मंगलबार , बैसाख ४, २०८१

नेकपा माओवादी केन्द्रले पटक पटक कांग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गरिरह्यो । विशेषगरी गत फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अफर पटक पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहे ।

बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर प्रचण्डले देउवालाई ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने र नयाँ सरकारको नेतृत्व लिन आग्रह गरे । तर, देउवाले आलटाल गरिरहे ।

पछि आफ्नै पार्टीभित्रबाट ओली सरकारको विकल्प खोज्नुपर्ने आवाज बलियो बन्दै गएपछि २० चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन निर्णय गरेको थियो ।

त्यसपछि कांग्रेसले दलीय छलफल गरे पनि नयाँ सरकार गठन प्रक्रियामा तदारुकता देखाएन । कारण थियो, देउवाको इच्छाबिना नै सरकारको नेतृत्व लिने पार्टीको निर्णय । ओली सरकारको विकल्पमा देउवा नेतृत्वमा सरकार बन्ने सम्भावना कम देखिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिए यही सरकारले बाँकी कार्यकाल पूरा गर्ने छ भने विश्वासको मत नपाए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने हुन्छ । तर, एमालेइतरका दुुई दल मिलेर नयाँ सरकार बनाउन संसदमा अंकगणितले साथ दिँदैन । यसका लागि कांग्रेस, माओवादी केन्द्र,जसपा मिल्नुपर्ने हुन्छ ।तर,जसपाभित्रको आन्तरिक विवादले यसलाई सम्भव गराउनेमा आशंका छ।

दुुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन हुन नसक्ने वा गठन भएको सरकारले एक महिनाभित्रमा विश्वासको मत नपाए फेरि संसदको सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्थाका आधारमा फेरि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने र यो सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिन नसके मौजुदा प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गराउने गरी राष्ट्रपतिले मिति तोक्ने सक्ने संवैधानिक व्यवस्था छ ।

यसर्थ अब देउवाभन्दा पनि ओली नै प्रधानमन्त्रीमा रहने र ओली सरकारले आगामी निर्वाचन गराउने संकेत अहिलेको राजनीतिक अवस्थाले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय