनिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहँदै आएको राजपथको भविष्य अब के हुनेछ भन्नेमा पनि धेरैको चासो छ । त्यो स्थल विरोधका कार्यक्रम आयोजना गर्ने, बत्ती बाल्ने, आन्दोलन गर्नका लागि पनि लोकप्रिय ठाउँ हो । यसमा सरकारले सो क्षेत्र सार्वजनिक नै रहनेमा जोड दिइरहेको छ तर आलोचकहरुका अनुसार प्रधानमन्त्रीको घरबाट नजिक हुनुले आन्दोलन र ठूलो स्तरका भेला आयोजना गर्न अब अनुमति दिइने छैन ।
यस परियोजनाबारे सरकारप्रति आइरहेका सबै आलोचना अस्वीकार गर्दै सहरी मन्त्री हरिदिपले यसका लागि केबल २०० अर्ब रुपैँया छुट्याइएको जनाएका हुन् जबकी सरकारले महामारीमा खोपका लागि मात्र त्यो भन्दा दोब्बर रकम निर्धारण गरिसकेको उनले जोड दिए । उनले भनेका हुन्, “परिवर्तिन सेन्ट्रल भिस्ता विश्वस्तरीय सार्वजनिक स्थल हुनेछ जसप्रति प्रत्येक भारतीय नागरिकहरुले गर्व गर्नेछन् ।” बीबीसीबाट