धनगढी-८ का हृदय पुजारा कोरोना संक्रमण भएपछि एक साता अस्पताल बसेर घर फर्किए। स्वास्थ्यमा सुधार आएपछि उनी तीन दिनअघि घर फर्केका हुन्।
invotech
घरमा सब जना उनलाई कुरेर बसेका थिए। सबैको अनुहारमा आफ्ना लागि नियास्रो र खुसी देखेर एकछिन त उनलाई कसो गरौं भयो रे। बाँचेर फर्केकोमा उनी आफैं कम खुसी छैनन्।
‘घर फर्किने दिन धेरै खुसी लाग्यो, घरमा मेरो चिन्तामा रहेका परिवारलाई भेट्न पाउँदा ठूलो युद्ध जितेर घर फर्किँदै छुजस्तो लाग्यो,’ उनले भने।
घरमा फर्किसकेपछि पनि उनलाई अस्पतालको बसाइ सम्झेर मन पोल्छ।
अहिले पनि राति आधा निद्रामा उनी अस्पताल सम्झेर डराउँछन्। घरिघरि त अस्पतालमै छु कि भनेर झस्किन्छन् पनि। उनलाई अस्पतालको त्यो होहल्ला, कलाहल र भीड बिर्सन गाह्रो भएको छ।
धनगढीमा भएको शिक्षकको तालिममा सहभागी भएका उनलाई वैशाख १५ मा टाउको, ढाड, जिउ दुख्ने समस्या देखिएको थियो।
उनले पाँच दिनसम्म घरमै छुट्टै बसेर स्वास्थ्यकर्मीसँग फोनमा परामर्श लिएर तातो पानी खाए। भिटामिन सीयुक्त खानेकुरा खाए। घरमा छुट्टै बसे, शौचालय पनि छुट्टै प्रयोग गरे। १९ गते धनगढी उपमहानगरपालिकामा स्वाब दिन गए।
रिपोर्ट आएकै थिएन, उनलाई वैशाख २१ गते राति एक्कासी सास फेर्न गाह्रो भयो। भाइले एम्बुलेन्सको व्यवस्था गरेर अक्सिजन पाउने आशामा उनलाई सेती अस्पतालमा लगे।
ncell in
त्यहाँको कोरोना भवन संक्रमितले भरिभराउ थियो। त्यसैले उनलाई इर्मेजन्सी वार्डमा लगियो।
‘हामी अस्पताल पुग्दा मान्छेको भीड थियो, कोहीले रिक्सामा, कोहीले एम्बुलेन्समा बिरामीलाई ल्याइरहेका थिए’ उनले सम्झिए।
बिरामीको भीड धेरै भएकाले उनले इर्मेजन्सी वार्डमा पनि बेड पाएनन्।
‘अस्पताल पुग्दा अक्सिजन त के बेड नै पाइएन, लिफ्टको ढोकानेर एउटा सानो स्टुल थियो त्यसमै बसें,’ उनले भने।
अस्पताल पुगेको त्यो रात उनले लिफ्टको ढोकानेरको स्टुलमै बसेर कटाए।
उनका भाइले अक्सिजको लागि सबै ठाउँ फोन गरे। त्यो रात अक्सिजन पाइएन।
अर्को दिन नर्सले उनलाई इन्जेक्सन लगाइ दिए। छातीको एक्सरे पनि गरे।
रिपोर्टमा फोक्सो कालो भएको देखियो। त्यसपछि डाक्टरले अक्सिजन लगाउने सामान किनेर ल्याउनु भने।
‘बडो आसले अक्सिजन लगाउने सबै सामान, औषधी किन्यौं तर अक्सिजन पाइएन। पछि त्यो सामान फिर्ता गरेर घर फर्किने सोच गरेका थियौँ,’ उनले भने।
उनका भाइले अक्सिजनका लागि धेरै ठाउँ प्रयास गरेपछि अस्पताल पुगेको भोलिपल्ट बिहान ८ बजेतिर एकजना साथीको सहयोगमा एउटा सिलिन्डर अक्सिजन पाइयो।
‘सुरूको सिलिन्डर १० मिनेट चलेन, त्यसपछि अर्को सिलिन्डरको व्यवस्था भयो त्यसले अलि लामो समय काम गर्यो,’ उनले भने।
अक्सिजनको जोहो भए पनि बेड पाउन भने सकिएन। लिफ्टनेरको स्टुलमै बसेका थिए। नजिकै एउटा स्ट्रेचर थियो। त्यहाँ पनि अर्कै बिरामी सुतिरहेका थिए।
ती मान्छे निको भएर घर फर्केपछि मात्र त्यो ठाउँ उनले पाए। उनले लिफ्टको गेटमा स्ट्रेचरमा पल्टेर अक्सिजन लिए।
तेस्रो सिलिन्डर अक्सिजन पाउन फेरि उनलाई गाह्रो भयो। त्यही बेला अक्सिजन लिइरहेका एक जनाको मृत्यु भयो।
‘उसको बाँकी रहेको सिलिन्डर मेरोमा जोडिदियो,’ उनले भने,’खुसी हुनु कि दुखी? त्यस्तोसम्म भयो।’
लिफ्टको गेटमै बस्नु परेको हुनाले उनलाई तलमाथि वरपर गर्ने मानिसबाट समस्या पर्थ्यो। कसैले कुल्चेर जान्थे, कोही ढेस्सिएर। हतार-हतार हिँडिरहेका मानिसहरूले उनलाई देख्ने कुरै भएन। बेलाबेला बजिरहने एम्बुलेन्स र शव वाहनको साइरनले पनि उनलाई तर्साउँथ्यो।
आफू सास फेर्न नसकेर पल्टिरहेका बेला उनले संक्रमितको लास देख्नुपर्थ्यो। उनी गन्दै बस्थे एक, दुई, तीन….
‘त्यही लिफ्टबाट एकैदिन ९ जना संक्रमितको लास आउँदा म धेरै आत्तिएँ,’ उनले भने। आत्तिए पनि उनले लत्तो छोडेनन्। सकेसम्म बाँच्ने हो भन्ने उनको दिमागमा आइरहन्थ्यो।
त्यहाँ बसेको चौथों दिनमात्र उनले वार्डमा वेड पाए।
‘पाइपलाइन जोडिएको बेड पाएपछि मलाई अक्सिजन सिलिन्डरको समस्या परेन, गाह्रो भएको बेलामात्र अक्सिजन लगाउँथें,’ उनले भने।
उनले वार्डमा बेड पाएपछि पहिलेको भन्दा सहज भयो। अनि उनले आफ्नो सिलिन्डर अर्कैलाई दिए।
‘एक-दुई दिन पछि मेरो बेडको अक्सिजन पाइप छेउको बिरामीलाई दिएँ। म ठिक भएँ,’ उनले भने।
वार्डमा दुई जना मात्रै नर्स थिए। उनीहरू आफैं पनि त्रासमा थिए।
‘बिहान र बेलुका आउँथे, औषधी, खाना खान सम्झाउँथे, अक्सिजन मेन्टेन गर्नुस् अक्सिजन छैन भन्थे,’ उनले भने, ‘उनीहरू आउँदा राहत हुन्थ्यो हामीलाई।’
उनी दिनभरि आफैं योगा गर्थे। अक्सिजन सन्तलन गर्न सुतेर, घोप्टो परेर लामो सास लिने गर्थे।
‘पानी होटलबाट मगाएर खान्थें, थर्मस थियो त्यसैमा राख्थें, तातो पानी धेरै खाएँ, निमोनिया भएकाले औषधी डाक्टरले भनेकोमात्रै खाएँ,’ उनले भने, ‘अक्सिजन मात्र नभएर निमोनियाको औषधी पनि पाउनै गाह्रो थियो।’
उनलाई बिहान-बेलुकाको खाना घरबाटै भाइले पुर्याउँथे। दिउँसोको नास्ता होटलबाट किनेर खान्थे।
सामाजिक सञ्जालमा कोरोना संक्रमितको मृत्युका खबर आउने भएकाले अस्पतालमा रहुन्जेल उनले फेसबुक चलाएनन्। बरू घरमा फोन गर्थे। परिवारसँग फोनमै कुरा गर्दा सजिलो भएजस्तो हुन्थ्यो। सुत्ने, उठ्ने, योगा गर्ने, बस्ने गर्दै दिन कटाएको उनले बताए।
एक साता बसेपछि उनको स्वास्थ्यमा धेरै सुधार आयो।
उनी आफू छिटै निको हुनुमा अक्सिजन र औषधी पाउनु, निमोनियाको पहिचान हुनुलाई मान्छन्। साथै, मनोबल पनि उच्च बनाएका कारण आफूले वरिपरिका मानिस मर्दा पनि सम्हाल्न सजिलो भएको बताउँछन्।
‘संक्रमितले अलि पनि चिन्ता लगे डर माने धेरै जोखिम छ,’ पुजाराले भने।
सीमित स्रोत साधनले अस्पतालमा भर्ना भएका बिमारीले उपचार पाउन समस्या छ। अक्सिजन, बेड, औषधी उपचार पाए जटिल समस्याका बिरामी पनि छिट्टै निको हुने उनको भनाइ छ।
२९ गते पुन: उनको स्वाब संकलन गरियो। रिपोर्ट आउन ५ दिन लाग्ने भएपछि अझै होम आइसोलेसनमा बस्ने गरी अस्पतालबाट उनी डिस्चार्ज भए।
एम्बुलेन्समा अस्पताल गएका उनी हिँडेर घर फर्किए।
उनलाई मृत्युकै मुखबाट बाँचेर फर्किएँ भन्ने भएको छ।
संक्रमित भएर अस्पताल पुग्दा धेरै दुख भोग्नु पर्ने अवस्था हुनाले यो बेला नागरिकले आफैंले ज्यान जोगाउन सतर्कता अपनाउनु पर्ने उनको सुझाव छ।
‘म त मृत्युको मुखबाटै फर्किएको छु। कोरोनाबाट जोगिनु ठूलो कुरा रहेछ,’ उनले भने,’घर बाहिर जान परे माक्स लगाउनु र घर आएपछि सबभन्दा पहिले साबुन पानीले हात धुनु यति त अस्पताल बसाइभन्दा कता हो कता सजिलो कुरा हो।’ सेतोपाटी