शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

कोरोनाभाइरसको दोस्रो लहरमा उच्च जोखिममा रहेका जिल्लाभित्र सुर्खेत पनि पर्छ। कोरोना संक्रमणको जालो तोड्न स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ। वैशाख १४ बाट लागू भएको निषेधाज्ञा बढाएर जेठ १५ सम्म पुर्‍याइएको छ।

नागरिकस्तरबाट भने केही ठाउँमा संक्रमण फैलाउन सावधानीको साटो हेलचक्र्याइँ गरेका घटना बाहिरिएका छन्।

गत साता सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुना बजारमा एउटा तरकारी पसल खुल्यो। निषेधाज्ञाका बीच प्रशासनले पसल खोल्न दिएको बिहानको समयमा खोलिएका तरकारी पसलमध्ये उक्त पसल भने कोभिड संक्रमितले नै सञ्चालन गरेका थिए।

वरपरका स्थानीयले आशंका गरेपछि तत्काल प्रहरीलाई भनेर त्यो पसल बन्द गर्न लगाइयो। त्यस बीचमा कतिपयले त्यो पसलबाट तरकारी किनिसकेका थिए। प्रहरीले पसलका सञ्चालकबारे नगरपालिकाको स्वास्थ्य शाखामा फोन गरेर बुझेपछि ती व्यक्ति कोभिड संक्रमित भएको पुष्टी भएको थियो।

‘एकजना संक्रमितले नै आफ्नो पसल खोलेर तरकारी बेचेको पाइएछ, तत्काल प्रहरीले त्यो पसल बन्द गर्न लगाए छन्,’ उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोम ढकालले भने, ‘तर कतिले तरकारी पनि किनिसकेका थिए होला, यस्तो लापरबाही भयो भने कसरी कोभिड नियन्त्रण गर्न सकिएला।’

अघिल्लो साता नै वीरेन्द्रनगरस्थित नेवारेमा पनि एकजना संक्रमितले आफ्नो पसल खोलेर सामान बेचेको पाइएको थियो। स्थानीयको सहयोगमा त्यो पसललाई पनि नजिकै ड्युटीमा रहेका प्रहरीले जबर्जस्ती बन्द गराएका थिए।

प्रशासनले आफ्नोतर्फबाट प्रयास गरे पनि नागरिक सचेत नबन्दा कोभिड रोकथाममा चुनौती थपिएको छ।

‘नियमित प्रहरीको उपस्थिति हुने ठाउँमा समेत व्यापारीले यो हर्कत गर्न थाले भने प्रहरी नहुने ठाउँमा त के अवस्था होला, यसले महामारीलाई झन् फैलाउने काम भएको छ,’ अध्यक्ष ढकालले भने।

पसल खोलेका ती दुबै संक्रमितलाई अहिले सबैको निगरानीमा होम आइसोलेशनमा राखिएको छ।

स्थानीयको यस्तो क्रियाकलापपछि व्यापारिक संगठनसँगको सहकार्यमा निगरानी गर्ने काम भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।

‘संक्रमितले यतिसम्मको लापरबाही गरेको कुरा मकहाँ पनि आयो। अहिले त झन् निगरानी बढाइएको छ,’ रिजालले भने, ‘यस्ता व्यक्तिलाई ६ महिनासम्म कैद गर्न सक्ने व्यवस्था छ, तर उनीहरूलाई पक्राउ गर्न जाने प्रहरीलाई पनि जोखिम हुन्छ। पक्राउपछि छुट्टै राख्ने ठाउँको अभाव भएकाले अहिलेलाई निगरानीमात्र गरिरहेका छौं।’

संक्रामक रोग ऐन, २०२० दफा ३ अनुसार यस्तो कार्य गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। सेतोपाटीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय