बुधबार , बैसाख १२, २०८१

काठमाडौँ

बेलैमा उपचार पाएका कोरोना भाइरस संक्रमितमध्ये अधिकांश निको भइरहेका छन् । कोरोना भाइरसले मृत्यु भएका अधिकांश व्यक्ति लक्षण देखिएपछि पनि ढिलो गरी स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेकाहरू रहेको पाइएको छ ।

‘समयमै संक्रमण पहिचान भएर स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अधिकांश व्यक्ति पूर्ण रूपमा निको भएका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘बेलैमा उपचार पाएका वृद्धवृद्धा पनि कोरोना जितेर घर फर्किंदै छन् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितको तुलनामा निको भएकाको संख्या ४०.०३ प्रतिशत छ । पछिल्लो २४ घण्टामा मुलुकमा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा निको हुनेको संख्या ३ हजार ३ सय ७० छ । संक्रमणले हालसम्म ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । यो भनेको जम्मा संक्रमितको ०.९४ प्रतिशत हो । यसअघि मृत्युदर एक प्रतिशत थियो । पछिल्ला दिनमा संक्रमितको संख्या बढेकाले आवश्यक उपचार नपाएर वा ढिला गरी अस्पताल पुगेर ज्यान गुमाउनेका संख्या बढेको चिकित्सकको भनाइ छ ।

पोहर जस्तै यसपालि पनि संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा सामान्य लक्षण छ । ‘यस्ता बिरामीलाई घरमै चिकित्सकीय सल्लाहमा उपचार गर्दा पुग्छ,’ त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘बाँकीमध्ये १५ प्रतिशत मध्यमस्तरका बिरामी हुन्, उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ । ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’

डा. दासले कोरोना संक्रमणले सामान्य निमोनिया भएकाहरू घरमै चिकित्सकीय सहयोग एवं सल्लाहमा उपचाररत रहेको र ५–७ दिनमा निको भइरहेको बताए । उनका अनुसार मध्यमस्तरको निमोनिया भएकाहरूलाई निको हुन ८ देखि १० दिन लाग्ने गरेको छ । गम्भीर निमोनिया भएकामध्ये करिब ६० प्रतिशतलाई निको हुन १० देखि १२ दिन र बाँकी ४० प्रतिशतलाई ३ देखि ५ सातासम्म लाग्न सक्छ । ‘भेन्टिलेटर नचाहिने गम्भीर निमोनिया भएकामध्ये ७० देखि ८० प्रतिशतसम्म र भेन्टिलेटरमा रहेका १५ देखि २० प्रतिशतसम्म बिरामी निको भइरहेका छन्,’ डा. दासले भने ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय