बुधबार , जेठ ४, २०७९

‘कोभिडको लहरसँगै दुर्भाग्यवश राजनीतिक दलबीच दूरी बढ्यो, मुलुक राजनीतिक अस्थिरतामा फस्यो। प्रतिनिधिसभा पुन:स्थापना भइसक्दा पनि राजनीतिले लय समात्न पाएन।’

नेपालमा कोभिड–१९ को दोस्रो लहर, अक्सिजन र खोपको आपूर्ति तथा व्यवस्थापन, कोरोना नियन्त्रणमा कूटनीतिक प्रयास, नागरिक समाजको भूमिका लगायत विषयमा सीसीएमसीका सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पत्रकार कनकमणि दीक्षितले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

गत वर्ष आएको कोभिडको पहिलो छालपछि न सरकार आफू तयार रह्यो न जनतालाई तयार बनाउन सक्यो। यसले गर्दा आज खोप छैन, अक्सिजन छैन, (अस्पतालमा) शय्या छैन। हाम्रो संक्रमणको दर संसारमै भयावह रूपमा बढ्दो छ। मृत्युदरमा पनि भारतपछि नेपाल दक्षिण एसियामै दोस्रोमा आइसक्यो।परराष्ट्रमन्त्रीज्यूलाई मेरो पहिलाे प्रश्न- कोभिडसँगै यो एक वर्ष राजनीतिक अस्थिरतामा बित्यो। नयाँ मन्त्रिपरिषद् गठन पनि भइसक्यो। अब (केपी शर्मा) ओली नेतृत्वको सरकार राजनीतिक आग्रह/पूर्वाग्रहबिना कोभिडसँग लड्न सक्षम छ?

अत्यन्तै महत्त्वपूर्ण विषय उठान गर्नुभयो। पुनर्नियुक्ति भएपछि भर्खरै मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रिमण्डल र उच्च तहका कर्मचारीलाई दिएको निर्देशन लिएर फर्केको छु। पहिलो बैठकमा प्रधानमन्त्रीज्यूले ‘अब हाम्रो मुख्य कामको केन्द्रबिन्दु कोभिड महामारी विरुद्धको लडाइँलाई प्रभावकारी बनाउने, नागरिकहरूको जीवनरक्षा गर्ने र यसका लागि राज्यको सम्पूर्ण साधन परिचालन गर्ने’ भनेर निर्देशन गर्नुभएको छ।


विगतका केही महीना बिर्सनलायक छन्। कोभिडको लहरसँगै दुर्भाग्यवश राजनीतिक दलबीच दूरी बढ्यो, मुलुक राजनीतिक अस्थिरतामा फस्यो। प्रतिनिधिसभा पुन:स्थापना भइसक्दा पनि राजनीतिले लय समात्न पाएन।

हामीले जीवन र जीविकोपार्जनलाई सँगसँगै लैजानुपर्ने हुन्छ। सरकारले बाध्यात्मक रूपमा कहिले बन्दाबन्दी त कहिले निषेधाज्ञा गर्दै आएको छ। यसले आमनागरिकलाई पक्कै अप्ठ्यारो पारेको छ। दैनन्दिन काम गरेर खानेहरूलाई झन् समस्या पारेको छ। यस्तो अप्ठ्यारोका बीचमा पनि आमनागरिकले साथ–सहयोग दिनुभएको छ। अझ धेरै सचेत हुनुपर्ने पक्कै छ। तर पनि, सरकारको आदेशलाई नागरिकले पालना गरेकै कारण आज हामी यो स्थितिमा छौं।

गत वर्ष माघमा पहिलो संक्रमण देखिए पनि हामीले ११ चैतमा बन्दाबन्दी गर्‍यौं। त्यतिबेला हामी पीसीआर आफैंले गरेर प्रमाणित गर्नसक्ने अवस्थामा थिएनौं। त्यसैले पहिलो परीक्षण हङकङ पठाएका थियौं। आज ८७ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। यसबीचमा हामीले दुई हजार एचडीयू थपेका छौं। नौ सय आईसीयू बेड थपेका छौं। दुई सय भेन्टिलेटर थपिएका छन्।

हामीले तयारी ठीकै गरेका हौं, तर दोस्रो लहर यति आक्रामक ढंगले आउला भन्ने लागेको थिएन। गत वर्ष एकदमै गम्भीर प्रकृतिका बिरामीलाई १५ लिटरसम्म दिनुपर्ने अक्सिजन अहिले ३४–४० लिटरसम्म दिनुपरेको स्वास्थ्यकर्मीहरू बताइरहनुभएको छ। यो खालको संक्रमणको भयावहताले हाम्रो संयन्त्र र तयारीमा ‘प्रेसर’ परेको सत्य हो। तर पनि, सरकारले तयारी गरेकै थियो र गरिरहेकै छ।

तर, यतिबेला ‘स्वास्थ्य संकट’ घोषणा गरेर अगाडि बढ्नुपर्ने होइन र?

हामी अहिले ‘संक्रामक रोग नियन्त्रण २०२०’ ले दिएको अधिकार जसले यस्तो बेलामा सरकारले निषेध आदेश जारी गर्नसक्ने, खरीद सीधै गर्नसक्ने, राज्यको सम्पूर्ण संयन्त्र यसमा लगाउनसक्ने र अवज्ञा गर्नेहरूलाई कठोर दण्ड दिनसक्ने लगायत कानूनी प्रावधानमा टेकेर काम गरिरहेका छौं। हामीलाई धेरै ठाउँबाट स्वास्थ्य संकटकाल घोषणा गरेर अगाडि बढौं भनेर सुझाव पनि आएको छ। अहिलेसम्मको हाम्रो विश्वास संक्रामक रोग नियन्त्रण अनुसार अघि बढे नै पुग्छ भन्ने हो। तर, निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिएर उपचार गराउनुपर्‍यो वा अन्य विभिन्न ठाउँमा रहेका शक्तिलाई स्वास्थ्यमै केन्द्रित गर्नुपर्‍यो भने चाहिँ थप कानूनी व्यवस्थाको आवश्यकता देखिएको छ।
www.himalkhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय