शुक्रबार , बैसाख ७, २०८१

“काठमाडौं ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले २८ वैशाखमा चीनको राजधानी बेइजिङबाट ४ सय थान अक्सिजन सिलिण्डर काठमाडौं ल्यायो ।”जहाजमा १६० अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर गरी कुल २६ टन मात्र सामान नेपाल आयो । वाइडबडी जहाजको क्षमता ३५ टनसम्म कार्गो बोक्न सक्ने हो । तर, किन क्षमता भन्दा कम सामान नेपाल आयो ?”

“नेपाल वायुसेवा निगमका महाप्रवन्धक डीमप्रकाश पौडेलका अनुसार नेपालमा अस्पतालहरुमा अक्सिजनको हाहाकार भई अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा तत्काल सिलिण्डर ल्याउनुपर्ने चूनौति थियो । तर, चीनमा सिलिण्डरको उत्पादन नै भएको थिएन । अहिले चीनले अनुदानमा दिएका यी सिलिण्डर उद्योगबाट सिधै ल्याइएको हो । उद्योगले दैनिक ४ सय सिलिण्डरमात्र डेलिभरी गर्न सक्ने जानकारी गराएको छ । सोही कारण पहिलो उडानमा क्षमता अनुसार सिलिण्डर नआएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।”

“सिलिण्डरमात्र बोक्दा वाइडबडी जहाजले एकै पटकमा साढे ७ सय हाराहारी बोक्न सक्ने देखिएको उनले जानकारी दिए । तर, सिलिण्डर नै तयार नभएका कारण जति सिलिण्डर तयार थियो त्यति नै ल्याएर आएको उनले बताए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा प्राप्त हुँदैछ । यी सिलिण्डर सबै नेपाल आइपुग्दा ठूलो राहत हुने अनुमान छ ।”

“नेपालस्थित चिनियाँ दूतावासका अनुसार बेइजिङमा नेपालले पाउने सिलिण्डरको दोस्रो खेप तयार भएको छ । दूतावासले केही दिनमै यी सिलण्डिर काठमाडौं आउने बताएको छ । यद्यपि यो खेपमा कति सिलिण्डर तयार भएको छ भन्ने संख्या भने खुलेको छैन ।”

“नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ फेरि बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।उनका अनुसार अब हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने जानकारी उद्योगले दिएको छ । सोहीआधारमा सिलिण्डरको डेलिभरी हुनेछ ।

“एक उडानको सवा २ करोड भाडा :-नेपालको राजधानी काठमाडौंबाट चीनको राजधानी बेइजिङ पुगेर कार्गोसहित काठमाडौं अवतरण हुँदा नेपाल वायुसेवा निगमले एक उडानको सवा २ करोड भाडा तय गरेको छ । ‘एकतर्फी करिब साढे ७ घण्टा निरन्तर उड्नुपर्ने यो रुटमा कम्पनीले लागतमात्र उठ्ने गरी न्यूनतम भाडा तय गरेको बताएको छ ।सोहीकारण हरेक उडानबाट अधिकतम क्षमतामा सिलिण्डर ल्याउन सकियोस् भन्ने प्रयास गरेको उनले बताए । अघिल्लो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य खटिएका थिए ।”

“यूरोप, अमेरिकामा बस्ने नेपालीबाट सिलिण्डिर पठाउन जहाजको माग:-नेपाल एयरलाइन्सको जहाज शनिबार ओमानको राजधानी मस्कट जाँदैछ । यो जहाजले ६ सय थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याउने छ । यी सिलिण्डर गैरआवासयि नेपाली संघ र नेपाली दूतावासको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।”

“पौडेलका अनुसार गैरआवासीय नेपालीहरु तथा नेपाली नागरिक रहेका मुलुकहरुमा नेपालीहरुकै पहलमा संकलन गरी सिलिण्डर नेपाल पठाउन जहाजको उच्च माग आएको छ । तर, यस्तो माग अमेरिका, यूरोप, अष्ट्रेलियाजस्तो मुलुकबाट बढी रहेको छ ।”

“७० किलो बराबरको एक सिलिण्डरलाई टाढाको गन्तब्यबाट जहाजमा नेपाल ल्याइपुर्याउन खर्चिलो हुने भन्दै उनले विदेशमा दुःख गरी कमाएको रकम ढुवानीमै बढी खर्च हुने उल्लेख गरेका छन् । सोहीकारण अक्सिजन सिलिण्डरभन्दा सम्भव भए अक्सिजन जेनेरेटर नेपाल पठाउन पहल गर्न उनले नेपाली समुदायसँग आह्वान गरेका छन् ।”

मेची महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय