शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं । यतिबेला देशभरका सच्चा नेकपा एमालेका नेता, कार्यकर्ता र समर्थकहरु पार्टी बिभाजन नहोस भनेर कामना गरिरहेका छन् । पार्टी बिभाजन हुदा त्यसबाट एमालेले ब्यहोर्नु पर्ने अपुरणीय क्षतिको आकलन गर्दै भूगोल कार्यक्षेत्र भएका तथा भूगोलमा रहेका नेता, कार्यकर्ताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेताद्वय झलनाथ–माधबलाई आ–आफ्नो अडानबाट पछि हटेर पार्टी जोगाउन दबाब दिइरहेका छन् । यही परिस्थितिमा बिहिबार बसेको ओलीनिकट स्थायी समितिको बैठकले बरिष्ठ नेता नेपाल र अन्य तीन प्रभाबशाली नेताहरुमाथिको कारबाही बिनाशर्त फिर्ता लियो । झलनाथ–माधब समूहको माग बमोजिम बरिष्ठ नेता नेपालसँगको बार्तामा अध्यक्ष ओलीले कार्यदल बनाएर अघि बढ्ने सहमति गरे ।

ओलीले आफ्नो सत्ता रक्षाको लागि यो कदम चालेको जोकोहीले सजिलै बुझेको छ । यद्यपि नेकपा एमालेलाई बिभाजनबाट रोक्न यो सामान्य भए पनि सकारात्मक पक्ष हो ।

‘नेताहरुमाथिको कारबाही ओलीको स्वेच्छाचारिता र सत्ताउन्मादको पराकाष्ठा थियो ।’ एमालेको सचिब योगेश भट्टराई भन्छन् ‘आफूलाई संकट परेपछि उहाँले आफ्नो गल्ती सच्याउने प्रयास गर्नुभएको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’ सचिब भट्टराईका अनुसार अब जेठ २ मा फर्कन हो भने पार्टीभित्र कुनै समस्यै बाँकी रहँदैन ।

झलनाथ–माधब समूहले बिहिबार नै राजीनामाको तयारी गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाको नेत्तृत्वमा बिपक्षीहरुको संयुक्त सरकार बन्ने बाताबरण तयार भएको थियो । संबिधानको धारा ७६ को उपधारा २ अनुसार यो सरकार निर्माण हुदा प्रतिनिधिसभाको बाँकी कार्यकालभर रहने र निर्बाचन पनि यही सरकारले गर्ने भएपछि यसलाई रोक्नै पर्ने ओलीमा बाध्यता आइलाग्यो । फलतः ६ महिना गरेको कारबाही बिना शर्त फुकुवा गरेर झलनाथ–माधब समूहको राजीनामा रोक्न ओलीले यस्तो कदम चालेका थिए ।

‘अध्यक्ष ओली एक कदम पछि हट्नुभयो । यो एकदमै राम्रो कुरा हो ।’ एमाले प्रमुख सचेतक बिशाल भट्टराई भन्छन् ‘माधब कमरेडहरुले पनि राजीनामा नगरेर एक कदम पछि हट्नुभएको छ ।’ सचेतक भट्टराईले अब सबैले मेरो गोरुका बाह्ै टक्का गर्नु हुदैन । बिस्तारै एक ठाउँमा बसेर छलफल गर्ने हो भने पार्टीभित्रको अन्तरबिरोध सजिलै हल हुने बताउँछन् ।

खोटाङबाट लगातार दुई पटक प्रतिनिधिसभामा निर्बाचित प्रमुख सचेतक भट्टराईले कारबाही फुकुवा गरेर पार्टी अध्यक्षले निकै राम्रो काम गर्नु भए जस्तै राजीनामा नगरेर माधब समूहले पनि त्यसै काम गरेको बताए पनि ओली समूहका केही नेताहरुले भने यसलाई सहजरुपमा लिन सकेका छैनन् । पार्टी अध्यक्ष ओलीले झलनाथ–माधब समूहको मागबारे कार्यदल बनाएर अघि बढ्न बरिष्ठ नेता नेपालसँग सहमति गरेपछि ओली समूह दुई खेमामा बिभाजित भएको छ । एक खेमाले अध्यक्षले पार्टी एकताको लागि सकारात्मक कदम चालेको भन्दै खुसी प्रकट गरेको छ भने अर्को समूहले त्यसलाई सहजरुपमा लिन नसकेको मात्रै होइन, निकै चिन्तित पनि बनेको छ ।

खासगरी भूगोलमा जनताका बिचमा काम गरेर नेता बनेकाहरुले अध्यक्ष ओलीको कदमलाई स्वागत गरेका छन् । ‘भूगोलमा एक जनालाई पनि पार्टीमा प्रबेश गराउन फलामका चिउरा चपाउनु सरह हुन्छ ।’ ओलीनिकट एक नेता भन्छन् ‘अध्यक्षको ओलीको कदमले हजारौं कार्यकर्ता पार्टीमै रहने बाताबरण बनेको छ । यो भन्दा ठूलो खुसी के हुन्छ ?’ ‘गाउँमा चुनाबमा वा अरु बेला एक जना वा एउटा घर एमालेको देखियो भने ठूलो उत्साह जाग्छ ।’ प्रमुख सचेतक भट्टराई भन्छन् ‘पार्टी बिभाजन भएमा ठूलो क्षति हुन्छ । धेरै कार्यकर्ताहरु तलबितल हुन्छन् । यसलाई रोक्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’ झलनाथ–माधब समूह पार्टीबाट बहिर्गमन हुदा एउटा तप्का संगै जाने हुदा त्यसले भूगोलमा ठूलो प्रभाब पर्ने भूगोलमा काम गरेका नेताहरुको भनाई छ ।

बिभाजन भएर जाने शक्ति तुलनात्मकरुपमा सानो भए पनि निर्बाचनमा हराउन काफी हुने हुदा भूगोलमा काम गरेका ओली निकटको एउटा समूह जसरी भए पनि बिभाजन रोक्नु पर्ने पक्षमा देखिन्छ । ‘झलनाथ–माधब समूह बिभाजन भए, नेकपा एमालेको देशभर ५ सिट पनि प्रत्यक्षमा निर्बाचित हुदैन ।’ नाम उल्लेख नगर्ने शर्तमा ओलीनिकट एक साँसद भन्छन् ‘हामी भूगोलमा काम गर्नेहरुले बिभाजनबाट कति क्षति हुन्छ भन्ने राम्रोसँग बुझेका छौं ।’

उता भूगोलमा काम नगरेका र अध्यक्ष ओलीको भक्तिगान गाएर नेता भएकाहरु भने झलनाथ–माधब समूह फुटेर जाओस भन्ने चाहन्छ । यसको नेत्तृत्व बिष्णु रिमाल, सूर्य थापा र राजन भट्टराईहरुले गरिरहेका छन् ।

अध्यक्ष ओलीको परिक्रममा गरेर नेता भएका यिनीहरुले भूगोलमा गए भने वडा सदस्य पनि जित्न नसक्ने ओली समूहकै नेताहरुको भनाई छ । ओलीको भक्तिगान गाएर नेता भएका यिनीहरु झलनाथ–माधब समूह पार्टीभित्र रहेमा आफ्नो भबिश्य असुरक्षित ठान्छन् । यही बिषयमा ओली समूहभित्र मतान्तर भइरहने गर्छ । केही समयअघि भक्तपुरबाट निर्बाचित साँसद महेश बस्नेतले प्रधानमन्त्रीले भूगोलमा काम गरेका र कार्यकर्ता पहिचान गर्न सक्नेलाई सचिबालयमा प्राथमिकता दिनुपर्ने भन्दै सार्बजनिकरुपमै असन्तुष्टि ब्यक्त गरेका थिए । यो बिष्णु रिमाल र सूर्य थापाप्रति लक्षित थियो । यिनीहरुले नै पार्टीभित्रको बरिष्ठ नेताहरुप्रति निरन्तर बिष बमन गरेर ओली र माधबबिचको सम्बन्ध बिगार्ने गरेको ओलीनिकट एक नेता बताउँछन् । ई–आर्थिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय