शुक्रबार , बैसाख ७, २०८१

जाजरकोट, वैशाख २८ गते ।

कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिकाका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।

गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताउनुभयो । ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पिसिआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।

पूजा र विवाहले कोरोना बढायो

चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिनुभयो ।

सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता कार्यमा जसरी भए पनि सर्वसाधारण सहभागी हुँदा कोरोना सङ्क्रमण फैलिएको हो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गरेको भए पनि गाउँका अधिकांश ठाउँमा प्रशासनको आदेश कसैले पनि नमानेको पाइएको छ ।

ज्वरो आउँदा धामीको शरण

गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पहिला धामीझाँक्री कहाँ पुगेर देखाउने चलन कायमै छ । देवीदेवताको आँखा लागेर बिरामी भएको भन्दै धामीलाई देखाउने चलनले कोरोना बढ्न थप मद्दत गरेको छ । स्थानीय तहका मुकाममा मात्र सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरे पनि गाउँमा त्यस्तो कुनै पालना नभएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय