शनिबार , अषोज ३०, २०७८

काठमाडौं ।

जीवनमा प्राण भर्ने शक्ति आमामा मात्र हुन्छ । भ्रूण पेटमा आएदेखि नै उसमा आमाको प्रभाव पर्ने कुरा विज्ञानले प्रमाणित गरेको छ । हरेक जीवका आमाले आफ्नो प्राण आहुति दिएर सन्तानको रक्षा गरेकी हुन्छिन् । आमाको क्षेत्राधिकार विशाल हुन्छ । त्यसैले आमाको स्थान सृष्टिमा सर्वोपरी मानिन्छ ।

आमाहरूको स्मरण आज मेरी आमाले सुनाएका कथाहरूबाट गर्दै छु । आमा राति सुत्नुअघि हामीलाई सुनकेशराको कथा सुनाउनुहुन्थ्योे, ‘एकादेशमा अति राम्री राजकुमारी थिइन् । उनको नाम सुनकेशरा थियो । उनको कपाल लामो सुनको थियो । एक दिन नुहाउँदा केश खोलामा बग्यो…।’ कथा पूरा नहुँदै म निदाउँथे ।

कुरा बुझ्ने उमेरकी भएपछि म आमालाई दिउँसो फुर्सदका वेला कथा सुनाउन अनुरोध गर्न थालेँ । आमाले सुनाउने ती कथा राति सुनाउनेभन्दा फरक हुन्थे । त्यो कथा यस्तो थियो :

सात वर्षको उमेरमा मेरो बिहे भयो । तेरो बुबा ११ वर्षको हुनुहुन्थ्यो । मलाई अन्माउँदा घरपरिवारका महिलाहरू खुब रोए । तर, मलाई रुन आएन । बाजा बजाएर डोली चढाएर लगेकाले होला मलाई रमाइलो लाग्यो । दुलहन फर्काएपछि दुई–तीन वर्षजति माइत बस्न पाइयो । त्यसपछि भने बस्ने गरी जान त्यति पाइएन । माइततिर जाने कोही मानिस भेट्यो कि म पछि लागिहाल्थेँ । तर, माइती पुग्दा ‘किन आएको ? बिहे गरेकी छोरीले यसरी आफूखुसी हिँड्नुहुन्न…’ भन्दै आमालगायतका महिलाहरूले सम्झाउँथे । ‘घर जाऊ’ भन्दा म रुवाबासी गर्र्थेँ । मलाई फकाउँदै आमाले नरिवल, कुजा (मिश्री), सिरौँला, एउटा रुमालमा पोको पारेर दिनुहुन्थ्यो । म त्यही मिश्रीमा भुलिन्थेँ र फर्कन राजी हुन्थेँ । घरमा पनि आफ्नो उमेरका दाँैतरी त थिए । तर, ‘बिहे भएकी बुहारीले खेल खेल्ने हैन । काम सिक्नुपर्छ’ भनेको सुनेपछि खेल्न डराउँथेँ ।

आमा सधैँ भन्नुहुन्थ्यो, ‘सात वर्षको उमेरमा मेरो बिहे भयो । तेरो बुबा ११ वर्षको हुनुहुन्थ्यो । मलाई अन्माउँदा घरपरिवारका महिलाहरू खुब रोएँ । तर, मलाई रुन आएन । बाजा बजाएर डोली चढाएर लगेकाले होला मलाई रमाइलो लाग्यो ।

बिहे भएपछि भातखान लुगा फुकाएर छोटो धोतीमात्र बेरेर चुलामा खान जाने चलन थियो । त्यो उमेरमा धोती बेर्न कहाँ आउनु ? अरू कसैले बेरिदिन्थे । साँझ भने जाडो महिनामा दूध हालेर पीठो मुछेको रोटी चोखो मानी लुगा नफुकाई खान दिने चलन थियो । नछुनी हुँदा पनि लुगा फुकालेर भात खानुपर्ने । पहिलोपल्ट नछुनी भएकी आइमाई निस्केपछि बाटोभरि सुनपानी छर्दै अर्की एउटी आइमाई पछिपछि हिँड्थी । यस्तोवेला कुनै लोग्ने मानिसको अनुहार देख्न–हेर्न हुन्न भन्थे । उनीहरूको बोली सुन्न पनि नहुने । ‘बाटोछोड… बाटोछोड’ भनेर जोडले बोल्दै साथमा रहेकी आइमाई कराउँदै हिँडेपछि कोही मानिस वरवर भए आफैँ टाढा जान्थे ।

हाम्रो परिवार ठूलो थियो । बिहे गरेर घर गएको निकैपछिसम्म पनि मलाई मेरो दुलाहा को हो थाहा थिएन । दुलाहा नाता के हो त्यो पनि थाहा थिएन । घरमा आफ्नै उमेरका नन्दहरू थिए । देउरानी पनि थिइन् । हामी एउटै कोठामा लस्करै सुत्थ्यौँ । बिहान पानी लिन फोलो (गाग्री) बोकेर सँगै पधेँरा जान्थ्यौँ ।

तेरो बुबा खेलेको ठाउँमा कहिलेकाहीँ म च्याउन पुग्थेँ । अनि त उनका साथीहरू बुबालाई जिस्काउँथे ‘ऊ तेरी बामनी आई’ (तेरी स्वास्नी आई) भन्दै । त्यसपछि तेरो बुबाले ‘किन आको याँ ?’ भन्दै लखेटनुहुन्थ्यो । म डराउँदै भाग्थेँ । एक दिन म उहाँले हकार्दा पनि जिस्किएर कम्मरमा हात राखी ठिंग उभिएँ । अनि त उहाँले मेरो कपाल जरै उखेलिने गरी लुछ्नुभो । म कहालिएर रुँदैँ घरतिर लागेँ ।

म १४ वर्षकी थिएँ । बुबा तेरो बुबा १८ वर्षका । तर, तेरो बुबा मसँग कहिल्यै हाँसेर बोल्नुभएको थिएन । बिहे गरेको सात वर्ष भइसकेको थियो । त्यही उमेरमा बुबा सरकारी जागिर खान आफ्नो मामाघर डोटी सिलगढी जानुभो । त्यस्तै, डेढ/दुई वर्षजति डोटीमा काम गर्नुभएपछि बुबाको सरुवा जुम्लामा भयो । छोरा कमाइ गरेर घर खर्च पठाउन सक्ने भएपछि घरपरिवारको फुर्ति बढ्ने भइहाल्यो । म काली, तेरा बुबा गोरा र राम्रा । काम गर्ने ढंग कम भएकी रे म, तेरा बुबा फुर्तिला लगनशील कामदार रे । सुसुराबाजे त छोराको अर्को बिहा गर्न भनी अर्की कन्याको चिना जुराउन ज्योतिषकहाँ पुग्नुभएछ । ‘तपाईंको ज्वाइँको अर्को बिहे गर्न कन्याको चिना जुराउन ल्याएको थिएँ है’ भनी ज्योतिषीले मेरा बाबालाई खबर गरेछन् । मेरो बाबा त हक्की स्वभावको हुनुहुन्थ्यो । बनारसका पण्डित भएकाले पैसाको पनि उनलाई त्यति दुःख थिएन । अनि त उहाँले सम्धीलाई भेटेर कुरा गर्नुभएछ, ‘बिहे भएको पनि लामै समय भइसक्यो । छोरीज्वाइँ अब ठूला भए । सधैँ टाढाटाढा बस्न राम्रो हुन्न । छोरीलाई ज्वाइँकहाँ पुर्‍याउन तपाईं जाने कि म जाऊँ सम्धी ?’ अन्तिममा बुबा नै जाने निधो भएछ । १७, १८ वर्षकी थिएँ । मेरा बाबाले मलाई जुम्ला पुर्‍याउनुभो । दुलाहाका साथ जाँदै छु भन्ने हर्ष कत्ति थिएन । घरबाट हिँडने वेला आमाबुबा, सहेली, नन्द र पँधेरासँगै जाने संगीहरूसँग टाढा हुने भएँ भन्ने सोचमा म खुब रोएकी थिएँ ।

सुदूरपश्चिमको बैतडीमा जन्मेकी मेरी आमा हीरादेवी भट्ट साक्षर हुनुहुन्थ्यो । ‘हाम्रो समयमा गाउँमा स्कुल–कलेज नै कहाँ हुन्थे र ? छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने त कसैको सोचै हुन्नथ्यो । हुनेखाने घरानियाँहरूको त कुरै फरक हो । छोरीलाई अक्षर चिनाउने पनि लाजको कुरा मान्थे गाउँघरमा । तर, हाम्रा बाबाले भने हामी तीनैवटी छोरीहरूलाई घरमै अक्षर चिनाउनुभो ।

धर्मग्रन्थका किताबहरू पढ्ने बानी भएका कारण मेरी आमामा आध्यात्मिक चेतना थियो । हरेक दिन बिहान संस्कृतका धार्मिक श्लोकहरू फलाक्नुहुन्थ्यो । योग, ध्यान पूजाआजामा उहाँको रुचि थियो । हिँडडुल गर्न नसक्ने वृद्ध अवस्थामा उहाँ खाटमा बसीबसी किताब पढ्नुहुन्थ्यो । जसले गर्दा उहाँको समय सहज रूपमा काटिने मात्र हैन जीवन र जगत्को यथार्थ बुझ्ने र सबैमा प्रेम गर्न सक्ने क्षमता बढेको देखिन्थ्यो ।

हरेक आमाहरूमा जीवन सहज बनाउने अनेक कला हुन्छ र त्यो उनले आफ्ना सन्तानमा हस्तान्तरण गरेकी हुन्छिन् । जीवन सहज बनाउन आमाहरूले सिकाएका कला आत्मसात् गरेमा जीवन रसमय हुन्छ । मलाई मेरी आमाले सबै उमेर समूहका लागी पुस्तक सबैभन्दा असल साथी हो भन्ने कुरो बुझाउनुभो । आमाहरूबाटै मैले जिउने कला पनि सिकेँ । मभित्रको साहित्यिक अनुराग आमाको ज्ञानका छिटा हुन सक्छन् ।
नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय