बिहिबार , चैत्र १५, २०८०

काठमाडौं :

दुःखले नै मानिसलाई सफलताको सिँढी चढाउँछ भन्ने कुराको उदाहरण बनेका छन् नेपाली ग्ल्यामर उद्योगका मेकअप आर्टिस्ट टेकराज पाण्डे । अर्घाखाँचीको सामान्य परिवारमा जन्मेको एउटा बालक अनेक दुःख, कष्ट अनि संघर्ष गर्दै देशविदेश चहारेर आज आफ्नै भूमिमा आफूले चाहेको पेसामा स्थापित भएको छ अनि सबैको रोजाइको केन्द्र बनेको छ ।

चाहे फिल्मको पर्दा होस् वा कुनै सौन्दर्य प्रतियोगिता, अनि म्युजिक भिडियोको सुटिङ होस् वा टेलिभिजन कार्यक्रमकोअन्तर्वार्ता आफूलाई सुन्दर देखाउन पाण्डेकै खोजी हुन्छ । ग्ल्यामर उद्योगमा लाग्नेहरू उसै पनि सामान्यभन्दा राम्रा हुन्छन् त्यसमा पनि पाण्डेको मेकअप परेपछि चम्कन थाल्छन् । कसलाई कस्तो किसिमको मेकअप सुहाउँछ अनि कुन अनुहारका लागि कस्तो मेकअप चाहिन्छ उनी अनुहार हेरेर भनिदिन्छन् ।

दिल्लीको नेदरल्यान्ड्स ब्रान्डबाट सन् २०१२ मा मेकअप ट्रेनिङको कोर्स सकेर नेपाल आएका उनको कम्पनीको नाम नै मेकअप स्टुडियो हो । उनले आफूले सिकेको सीप नेपालमा मात्र नभएर विदेशमा पनि बाँड्ने गरेका छन् । मेकअपको ट्रेनिङका लागि सिंगापुर पुगेर फर्किएका उनी मेकअप मात्रैको दुईमहिने कोर्स गराउँछन् । ब्युटिसियनको पनि थपिँदा ६ महिनाको हुन्छ । तर, उनी प्रायः मेकअपलाई नै फोकस गर्छन् ।

काठमाडौंको मध्यबानेश्वरमा उनको मेकअप स्टुडियो छ । नेपालका प्रायः सबै सेलेब्रिटीको मेकअप गरिसकेका उनले दक्ष इन्टरटेनमेन्ट प्रालिमार्फतमिस ब्युटिफुल नेपाल र मिसेस ब्युटिफुल नेपाल नामक सौन्दर्य प्रतियोगिता पनि बर्सेनि गर्दै आएका छन् ।

उनी आफ्नो व्यवसायबारे भन्छन्, ‘विवाहको मेकअपमा फेसियल प्याकसहित १५ देखि २० हजार रुपैयाँसम्म लाग्छ । सिम्पल मेकअपचाहिँ दुई हजारबाट सुरु हुन्छ ।’ ‘मेहनतको फल सौन्दर्य व्यवसायजस्तै सुन्दर हुँदो रहेछ’, आफ्नो पेसाप्रति सन्तुष्ट पाण्डे भन्छन्, ‘अरूलाई खुसी पार्न सक्नुनै हाम्रो सफलता हो ।’

सानैमा मातृ वियोगभोगेका टेकराज २२ वर्षअघि कक्षा ५ मा पढ्दापढ्दै पितृशोक खप्न बाध्य भए। जसका कारण उनले भारत गएर प्लस टुसम्मको अध्ययन गरे । कतारको दोहा पुगेर मजदुरी गरेपछि फेरि भारत पुगेर मेकअपसम्बन्धी प्रशिक्षण लिए । अहिले नेपाल फर्केर मेकअप आर्टिस्टका रूपमा स्थापित भएका छन् । ‘मलाई सानैदेखि कलाकारिता मन पथ्र्यो त्यसैले प्रोफेसनल मेकअप आर्टिस्ट बन्छु भन्ने सोचले नेपाल फर्किएँ र मेकअप सिक्न दिल्ली गएँ। दिल्लीमा राम्रै रकम खर्च गरेर मेकअप कोर्स पूरा गरें’, आफ्नो यात्रा सुनाउँदै पाण्डेले भने ।

‘मलाई फिल्म क्षेत्र मन पर्ने भएकाले यही क्षेत्रमा नाम कमाउँ भन्ने लाग्थ्यो। पछिमेकअप आर्टिस्टका रूपमा काम गरेर नाम कमाउँ भन्ने सोच आयो र यता लागें। यो क्षेत्रमा धेरै संघर्ष गरें, फल पनि पाइरहेको छु’, उनले भने ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय