बिहिबार , बैसाख १३, २०८१

काठमाडौं : नेपाली फिल्म उद्योगका तीन हस्ती महिला चलचित्रकर्मीले एकै स्वरमा नायिका तथा महिला कलाकर्मीहरूले पाउँदै आएको पारिश्रमिकप्रति आपत्ति जनाएका छन्। अहिले मात्रै होइन उद्योगको सुरुआतदेखि नै नेपाली नायिकाहरूले नायकको तुलनामा नायिकाले साह्रै थोरै पारिश्रमिक पाउने गरेको बताए। नायकको बराबर मेहनत गर्दा पनि आफूहरूले सधैं थोरै पारिश्रमिक कारण के हो त? ‘अन्य क्षेत्रमा जस्तै ग्ल्यामरको क्षेत्रमा पनि महिलामाथि हुने विभेद नै यसको कारण रहेको उनीहरूको निष्कर्ष छ।

राजधानीमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तेस्रो दिन आयोजित ‘नेपाली चलचित्रमा महिला सहभागिता’ शीर्षकको छलफलमा नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला र चलचित्र सम्पादक, निर्देशक तथा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले यस्तो धारणा राखेका हुन्।

‘महिला कलाकर्मीहरूले पुरुषसरह पारिश्रमिक पाएका छैनन्। म एक अगुवा हुँ, मैले यो विषयमा बोल्नैपर्छ। टपमा रहेका दुई, चारजनाबाहेक अन्य महिला फिल्मकर्मीले एकदमै कम पारिश्रमिक पाउने गरेका छन्’, नायिका मानन्धरले भनिन्, ‘पारिश्रमिकको कुरामा मेरो चित्त दुखाइ छ। महिलाले पुरुषसरह मेहनत गरेको छ भने उसको पनि पारिश्रमिक उत्तिकै हुनुपर्छ,।’

निर्देशक समाजकी अध्यक्ष राणाले आफूले व्यक्तिगत रूपमा विभेद सहन नपरे पनि पारिश्रमिकको विषयमा पितृसत्तात्मक समाजकै कुरा आउने बताइन्। ‘पुरुषले १० लाख पाउँदा महिलाले दुई लाख माग्दा महाभारत मच्चिन्थ्यो। सम्पादकका रूपमा भने मैले पुरुष सम्पादकले पाउने जति नै पारिश्रमिक पाएँ।’

प्राविधिक क्षेत्रमा एउटी महिलाले आफ्नो क्षमता प्रमाणित गर्न भने पुरुषले भन्दा बढी मेहनत गर्नुपर्ने उनको बुझाइ छ। कार्यक्रममा निर्देशक दीपाश्रीको भनाइ थियो, ‘पारिश्रमिकको सवालमा अहिले महिला कलाकार पनि बोलिरहेका छन्। महिला कालकारले यत्ति पारिश्रमिक लिए भनेर समाचार पनि आउँछ। पारिश्रमिक चित्त बुझेन भनेर महिला फिल्मकर्मीले फिल्म छोडेका पनि छन्।’ दीपाश्री पनि पारिश्रमिकको सवालमा पितृसत्तात्मक सोचले भूमिका निर्वाह गरेको निष्कर्ष निकाल्छिन्।

अध्यक्ष राणाले भनिन्, ‘बाहिरबाट ग्ल्यामर देखिए पनि यसभित्र कति मेहनत लाग्छ भन्ने हामीलाई नै थाहा छ। दसैं तिहार भन्न पाइँदैन, रातदिन भन्न पाइँदैन, बिरामी छु भन्न पाइँदैन। कामप्रति लगाव छ भने सजिलै चुनौती पार गर्न सकिन्छ जस्तो लाग्छ।’

‘हाम्रा फिल्म हिन्दी फिल्मबाट प्रभावित छन्। मैले नै कति त कपी पेस्ट रोल गरें। ती फिल्मले समाजलाई कस्तो दर्शन दियो, मलाई थाहा छैन,’ नायिका मानन्धरले भनिन्, ‘माइतीघर नुमाफुङलगायतका केही फिल्मबाहेकका अन्य फिल्म महिलाकेन्द्रित भनिए पनि महिलालाई पुरुष पात्रद्वारा नै रक्षा गर्नुपर्ने फिल्म बने। राजेश हमालको समयमा म आफैंले ती भूमिका निभाएँ। तर पछि रेखा थापाले त्यो बदलिदिनुभयो।’

‘मलाई विशेषगरी महिला निर्देशक भएर महिलालाई नै नराम्रो देखायो भन्ने आरोप आइरहेका छ। बलिउडको तुलनामा हाम्रोमा महिला केन्द्रित फिल्म बनिरहेका छन्। तर महिलालाई प्रभावकारी भूमिका दिइएका फिल्म यथेष्ट छैनन्’, निरौलाले भनिन्, ‘महिलालाई ठिंग उभ्याएर फिल्म चलाउन गाह्रो छ। समाजमा महिलाको चित्र कस्तो छ त्यही कुरा फिल्ममा देखाउने हो।’

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय