बिर्सेको बाटो खोज्न पछि फर्कौ

काठमाडौं

राजनितिज्ञ गिरिजाप्रसाद कोइरालाले राष्टिय राजनीतिमा बादल मडारिंदा मुलमन्त्रका रुपमा सुनाउने गरेको कथाबाट आलेखको शुरुवात गरेको छु। जतिखेर शान्ति प्रक्रिया, संविधान निर्माण र दलीय सहमति कठिन मोडमा पुग्थ्यो, गिरिजाप्रसादले मार्मिक र यथार्थपरक कथा सुनाउने गर्थे। कथा यस्तो थियो, जंगलको यात्रा गदै गर्दा बीचमा बाटो बिर्सियो भने अघि बढने मुर्खता गर्नुहुन्न। यस्तो अवस्थामा अघि जुन ठाउंंबाट यात्रा शुरु गरेको हो, त्यही फर्कने र नयाँ यात्रा शुरु गर्ने। यसो भयो भने मात्र बाटो पत्ता लाग्छ, गन्तव्यमा पुग्न सकिन्छ।

यतिबेला नेतृत्वले सही मार्ग लिन नसक्दा एमालेको आन्तरिक जीवन संकटमा छ। पुरानै ठाउं ( २०७५ जेठ २) कै वरिपरि फर्केर गन्तव्य खोज्ने कि, मुर्खतापूर्ण रुपमा अघि बढेर भिरको यात्रा रोज्ने भन्ने एमाले नेतृत्व सामु प्रश्न छ। पछाडी फर्केर नयाँ यात्राका लागि मुल नेतृत्व (अध्यक्ष केपी ओली ) तयार छैनन। अर्को पक्ष (माधव नेपाल पक्ष) पछाडी फर्कौ त भन्दैछ, तर रिसले कुनै पनि बेला आत्मघाती कदम नचाल्ला भन्न सकिन्न।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई भंग गर्दै दुवै पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काएको सत्य हो। तर, अध्यक्ष ओलीले जेठ २ भन्दा निकै अघि बढेर एकपक्षीय रुपमा पार्टी संचालन गरे। ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई हटाउने देखि नेताहरुमाथि कारवाही गर्ने, नेपाल पक्षीय कमिटीहरु भंग गरि आफु अनुकुल कमिटिहरु गठन गर्ने र नेपाल पक्षीय नेताहरुलाई जिम्मेवारीबाट मुक्त गरेर (चैते) हरुलाई जिम्मेवारी दिने काम ओलीले गरे। माओवादीसंग पार्टी एक हुंदाका बखत नेपाल पक्षका हर्कतको बदलामा ओलीले यस्ता कदम चालेको छर्लै..छ। तर यसले समाधान भन्दा पार्टीमा फाटो ल्यायो। नेताहरुका मन कुढिए। नेपाल पक्षले अपमान महसुस गर्दै सरकार र पार्टी नेतृत्व विरुद्ध निरन्तर प्रहार गरिरह्यो। फलस्वरुप, आज एमाले विभाजनको अन्तिम विन्दुमा छ।

हो, नेपाल पक्षबाट पनि थुप्रै कमिकमजोरी नभएका होइनन । पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेदेखि नै नेपाल पक्षबाट सरकारमाथि निरन्तर आक्रमण भयो। सरकारले गरेका राम्रा कामको जस लिनु त परै जाओस, सरकारका कमजोरीका छिद्र खोज्दै जाने र निरन्तर प्रश्न उठाउने काम गरिरह्यो। सत्तासीन पार्टीभित्र नै सत्तापक्ष र प्रतिपक्षको स्पष्ट कित्ता बन्यो। तत्कालीन माओवादी नेतृत्वसंग मिलेर ओलीलाई खेदने काम भएकै हो। भलै, एकल रुपमा चल्ने ओलीको दम्भले पनि यस्तो अवस्था सिर्जना नगरेको होइन। तर विगतका यी तिता र खराब जगमा टेक्ने कि विगत बिर्सेर सुन्दर भविष्य खोज्ने भन्ने अहं प्रश्न उब्जेको छ।

एमाले नेतृत्व सामु दुई वटा विकल्प छन। पहिलो, सच्चिने र कम्युनिष्ट आन्दोलन जोगाउने। दोस्र्रो, सक्किने र काला अक्षरमा ईतिहासका पानामा समेटिने।

विगतका तितामिठा बिर्सेर एकले अर्कोको अस्तित्व स्वीकार गरेर अघि बढनु नै एमाले र यसका लाखौ लाख कार्यकर्ता, शुभचिन्तक र देशको हितमा छ। ओलीले पार्टीमा आफ्नो बहुमत खोजेको भए नेपाल पक्षलाई पनि राखेर विधिसम्मत निर्णय गरे हुन्छ। माओवादी नफर्केका नेताहरुलाई जिम्मेवारी दिने विषयमा नेपाल पक्षले पनि अडको थाप्नु हुंदैन। नेपालीमा एउटा भनाई नै छ, नेतृत्व संकटमा देखिन्छ।) एमालेभित्रको यतिबेलाको संकटलाई पार लगाउन नेतृत्वले छाति फराकिलो पारेर अघि बढनुपर्ने आवश्यक्ता छ।

पार्टी विभाजन गरेर जनताबीच जाने कुरा न ओलीको हितमा छ, न त नेपाल पक्षलाई नै जनताले विश्वास गर्ने अवस्था बन्छ। आफ्नै पार्टी मिलाउन नसक्नेलाई फेरि किन भोट दिने ? झण्डै दुई तिहाई बहुमत दिएर यत्रो बबण्डर मच्चाउने, अनि, के का लागि फेरि आएको? भन्ने प्रश्न जनस्तरबाट ओलीमाथि बर्सिनेछ। पार्टी फुटाएर गएमा नेपाल पक्षको पनि विगतको मालेको अवस्था भन्दा भिन्न हुने छैन। पार्टी विभाजन भएर हुने चुनावमा एमाले, एमाले भित्रको लडाईले कम्युनिष्ट आन्दोलन मात्र छिन्नभिन्न हुनेछ। यस्तोमा (नेताहरुले आफुले हारेको कुरा नगरि फलानोलाई हराइयो नि) भनेर आत्मरतिमा रमाउनु बाहेक अर्को हुने छैन।

पार्टीको मुल नेतृृत्वको हिसाबले कम्युनिष्ट आन्दोलन जोगाउने मुल दायित्व र जिम्मेवारी अध्यक्ष ओली माथि छ। उनले आफ्नो नेतृत्वको सरकारलाई सोमवार संसदमा विश्वासको मत माग्दैछन। तर पार्टीभित्रको विवाद समाधान नगरि विपक्षीका ढोका ढक्ढक्याएर मात्र सरकारलाई विश्वासको मत प्राप्त नहुने निश्चित छ। घरपरिवार मिल्दा सहयोगी बन्छु भन्ने छिमेकीहरु पनि घर कलहमा कसरी टाढिन्छन भन्ने कुरा ओलीले जसपाका नेताहरुको पछिल्लो व्यवहारबाट सिकेकै होलान। हिजोसम्म ओली सरकारलाई साथ दिन्छु भन्ने जसपाका नेताहरुले तटस्थ बसेर ओलीलाई किनारामा परेको टुलुटुलु हेर्ने कुरा बताइसकेका छन। अर्कोतर्फ, नेपाल पक्षले सामुहिक राजीनामा दिने अवस्था आयो भने ओलीको हातमा पनि सत्ता नरहन सक्छ। ठुलो दलको नेताको हैसियतले जेनतेन एक महिना सत्ताको चावी आफुसंग राखेपनि त्यसपछि कांग्रेस वा अरु कसैको हातमा सत्ता पुग्नेछ। नेपाल पक्षले सामुहिक राजीनामाको बाटो रोजे चुनावी सरकारको नेतृत्व ओलीको हातमा नरहने पक्का छ। एमालेभित्रको घर झगडाले विपक्षी कांग्रेसको दुवै हातमा लड्डु हुनेछ। तत्काल सरकारको नेतृत्व लिने कि, चुनावपछि सरकार बनाउने भन्ने छनोट गर्ने अवस्थामा कांग्रेस पुगेको छ।

पार्टी निर्माणमा लाखौ लाख जनताको त्याग, बलिदानी, शान्ति र स्थिरताप्रतिको जनताको चाहना, कम्युनिष्टप्रतिको जनताको विश्वासलाई डगमगाउन नदिन यतिबेला एमाले नेतृत्वले आफ्नै अनुहारमा पानी छम्किनुपर्ने अवस्था आएको छ। अर्को ताजमहल नबनोस भनेर सिकर्मीका हात काटने कि हजारौ सपनालाई उम्रिन दिने भन्ने यक्ष प्रश्न उब्जेको छ। बाटो बिर्सिसकेपछि फरक्क पछि फर्कने कि जिद्धि गरेर भिरको बाटो रोज्ने नेतृत्वको ध्यान पुगोस। अगाडीको बाटोमा कांडैकाडा, खोल्साखोल्सी र जंगली जनावरको भय छ। स्वास्थ्यमन्त्री ह्यदेश त्रिपाठीले भन्ने गरे जस्तो (कंही पे निगाहे, कंही पे निसाने) मात्र हो भने त रामराम मात्र भन्न सकिन्छ।

annapurna post

२०७८ बैशाख २७, सोमबार ०२:४६ गते 1 Minute 103 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार