शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुलाई स्पष्टीकरण सोध्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय दु’र्भाग्य’पूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनको भविष्य सिध्याउने सुनियोजित यात्रामा अगाडि बढेको भन्दै उनले अरु धेरै गर्ने बताए ।
शनिबार बसेको बालुवाटार बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै भुसालले भने, ‘स्पष्टीकरणले रोकिनु हुन्न उहाँ । अरु धेरै गर्नुहुनेवाला छ । सक्नुभएको भए अस्ति संविधान हिँडाइसक्नुहुन्थ्यो । अब पनि सम्भव भए त्यो गर्नुहुन्छ ।’

अग्रज पुस्ता र वर्तमान नेतृत्वले अनेक समस्या र उतारचढाव झेलेर बनाएको एमाले सिध्याउने सुनियोजित यात्रा अन्तर्गत नै ओली स्पष्टीकरणसम्म आइपुगेको भुसाल बताउँछन् । भुसालको प्रतिक्रिया उनकै शब्दमा :

कम्युनिष्ट आन्दोलनमा हाम्रा अग्रज र वर्तमान कम्युनिष्ट पंक्तिले अनेक समस्या र उतारचढाव झेलेर बनाएको पार्टी हो, नेकपा एमाले । यो पार्टी कहिले तल गयो, कहिले माथि पुग्यो ।

पहिलो संविधानसभा निर्वाचनमा हामी नराम्रो गरी खुम्चियौं । दोस्रो संविधानसभाको निर्वाचनमा विकासका हिसाबले तीन गुणा फड्को मा¥यौं । २०७४ को निर्वाचनमा त असाधारण फड्को मार्‍यौं । माओवादीसँग गठबन्धन गर्‍यौं । संसदीय निर्वाचनमा असाधारण विजय हासिल गर्‍यौं । असाध्यै बलियो सरकार बनायौं । पार्टी एकता गर्‍यौ । समृद्धि र समाजवादको संरचनागत हिसाबले ग्यारेन्टी गर्‍यौ ।

तर, ओलीजीको नेतृत्व रहँदा रहँदै यी सब भत्किँदै र सकिँदै गयो । गठबन्धन हिँड्यो, एकता हिँड्यो । संसद्मा बहुमत हिँड्यो । पार्टी विभाजनपछि हाम्रो सरकार अल्पमतमा छ ।

ओलीजीले संसदमाथि आक्रमण गरेर कहिल्यै माफी नपाउने गल्ती गर्नुभयो । यी सब सक्दा पनि हामीसँग नेकपा एमाले बाँकी छ । यो एमाले व्यवस्थित हुँदा र विधिमा मात्रै चलाउने हो भने फेरि पनि भविष्य बनाउने सामथ्र्य यो पार्टीसँग छ । यो पार्टीलाई निजी कम्पनी नभएर सामूहिक रुपमा चल्ने आधुनिक पार्टी बनाउँदा राम्रो भविष्य छ ।

तर ओलीजी, आफ्नो कुण्ठा र बदलाभाव पूरा गर्न बाँकी रहेको एमाले पनि तोड्न चाहनु हुन्छ । आज चार जनालाई स्पष्टीकरण लिने निर्णय गर्नुभएको छ । व्यक्तिगत रुपमा चार जनालाई स्पष्टीकरण लिने कुराको कुनै अर्थ छैन । तर, स्पष्टीकरणले रोकिनु हुन्न, उहाँ । अरू धेरै गर्नुहुनेवाला छ । यो हामीभित्र मात्रै होइन, बाहिर पनि गर्नुहुन्छ ।

सक्नुभएको भए त, अस्ति संविधान हिँडाइसक्नुहुन्थ्यो । अहिले पनि सम्भव भयो भने त्यो गर्नुहुन्छ । त्यसैले हाम्रो इतिहासले निर्माण गरेको चीज (उपलब्धि) खानुभयो र भविष्यको सम्भावना समेत तोड्न जाँदै हुनुहुन्छ । स्पष्टीकरणलाई व्यक्तिगत रुपमा खासै चिन्ता लिएको छैन । तर, कम्युनिष्ट पार्टी, मुलुक र कम्युनिष्ट आन्दोलनका लागि यो दुर्भाग्यपूर्ण हुँदैछ । हिमाली पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय