बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

हिजोआज असन इन्द्रचोकका गल्लीहरू सुनसान छन्। यहाँ सामान बोकेर गुजारा गर्नेहरूको पिँठ्युमा कुनै भारी हुँदैन। बरू उनीहरू रित्तो नाम्लोसँगै बाँच्ने आधार खोजिरहेका छन्।

सहरका तिनै गल्लीमा दोलखा, जिरीका अर्जुन खड्का पनि रित्तो नाम्लो बोकेर हिँडिरहेका थिए। नाम्लोसँगै हिजोआज उनको पेट पनि रित्तिएको छ।

शुक्रबार दिउँसो ४ बजे भेटिएका उनको पेटमा बिहानदेखि केही परेको थिएन।

‘थाप्लो खाली, पेट पनि खाली। बिहानदेखि केही खान पाएको होइन। काम पाइन्छ कि भनेर निस्किएको,’ बाटोमा अडिएर उनले सुनाए।

सरकारले निषेधाज्ञा जारी गरेदेखि उनी यसैगरी रित्तो नाम्लो भिरेर असन, इन्द्रचोक र न्युरोडका गल्ली चहारिरहेका छन्। बिहीबार एउटा भारी बोक्ने काम पाए। स्वास्थ्य सामग्री थियो। नजिकै पुर्‍याउनुपर्ने भएकाले ज्याला २५ रूपैयाँ मात्रै पाए।

‘२५ रूपैयाँले के गर्नु?’ उनी भन्छन्, ‘एक जना साहुले दया गरेर चाउचाउ दिनुभयो, त्यही खाएँ।’

अर्जुनले अघिल्लो लकडाउनमा भोगेको नियति अहिले पनि दोहोरिएको छ। अघिल्लोपटक त धन्न केही मनकारीले बाँडेको खाना खान पाएका थिए र सास अल्झिएको थियो। यो पटक त्यो पनि पाएका छैनन्।

भन्छन्, ‘उ बेला त रत्नपार्कमा खाना बाँडेको थियो। एक छाक त्यही खाएर टर्थ्यो। अर्को छाक भोकै भए पनि बसिन्थ्यो। अहिले त एक छाक पनि खान पाइएन।’

दैनिक ज्यालादारी गरेको पैसाले खान-बस्न समस्या भएपछि उनले डेरा पनि छाडेका छन्। कहिले सडक पेटी त कहिले काम गर्ने गोदामतिर रात कटाउँछन्। पहिलेको लकडाउन खुलेपछि बल्ल काठमाडौं छिरेका ४८ वर्षीय अर्जुन गाउँ फर्किने आधार पनि छैन।

‘आमा दमको बिरामी हुनुहुन्छ। अस्पताल ल्याउन पैसा छैन। फेरि कोरोनाको बेला छ,’ उनी भन्छन्, ‘रित्तै घर पनि फर्किन सकिनँ। यहीँ बसेँ। अब भोकै कति दिन बाँचिएला?’

उनको ६ जनाको परिवार छ। उनैले ज्याला-मजदुरी गरेर परिवार पाल्नुपर्छ। कोरोनाका कारण काम नहुँदा अर्जुन आफूले आफैंलाई पाल्न सकिरहेका छैनन्। सरकारले आफू र आफूजस्ता दैनिक ज्यालादारी गरेर गुजारा गर्ने श्रमिकलाई एक छाक भए पनि खान दिए यो संकटमा बाँच्न सकिने उनी बताउँछन्।

छ वर्षदेखि यिनै गल्लीमा भारी बोकेर गुजारा गर्दै आएका सर्लाही, लालबन्दीका पदमकुमार थापा मगरको अवस्था पनि उस्तै छ। निषेधाज्ञाका कारण पसल र गोदामहरू बन्द भएपछि उनको कमाइ ठप्प छ।

हिजोआज पदमकुमार पनि रित्तो नाम्लो बोकेर दिनभर न्युरोडका गल्ली हिँड्छन्।

‘पसल बन्द भए पनि यसो केही काम पाइन्छ कि भनेर हिँडेको,’ हातको नाम्लो काँधमा राख्दै उनले भने, ‘हाम्रो त बिजोग भयो। न काम पाइन्छ न खानेकुरा।’

पदमकुमार मखन गल्लीमा सानो कोठा लिएर बसेका थिए। भाडा तिर्न नसकेपछि गत वर्ष लकडाउनदेखि नै कोठा छाडे। त्यसयता उनी दिनभर काममा निस्किन्थे। काम गरेको पैसाले होटलमा खाना खान्थे। बचेको पैसा फाइनान्समा जम्मा गर्थे। रात कटाउन भने ओत लाग्ने ठाउँ खोज्थे।  सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय