बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

त्यो बिहान एक्कासि उहाँको अक्सिजन लेभल कम भएछ। सधैं चम्किलो देखिने बाको अनुहारमा आज आँखा तल झरेको देख्दा मेरो मन फुटेर दुई टुक्रा होलाजस्तो भयो।म त्यसो त कमै आत्तिने गर्छु। धेरैले संयम छु भन्छन्। तर, बाको त्यस्तो हालत देख्दा म संयम रहन सकिनँ। निकै चिन्तित भएँ। निकै डराएँ।

म आफैं पनि कोरोनाको शिकार छु। त्यति बेला चाहिँ आफ्नो छातीमा भाइरसले हमला गरेभन्दा बाको चिन्ताले बढी गाह्रो अनुभव भयो। उहाँको अगाडि आत्तेजस्तो देखाइनँ। देखाउनु पनि भएन।चाँजोपाँजो मिलाएर उहाँलाई दोस्रोपटक अस्पताल लगियो।

अहिले ड्याडी ठिकै हुनुहुन्छ। मलाई केही शितल महशुस भइरहेको छ। त्यसैले केही लेख्न मन लाग्यो। मेरो बुबा मदनकृष्ण श्रेष्ठको बारेमा, जसलाई मैले चिनेको छु, भित्रैबाट।नभएको भए माया भन्ने कुरा, पृथ्वी त रगतमा डुबिसक्थे पूरा!’ड्याडीले नै लेख्नुभएका यी शब्दजस्तै, साँच्चै माया नहुँदो हो त के हो यो दुईदिने जीवन?

हरेक मान्छेको जीवन कसै न कसैको मायाले भरिएको हुन्छ। मायाको परिभाषा जीवनको अनुभूतिअनुसार सबैले आफ्नै ढंगले व्याख्या गरेका हुन्छन्। परिवारमा बस्ने माया निसर्त हुन्छ। आमा, बुबा, लोग्ने, स्वास्नी, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी यी सबैमा मायाको खानी हुन्छ।

बुबा सधैं हामीलाई भन्नुहुन्छ, ‘परिवार एउटा छुट्टै देश हो।’ मलाई पनि त्यस्तै लाग्छ। यो हाम्रो परिवारको सानो देशमा मेरो बुबा राष्ट्रपति हुनुहुन्छ। उहाँ आफ्नो देशलाई औधी माया गर्नुहुन्छ। एउटा पनि खोट नराखी उहाँले अभिभावकको जिम्मेवारी पूरा गर्नुभएको छ।ड्याडीले गर्दा आज हामीलाई कुनै पनि चिजको अभाव महशुस भएन। भौतिक सुविधाहरू त आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा ठूलो कुरा माया र ममताको अभाव हामीलाई कहिल्यै खट्किएन।त्यसैले पनि मलाई आफू एकदमै भाग्यमानी छोरीजस्तो लाग्छ।यो कुरा म व्यक्त गरिरहन्छु, किनकि व्यक्त गर्नु, कृतज्ञ हुनु अत्यावश्यक छ जस्तो मलाई लाग्छ, तर सफा मनले।

बाबाले मेरी आमालाई गर्नुभएको माया त झन् विशाल छ। त्यसमा एउटा छुट्टै तपस्या छ। आफ्नी प्राणभन्दा प्यारी अर्धांगिनी तीन वर्षअघि गुमाएपछि बुबाको सामु आमाको नाम मात्र लिदा पनि आँशुको सागर खस्न थाल्छ। म त्यस्तो बेला ड्याडीलाई रुन दिन्छु। किनकि, यो पनि एक किसिमले आफ्नो मायालाई गरेको सम्मान हो।

शुलभ खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय