बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट लखेटिएको महसुस गरेका एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहका सांसदले पार्टी एकताका लागि उनलाई ‘अल्टिमेटम’ दिएका छन् ।

यो समूहका सांसदले गरेको निर्णयअनुसार ओलीले सोमबार बिहानसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । तर बालुवाटारको दृष्टिबाट यी दुवै निर्णय असम्भवप्रायः छ ।

खनाल–नेपाल समूहका नेताहरूले बारम्बार गरेका यी प्रस्तावलाई ओलीले अप्ठ्यारोमा साथ दिएका माओवादीका आगन्तुक सदस्यलाई पार्टीबाट हटाउन नसक्ने र पार्टी २०७५ जेठ २ भन्दा धेरै अघि बढिसकेको भन्दै अस्वीकार गर्दै आएका छन् । यी दुवै विषयमा नेपाल पक्षको पनि आफ्नै अडान रहेकाले मिल्ने सम्भावना शून्यजस्तै भएको हो ।

संसद् सचिवालय सिंहदरबारमा आइतबार करिब ३ घण्टा बसेको यो समूहका सांसदको बैठकले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिएको एमाले सचिव योगेश भट्टराईले बताए । ‘पार्टीलाई सहमतिमा पुर्‍याउने दायित्व अध्यक्षको हो भन्नेमा एकमतमा पुगेका छौं, उहाँले त्यो दायित्व गम्भीरतासाथ पूरा गर्नुभएको छैन, आजै निकालेको वक्तव्यमा समेत पार्टीको एउटा समूहलाई लाञ्छित गर्नुभएको छ, त्यसमा हामीले चिन्ता व्यक्त गरेका छौं,’ उनले भने, ‘फागुन २३ मा दुई पार्टीको एकता भंग भएपछि एमाले स्वतः जेठ २ मा फर्केको कुरा सर्वोच्चले नै भनिदिएको छ । हामी अब पार्टीको जीवन, संगठन, विचार र नेतृत्व एकतापूर्वको अवस्थामा फर्किनुपर्छ भन्नेमा दृढ छौं । आज पनि हामीले २०७५ जेठ २ को अवस्थामा फर्किन वैशाख २७ गते बिहान ९ बजेसम्मको समय दिएका छौं । उहाँले यसमा प्रतिबद्धता जनाए प्रतिनिधिसभामा हाम्रो उपस्थिति हुन्छ र विश्वासको मत दिन्छौं ।’ भट्टराईले त्यसो भएन भने कठोर कदम चालिने र त्यसका लागि साढे ९ बजे संसद् सचिवालयमा उपस्थित हुन सांसदहरूलाई भनेको बताए ।

सांसदहरूको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री ओलीले नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङलाई नेता नेपालसँग कुराकानी गर्न पठाएका थिए । त्यही कुराकानीका बारेमा नेता नेपालले बैठकलाई ब्रिफिङ गरेका थिए । ‘उनीहरू मिल्ने ठाउँमा कुरा गर्दैनन्, केपी ओली पार्टी विभाजन गर्ने डिजाइनअन्तर्गत चलिरहेका छन्, हामीलाई धकेल्नु नै उनको मुख्य उद्देश्य हो,’ बैठकमा नेता नेपालले भने ।

‘इतिहासमा उनलाई सहयोग गरेर भूल गरियो । अब हामीले विद्रोह गर्नुपर्छ । त्यसको सुरुवात सांसद पदबाट राजीनामा दिएर हुन्छ । यो विद्रोह नै अर्को पार्टी निर्माणको आधार भयो,’ बैठकमा नेता नेपालले भने । नेता नेपालले बालुवाटारबाटै खबर आएपछि पक्कै केही सन्देश होला भनेर आफूले भेटे पनि उनीहरूले नयाँ कुरा नल्याएको बताए । ‘बालुवाटारबाट आएको भनेपछि केही सन्देश होला भनेर म भेट्न गएँ, तपाईंजस्तो जिम्मेवार मान्छे, भोलि भोट हाल्नुपर्‍यो भने,’ नेता नेपालको भनाइ उद्धृत गर्दै सांसद विरोध खतिवडाले भने, ‘के छ त प्रस्ताव भनेको, केही छैन भने । केही छैन भनेपछि किन आएको त भनेर म उठें । उनीहरूले हामीलाई अल्झाउने मात्रै काम गरिरहेका छन् ।’ बैठकमा सहभागी सांसदहरूका अनुसार एमाले सांसदको हैसियतमा आफूहरूको बैठक अन्तिम पनि हुन सक्ने भन्दै नेताहरू भावुक बनेका थिए । उनीहरूले आफूहरूको संघर्षले बनेको पार्टीलाई ओलीले तहसनहस पारेको बताएका थिए । सांसद रामकुमारी झाँक्रीले बैठकमा नेताहरूले भावनात्मक कुरा पनि गरेको र उपस्थित सबैले आ–आफ्ना धारणा राखेको बताइन् ।

‘हामीले स्कुलमा पढेका थियौं नि, घर छोड्ने रात भन्ने मनोवाद, त्यस्तै भयो आजको बैठक पनि,’ झाँक्रीले कान्तिपुरसित भनिन्, ‘राजीनामा गरेपछि त एमाले रहेनौं र एमाले रहने सम्भावना पनि भएन । त्यसैले पार्टीसित जोडिएका स्मृति–विस्मृतिका कुरा भए । ओलीले दिएका दुःख, पीडाको सम्झना गरियो ।’ बैठकमा धेरै नेताहरूले बनिबनाउ पार्टी छोड्दा आइपर्ने अप्ठ्याराबारे चासो राखेका थिए । बैठकमा तीन जना समानुपातिक सांसदसहित २० जना उपस्थित थिए । आफ्ना पक्षमा ३५ जना सांसद भए पनि केही सांसद कोभिड संक्रमित भएका कारण र केही यातायातको अप्ठ्यारोले बैठकमा आउन नसकेको झाँक्रीले बताइन् ।

यसअघि शनिबारको बैठकमा सामूहिक राजीनामाको निष्कर्षमा पुगेको खनाल–नेपाल समूह आइतबार आफ्नो पक्षको स्थायी कमिटी बैठक सकेर राजीनामाको निर्णायक बैठक गर्न संसद् सचिवालय सिंहदरबार पुगेको थियो । वरिष्ठ नेता नेपालसहित उनीपक्षीय नेताहरू सिंहदरबारमा रहेकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर राजीनामाको निर्णय रोक्न आग्रह गर्दै थप संवाद गर्न आफ्ना तर्फबाट उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई पठाउने बताएका थिए । सिंहदरबारमै नेपाल, पौडेल र नेम्वाङबीच चलेको बैठक पनि २०७५ जेठ २ लाई बटमलाइन बनाउने कि नबनाउने भन्ने विवादमै टुंगियो ।

बैठकमा नेम्वाङ र पौडेलले अहिले राजीनामाको कुरा थाती राख्नु, जेठ २ मा फर्किने/नफर्किने भन्नेबारे पछि सल्लाह गरौंला भन्ने ओलीको सन्देश सुनाएका थिए । तर, नेपाल उक्त प्रस्तावमा सहमत भएनन् । बैठकपछि नेता नेम्वाङले पार्टी एक हुनुपर्छ भन्नेमा दुवै पक्ष सहमत भएको र त्यसलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेबारे चिन्ता व्यक्त भएको बताए । ‘माधव कमरेडको प्रधानमन्त्रीसित कुराकानी भएर तय भएको भेट हो, हामीले कमरेडसित पार्टीको समस्याका बारेमा खुलाखुलस्त कुरा गर्‍यौं, प्रधानमन्त्रीको चिन्ता र सरोकारका कुरा माधव कमरेडसमक्ष राख्यौं,’ नेता नेम्वाङले भने, ‘उहाँले पनि आफ्ना कुरा खुलस्त ढंगले सुनाउनुभयो । पार्टी एकतालाई बलियो बनाउने कुरा हाम्रो कुराकानीमा प्रतिबिम्बित भएको छ । कसरी यसलाई टुंगोमा पुर्‍याउने भन्नेबारेमा चिन्ता व्यक्त भएको छ । कुराकानीमा पनि त्यो अभिव्यक्त भएको छ । यसलाई टुंगोमा पुर्‍याउन के आधार हुन्छ, तय हुन्छ । त्यसबारे फेरि बसेर छलफल गर्ने निर्णय भएको छ ।’

उक्त बैठकमा ओली पक्षका नेताहरूले कुनै नयाँ प्रस्ताव नल्याएको र समय गुजार्ने रणनीतिसहित आएको निष्कर्ष नेपाल पक्षको छ । सचिव भट्टराईले एकताको पहल गरेका थियौं भन्ने देखाउन ओली पक्षका नेताहरू वरिष्ठ नेता नेपाललाई भेट्न आएको बताए । नेता पौडेलले नेपाललगायतका नेताहरूले राजीनामा दिने कुरा आफूले नपत्याएको बताए । ‘आन्तरिक समस्या समाधान गर्ने र पार्टीलाई एकताबद्ध गर्ने कुरा भयो,’ उनले भने, ‘उहाँहरूले राजीनामा दिनुहुन्छ भन्ने मैले पत्याउँदिनँ । त्यो विनाशको बाटो कसले तय गर्ला र ?’  कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय