मंगलबार , बैसाख ११, २०८१

काठमाडौं ।

उमेर चार महिना । भारी जिउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चाहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिन काटिरहेको छ ।

गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती शुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आकलन कुखुरापालकको छ ।

‘यो भाले परीक्षणका लागि लामो समय पालिएको हो,’ फार्मका सञ्चालक विजय शर्माले भन्नुभयो, ‘अब यो धेरै समय यहाँ रहँदैन होला ।’ ‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उहाँको भनाइ छ । उक्त भालेले अहिलेसम्म ६ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोग छ ।

‘भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु,’ शर्माले भन्नुभयो । उक्त भालेलाई अहिले बेच्दा बजार मूल्य रु तीन हजार २०० पर्छ । बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ ।

नाफा–घाटा हेर्दा बुढो हुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ । पैँतालीस दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । पैँतालीसदेखि ६० दिनभित्र कुखुरा बेच्नयोग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु ६ देखि आठ महिनासम्म हुने बताइन्छ ।

शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा हुनुहुन्छ । घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । उहाँलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय