शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाइको बहुमत प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण भत्किएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले ओलीजीको अहंकारले आज मुलुक यो हालतमा आइपुगेको धारणा राखे।

प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्‍वासको मत माग्‍ने नैतिक अधिकार ओलीसँग नभएको दाबी गरे। प्रचण्डले विश्‍वासको मत लिने प्रधानमन्‍त्रीको कदम नाटक मात्रै भएको टिप्पणी गरे । उनले लोकतान्त्रिक संस्था, पद्धति, परम्परा र विधिलाई छलेर अरु नै केही गर्न खोजेको हो कि भन्‍ने आशंका उब्जिएको बताए।

ओलीले संसदलाई सरकारले अपमान र उपेक्षा गरेको उनले प्रतिक्रिया दिए। प्रचण्डले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोप लगाए । उनले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंका भएको बताए।

‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’

उनले धेरै प्रतिकुलताकाबीच वाम गठबन्धन भएको, कम्युनिष्ट पार्टीको एकता भएको दाबी गरे। उनले भने, ‘गठबन्धनको प्रस्ताव लिएर जाने म नै हो। उहाँलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने पनि म मै हो र सरकरका गतिविधिले संविधानलाई पनि कोरोना लागे जस्तो भयो। आइसियुमा लागेर जस्तो स्थिति आएको छ ।’आफूले डेढ वर्ष अगाडिबाट नै सर्वदलीय संयन्त्र बनाउन आग्रह गरेको बताउँदै प्रचण्डले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन आह्वान गरे।

‘आज प्रधानमन्त्रीले राखेको विस्वासको मतको विपक्षमा प्रधानमन्त्री सबैले पक्षमा हालौं भन्नुभयो’ उनले अन्तिममा भने, ‘म चाहिँ प्रधानमन्त्रीजीबाहेक सबैले प्रधानमन्त्रीको विपक्षमा भोट हालौँ नयाँ इतिहास बन्छ।’

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय