‘सरकारको आश छैन, पाए काम गरेर खाइन्छ, नपाए भोकै बस्छौं’

काठमाडौं ।

बाटो हिँड्दा भिडभाडले सास फेर्नै गाह्रो हुने वसन्तपुर निषेधाज्ञापछि सुनसान छ। केही ट्याक्सी लाइन बसेका छन्। कोही चालक गफमा मस्त, कोही निद्रामा।  उनीहरूकै छेउमा ३७ वर्षीय रेशम तामाङ भने रिक्सा सफा गर्दै थिए। कतै जान लागेका हुन् वा गएर आएका हुन् भनी हामीले सोध्यौं।

‘कतै गएको छैन, कोही आएको पनि छैन। बिहानदेखि यहीँ छु,’ दिक्दार भावमा उनले भने, ‘धूलो उड्छ, रिक्साभरी टाँसिएछ, झार्दैछु।’ निषेधाज्ञाले सबै सवारी साधन बन्द छन्। यस्तो बेला रिक्सामा राम्रै कमाइ होला भन्ने आश रेशमको थियो। तर कोरोनाले काठमाडौं सहरलाई तर्साएसँगै मान्छेहरूको हिँडडुल पनि ठप्प भएको छ। सँगै रेशमको कमाइ पनि।

‘केही कमाइ छैन। पहिलेको लकडाउनमा साथीहरूले राम्रै कमाइयो भनेका थिए। अहिले त मान्छे डराएर होला, कोही बाहिरै निस्केका छैनन्,’ उनले भने। उसो त पोहोर लकडाउनमा उनले पनि डराएर रिक्सा चलाएनन्। तर कोरोना महामारीले वर्षैपिच्छे सताउन थालेपछि काम नगरी खान नपुग्ने रेशम यसपालि चुप लागेर बस्न सकेनन्।

‘अब सधैं यस्तै हुने भएपछि त डराएर भएन। काम गर्न परिहाल्यो,’ रेशमको घर नुवाकोट हो। वसन्तपुर नजिकै एक कोठामा उनी, श्रीमती र छोरी बस्छन्। घरमा भएका आमाबाबुको भर पनि उनै हुन्। गत ११ वर्षदेखि रिक्सा चलाएरै पाँच जनाको परिवार धान्दै आएका छन् उनले।

तर कोरोना महामारीपछि रिक्सा चलाएर हातमुख जोर्न सकस भएको उनी बताउँछन्।’पहिले राम्रै कमाइ हुन्थ्यो।  रेशम सामान्य अवस्थामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खट्थे। रित्तो रिक्सा लिएर बस्नुपरेको दिन थिएन। तर अहिले आपतकालीन कोही बिरामी वा कोरोना परीक्षण गर्न जानेहरू मात्र रिक्सा चढिरहेका छन्।

‘टाढा जानु पर्‍यो भने ट्याक्सी चढ्छन्। यसो कोही कोही हो रिक्सा चढ्ने,’ उनले भने, ‘आज त एक रूपैयाँ कमाइ भएको छैन। बिहानदेखि आएको बेलुका खाली हात फर्किनु पर्ला जस्तो छ।’ उनका अनुसार रिक्साको भाडा सामान्यतया दुरी हेरेर एक सयदेखि पाँच सय रूपैयाँसम्म हुन्छ। रिक्सा साहुलाई दैनिक एक सय दिनुपर्छ। कमाइ भए पनि नभए पनि यो पैसा तिर्नैपर्छ।

आम्दानी हुँदा उनले खाइ खर्च कटाएर महिनामा २० हजारसम्म बचाउन सक्थे। पहिलेको सबै बचत बहत्तर सालको भुइँचालोले भत्काएको घर बनाउँदा सकियो। त्यसपछि बचाएको पैसाले पोहोरको लकडाउन धानियो। यसपालि पनि त्यहीबाट दैनिक बिहान–बेलुकाको गुजारा टरेको रेशमले बताए। पहिलेको लकडाउनमा राम्रै कमाइ गरेका अर्का रिक्सा चालक पञ्चलाल लामाको अवस्था पनि रेशमकै जस्तो छ।

दोस्रो लहरको कोभिड पहिलेभन्दा जटिल भएकाले मान्छे बाहिर नहिँडेका अनुमान गर्दै उनी भन्छन्, ‘पहिले लकडाउनमा त यसो आफन्तकहाँ जान हिँडेको भन्दै पनि रिक्सा चढ्थे। अहिले त परीक्षणका लागि अस्पतालै जानपर्‍यो भने मात्र चढ्ने गरेका छन्।’ पहिले साहुको रिक्सा चलाउने उनले पाँच वर्षअघि आफैं रिक्सा किनेका हुन्। त्यसैले साहुलाई भाडा बुझाउन पर्दैन।

‘आफ्नै रिक्सा नभए त गाह्रो पर्थ्यो होला,’ उनले भने, ‘तीन दिनदेखि एक रूपैयाँ कमाइ छैन। आउने र जाने मात्रै काम भएको छ।’ पञ्चलालको घर धुलिखेल भए पनि छोराछोरी र श्रीमतीसहित उनी काठमाडौंमै कोठा लिएर बसेका छन्। आम्दानी नहुँदा घर खर्च चलाउन मुश्किल परेको उनको भनाइ छ।  सेतोपाटी

२०७८ बैशाख २९, बुधबार ०२:५६ गते 1 Minute 109 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार