काठमाडौं ।
कोभिड—१९ महामा’रीका बीच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भयो। इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आए पछि नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक आइतबार रातीबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढायो । महामारीको बेला भाउ बढाएको भन्दै निगमको आलोचना भएको छ।
मूल्य बढाउँदा पनि आयल निगमलाई १५ दिन मै एक अर्ब १५ करोड रुपैयाँ घाटामा छ। किन त ? सरकारले पेट्रोलियम पदार्थमा उच्च कर लगाएको कारण निगमलाई घाटा छ भने उपभोक्ताले महंगो इन्धन खरिद गर्न बाध्य छन्। सरकारलाई धेरै कर तिनुपर्दा मूल्य वृद्धि गर्दा पनि निगम घाटामा गएको हो । निगमले आइओसीबाट खरिद गरेर बिक्री गर्दा उच्च कर तिर्नु परेकाले मूल्य बढाउँदा पनि घाटा रहेको निगमले जनाएको छ।
निगमले आइओसीबाट सस्तोमा पेट्रोल खरिद गरे पनि विभिन्न शीर्षकमा कर तिर्नुपर्छ । पेट्रोलमा राजस्व तथा मूल्य अभिवृद्धि कर (भ्याट) प्रतिलिटर ५५ रुपैयाँ २३ पैसा तिर्दै आएको छ । त्यसैगरी, डिजेलमा राजस्व र मूल्य अभिवृद्धि कर प्रति लिटर ३७ रुपैयाँ ९० पैसा तिर्नुपर्छ । त्यसमा निगमले ढुवानी भाडा, डिलर कमिसन, व्यवस्थापन गरेर मूल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ५८ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, एलपिजी ग्यासमा प्रति सिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको छ । ‘१५दिनमा १ सय १० करोड रुपैयाँ घाटा हुने देखिएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘ग्यासमा मात्र निगमलाई ५४ करोड रुपैयाँ घाटा छ ।’
निगमले आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको छ । वृद्धि भए पछि पेट्रोलको मूल्य लिटरको १ सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको १ सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ पुगेको छ ।
सरकारले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकमा कर लिँदा एकातर्फ उपभोक्ताले चर्को मूल्यमा तिर्न बाध्य छन् भने अर्को तर्फ निगम घाटामा जान थालेको छ । पछिल्ला ६ आर्थिक वर्षदेखि निरन्तर नाफामा रहेको निगम यो वर्ष घाटामा जाने भएको छ । निगमले वैशाख महिनासम्म करिब एक अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८को बजेटमा डिजेल, पेट्रोल र मटितेलको भन्सार दर बढाएका थिए । गत वर्ष डिजेल, पेट्रोल र मटितेल लिटरमा १० रुपैयाँ भन्सार दर बढाएका हुन् । पेट्रोलमा प्रतिलिटर भन्सार २५ रुपैयाँ २० पैसा, डिजेल र मटितेलमा २० रुपैयाँ रहेको छ । कर वृद्धि गरेपछि यसको असर मूल्यमा परेको हो। सरकारले भन्सार कर, मूल्य अभिवृद्धि कर (भ्याट) का अतिरिक्त विभिन्न शीर्षकमा इन्धनमा कर लिँदै आएको छ । पूर्वाधार कर, प्रदूषण शुल्क लगायतका विभिन्न शीर्षकलाई जोडेर मूल्य निर्धारण गर्छ। नागरिकन्यूज दैनिक