शनिबार , बैसाख ८, २०८१

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको नयाँ सार्वजनिक निर्देशिकालाई आधार मान्ने हो भने छ फिटभन्दा बढी दुरीसम्म पनि कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ।

केन्द्रले नयाँ वैज्ञानिक अनुसन्धान उद्धृत गर्दै आफ्नो निर्देशिका संशोधन गरेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले लेखेको छ।

संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा वा बोल्दा कोरोना भाइरसका अत्यन्तै साना कणहरू हावामा छरिएका हुन्छन्। ती कण छ फिटभन्दा बढी दुरीसम्म फैलिन सक्छन्। अर्को व्यक्तिले त्यही हावामा सास फेर्दा कोभिड संक्रमित हुनसक्छ।

‘हावाबाट सर्ने यो भाइरस छ फिटभन्दा बढी दुरीसम्म फैलिनसक्छ,’ केन्द्रले शुक्रबार संशोधन गरेको सार्वजनिक निर्देशिका उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘संक्रमित व्यक्तिबाट छ फिटभन्दा टाढा बसेका व्यक्तिलाई पनि रोग सर्नसक्ने जोखिम उत्तिकै हुन्छ।’

यस्तो जोखिम बन्द कोठामा अझ बढी हुने अध्ययनले देखाएको छ। त्यस्ता ठाउँमा हावाको पर्याप्त आवागमन नहुने भएकाले भाइरसका कण लामो समय हावामा थुप्रिएर बस्न सक्छन्। कोही व्यक्तिले त्यही हावामा सास फेर्यो भने ऊ संक्रमित हुने जोखिम बढ्छ।

यति मात्र होइन, बन्द कोठामा संक्रमित व्यक्तिसँग छ फिटको दुरीमा बसेर मात्र जोखिम कम हुँदैन। कहिलेकाहीँ संक्रमित व्यक्तिले लामो लामो सास फेरेको हुनसक्छ। गीत गाउँदा, ठूल्ठूलो स्वरले कुराकानी गर्दा वा शारीरिक व्यायाम गर्दा पनि उसको सास छिटो छिटो चल्छ। त्यस्तो बेला संक्रमित व्यक्तिको सासबाट निस्कने भाइरसका स–साना कण छ फिटभन्दा परसम्म पुग्न सक्छ।

सरूवारोग विशेषज्ञहरूले गत वर्ष कोरोना महामारी सुरू हुँदादेखि नै अमेरिकी स्वास्थ्य पदाधिकारी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई यसबारे सचेत गराउँदै आएका थिए।

कोरोना भाइरसका स–साना कण हावामा तैरिँदै लामो दुरीसम्म उड्न सक्ने उनीहरूको भनाइ थियो। त्यसैले ‘सामाजिक दुरी कायम राख्नू’ वा ‘संक्रमित व्यक्तिसँग निकट सम्बन्ध नराख्नू’ भनेर मात्र प्रस्ट सन्देश प्रवाह नहुने उनीहरूले बताएका थिए।

एक वर्षपछि अमेरिकी सरकारको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले उक्त कुरा सुनुवाइ गरेकोमा सरूवारोग विशेषज्ञहरूले खुसी व्यक्त गरेका छन्।

‘हामीले एक वर्षदेखि भन्दै आएको कुरा केन्द्रले नयाँ वैज्ञानिक अनुसन्धानका आधारमा सुनुवाइ गरेको छ,’ भर्जिनिया टेकका डा. लिन्से मारलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘पुरानो सार्वजनिक निर्देशिका संशोधन गर्दै हावाबाट पनि कोरोना भाइरस सर्न सक्ने हुँदा थप सतर्कता अपनाउनू भनेको छ।’

नयाँ निर्देशिकाअनुसार कुनै पनि अफिस, कार्यस्थल वा कक्षाकोठामा संक्रमणको उच्च जोखिम भएकाले विशेष सतर्कता अपनाउनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन्। यसको निम्ति छुट्टै स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने उनीहरूको भनाइ छ।

‘तपाईं हावाको आवागमन कम भएको बन्द कोठामा हुनुहुन्छ भने त्यस्तो ठाउँमा भाइरस हावामै तैरिएर वा थुप्रिएर बसेको हुनसक्छ। त्यस्तो अवस्थामा कोठाभित्र भएका सबै जना संक्रमणको जोखिममा हुन्छन्,’ डा. मारले भने।

जर्ज वासिङ्टन स्कुल अफ पब्लिक हेल्थका महामारी विशेषज्ञ डेभिड माइकलले पनि कोरोना भाइरसको यो स्वभाव हेरेर नयाँ स्वास्थ्य मापदण्ड बनाउनुपर्ने बताएका छन्।

‘अहिलेसम्म हामीले संक्रमित व्यक्तिको संसर्गबाट कोरोना सर्न सक्ने भन्दै त्यसै आधारमा स्वास्थ्य मापदण्डहरू अपनायौं, तर अब हावामा तैरिएर बस्ने भाइरसका कणबाट पनि संक्रमणको जोखिम देखिएकाले यसको निम्ति छुट्टै मापदण्डको खाँचो छ,’ उनले भने।

‘बन्द कोठाभित्र हुने कुनै पनि गतिविधि, खासगरी कार्यस्थलहरूमा यसले ठूलो प्रभाव पार्नेछ,’ माइकलले अगाडि थपे, ‘हावाको पर्याप्त आवागमन नभएको ठाउँमा भाइरसका कण घन्टौंसम्म हावामा थुप्रिएर बस्न सक्छन्।’

लामो समय एउटै कोठामा बसेर काम गर्नुपर्ने व्यक्तिहरूले विशेष सतर्कता अपनाउनुपर्नेमा सरुवारोग विशेषज्ञहरूले जोड दिएका छन्।

‘दिनभरि एउटै कोठामा कुइना जोडेर काम गर्नुपर्नेले सर्जिकल मास्क लगाउँदैमा जोखिम कम हुँदैन,’ मेरिल्यान्ड विश्वविद्यालयका वैज्ञानिक डोनाल्ड मिल्टनलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘उनीहरू पनि संक्रमणमा पर्न सक्ने जोखिम उत्तिकै हुन्छ।’

(न्यूयोर्क टाइम्समा प्रकाशित समाचारमा आधारित)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय