शुक्रबार , बैसाख ७, २०८१

नसेन, ८ फागुन । पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।

स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा उक्त गुफा पत्ता लागेको स्थानीय दिनेश कुमालले बताउनुभयो । विसं २०७५ को वैशाखमा स्थानीयवासीले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीको चित्र, भगवानका विभिन्न आकृति, पानीका धारा, पानीपोखरीलगायतका आकृति देख्न सकिन्छ ।

तीन तहका कोठा रहेको गुफा नजिकै वशिष्ठ, कौशिक, दुम्सी, सातपत्रे र चमेरेगुफासमेत छ । वशिष्ठ गुफाका बारेमा पुराणमा समेत उल्लेख भएकाले पनि धार्मिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय मीनराज रेग्मीले बताउनुभयो । विभिन्न भगवान्का आकृति, उनीहरुको बासस्थान रहेको अनुमान लगाउन सकिने दृश्यले जो कसैलाई आकर्षित गर्छ । यसको प्रचार भने हुन सकेको छैन । करिब १५० मिटर लम्बाइको गुफाभित्र करिब एक हजार मानिस अट्ने आँकलन गर्न सकिन्छ । त्रेता युगमा भगवान् रामले भ्रमण गरेको तथ्यसँग जोडिएको रामपुरमा भेटिएको गुफा पनि यसकै आकृतिका रुपमा लिन सकिन्छ ।

भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामाकरण गरिएको छ । भगवान्ले स्नान गरेका, पानी बाण हानेर निकालेका, खाना पकाएका चुलो, मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । हरेक पल दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय