शुक्रबार , चैत्र १६, २०८०

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम आजकल मिडिया ‘लाइमलाइट’बाट हराएका छन् ।

गत सालको पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटनपछि राजनीतिक रूपमा विभाजित नेकपालाई एकताबद्ध बनाउने अभियान शुरू गरेका गौतम एमाले ब्युँताउने अदालतको आदेशपछि सक्रिय राजनीतिमा देखिएका छैनन् ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार आजकल गौतम लेखपढमा व्यस्त छन् । ‘उहाँ पढ्न र लेख्न बढी रुची राख्नुहुन्छ,’ सुवेदीले भने, ‘पछिल्लो समय एमाले पनि विभाजित हुने दिशातर्फ लागेपछि उहाँ सक्रिय रूपमा कुनै पक्षमा लाग्नुभएको छैन ।’

पछिल्लो समय उनी भैंसेपाटीस्थित आफ्नो घरमा लेखपढमा व्यस्त देखिएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पुनःगठन गरेको एमालेको स्थायी कमिटीमा गौतमलाई दोस्रो वरियता दिएर राखिएको छ । तर गौतमले ओली पक्षमा खुलेर लागेका छैनन् । उनले खुलेर माधव नेपाल पक्षलाई पनि साथ दिएको देखिन्न ।

गौतमले गत वैशाख २७ गते एमाले विभाजन भए माधवकुमार नेपाललाई साथ दिने भन्दै प्रेस सहयोगी सुवेदीमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लगाएका थिए । त्यसयता उनको आधिकारिक धारणा सञ्चारमाध्यमहरूमा आएको छैन ।

‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमले त्यतिबेला भनेका थिए ।

ओली र नेपाल दुवै पक्षले गौतम आफूतिर रहेको बताउने गरेका छन् । यद्यपि रामकुमारी झाँक्रीलगायत नेपाल पक्षका केही नेताहरूले गौतमलाई नेकपा विभाजन गर्न खोजेको भन्दै गम्भीर आरोपसमेत लगाउने गरेका छन् ।

गत वैशाख ९ गते उनले ओलीसँग बालुवाटारमा डिनर मिटिङ गरेका थिए । तर एमालेलाई एकताबद्ध बनाएर लैजाने भन्दा पनि ओलीले आफ्ना कुरा बढी गर्न थालेको भन्दै उनी असन्तुष्ट भई फर्केका थिए ।

गौतमले गत पुस २५ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । उनको अभियानलाई हरि पराजुली, बलराम बास्कोटा, सावित्रा भुसाल, लालबहादुर थापा, मोहम्मद ताज मियाँ जस्ता नेताहरूले साथ दिएका थिए । तर अहिले ती सबै नेताहरू लाखापाखा लागिसकेका छन् ।

स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका हरि पराजुली अहिले ओलीसँग नजिक छन् । त्यस्तै केन्द्रीय सदस्य बलराम बास्कोटा नेता नेपालसँग नजिक छन् भने लालबहादुर थापा ओलीतिर लागेका छन् । एकता अभियानमा गौतम एक्लै परेका छन् ।

गौतमकी धर्मपत्नी तुलसा थापासमेतले ओलीलाई समर्थन गरेकी छन् भने छोरा हरिश गौतम पनि ओलीको पक्षमा लागेका छन् । स्वकीय सचिव दिपक टमाटा र प्रेस संयोजक सुवेदी दुवै नेता नेपालतिर लागेका छन् ।

गौतमको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केही समय उनी पर्ख र हेरको नीतिमा छन् । ‘अहिले उहाँ परिस्थितिको विश्लेषण गर्दै हुनुहुन्छ । दार्शनिक किताबहरूको अध्ययन गर्दै हुनुहुन्छ । तत्कालै होइन, केही समयपछि उहाँको व्यक्तिगत धारणा सार्वजनिक हुन्छ,’ गौतमको पारिवारिक स्रोतले भन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय