बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ

कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने प्रष्ट भएकाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नुपर्ने देउवाको माग थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै देउवाले सोमबार प्रतिनिधिसभामा भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था छ । त्यसकारण अर्को सरकार गठन गर्न संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रक्रिया अगाडि बढ्नुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा छ ।’

संविधानको उक्त धारामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी राजनीतिक दलको गठबन्धनको सरकार गठन हुनसक्ने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान व्यवस्था समाप्त गर्न लागेकोले प्रमुख प्रतिपक्ष कांग्रेसले विश्वास दिन नसक्ने देउवाले बताए ।

प्रधानमन्त्री ओली आफैले उत्पन्न गरेको परिस्थितिका कारण अहिले विश्वास माग्न आउनुपरेको भन्दै देउवाको भनाइ थियो । संसद् पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा त्यसो नगरेकोमा पनि देउवाले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय