शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवादास्पद निर्णयविरुद्ध नेपाली काँग्रेसका नेता गगन थापाले आवाज उठाएका छन् ।शनिवार स्वास्थ्य मन्त्रालयले अक्सिजन उत्पादक कम्पनीहरूलाई मन्त्रालयको सिफारिस बिना कुनै पनि सामुदायिक या निजी अस्पताललाई अक्सिजन नदिन निर्देशन दिएको थियो ।

अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको बताउँदै मन्त्रालयले यस्तो विज्ञप्ति निर्देशन जारी गरेको छ ।

तर, आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन् कोलाहल भएको भन्दै तत्काल यो निर्णय सच्याउन नेता थापाले सुझाव दिएका छन् ।

यो निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको समेत बताउँदै नेता थापाले कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान नदिई समस्या बढाएको बताएका छन् ।

यस कारण अस्पतालमा अक्सिजन आपूर्ति सहज बनाउन, अक्सिजनको दुरुपयोग रोक्न जोइन्ट रेपिड एक्सन टिम बनाउन र यस्तो निर्णय गर्दा बिरामीले ज्यान गुमाउनु परेमा निर्णय गर्नेले जिम्मा लिन नेता थापाले सुझाव दिएका छन् ।

यस्तो छ गगन थापाको सुझाव:

वैशाख २५ गते स्वास्थ्य मन्त्रालयले ‘मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीलाई निर्देशन दियो। अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने मन्त्रालयको तर्क छ। आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको छ। निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ।

त्यसैले;

१. अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊ, झन्झट नथप। अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर।

२. कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्नेतर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो होइन। त्यसका लागि मन्त्रालयले Joint Rapid Action Team बनाएर प्रभावकारी रूपमा परिचालन गरी कुन अस्पतालमा शैया, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढङ्गले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ, कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।

३. यस्तो बेतुकको निर्णयले कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएका छन्, दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्।कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिने? अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय