काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धरले पारिश्रमिकमा महिला फिल्मकर्मीले विभेद सहनु परेको बताएकी छिन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिन ‘नेपाली चलचित्रमा महिला सहभागिता’ शीर्षकमा बोल्ने क्रममा मानन्धरले पारिश्रमिकको विषय उठाएकी हुन् ।

‘यो क्षेत्रबाट महिलाहरुले जति पाउनु पर्ने थियो त्यो नभएको जस्तो लाग्छ मलाई पारिश्रमिकको हकमा । म एक अगुवा हुँ, मैले यो विषयमा बोल्नैपर्छ,’ उनले भनिन्, ‘टपमा रहेका २/४ जनाको नाम छोडेर बाँकी महिला फिल्मकर्मीले पारिश्रमिकमा पुरुष सहकर्मीको तुलनामा एकदमै कम पारिश्रमिक पाउने गरेक छन् ।’

उनले पुरुष कलाकार बराबरको पारिश्रमिक महिला कलाकारले पाउनुपर्ने धारणा व्यक्त गरिन् । ‘पारिश्रमिकको कुरामा अलिकति चित्त दुखाइ छ मेरो चलचित्र फिल्मकर्मीसँग । यदि महिलाले पुरुष सरहले मिहेनत गरेको छ भने उसको पनि पारिश्रमिक उसको जतिकै हुनुपर्छ,’ उनले भनिन् ।

छलफलकै क्रममा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले भने आफूले पारिश्रमिकमा विभेद सहन नपरेको बताइन् । ‘एउटा फिल्म सफल हुनुमा एउटा पुरुषको जति योगदान हुन्छ महिलाको पनि उस्तै हुन्छ जस्तो लाग्छ मलाई । पारिश्रमिकको कुरामा त पितृसतात्मक समाजकै कुरा आउँछ । पहिला पुरुषले १० लाख पाउँदा महिलाले २ लाख माग्दा पूरै महाभारत मच्चिन्थ्यो,’ उनले भनिन्, ‘मैले पारिश्रमिकका हकमा त्यति विभेद सहनु परेन । पुरुष सम्पादकले पाउनु भएको पारिश्रमिक नै मैले पाएँ ।’

प्राविधिक क्षेत्रमा एक महिलाले आफ्नो क्षमता प्रमाणित गर्न भने पुरुषले भन्दा धेरै मिहेनत गर्नु परेको उनको अनुभव छ । ‘म एउटा फिल्मको द्वन्द्व सम्पादन गर्न लागेको थिएँ । एकजना द्वन्द्व निर्देशकले अर्को सम्पादकलाई ‘रक्षाले गर्न सक्दैन, तिमी नै गर’ भन्नुभएको थियो । तर म पछि हटिन, आफ्नो प्रोजेक्ट सकेरै देखाएँ,’ उनले भनिन्, ‘प्राविधिक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ ।’

पछिल्लो समय पारिश्रमिकको सवालमा महिला कलाकारले आवाज उठान थालेको बताउँछिन् निर्देशक दीपाश्री निरौला । ‘पारिश्रमिकको सवालमा अहिले महिला कलाकारले पनि बोलिरहेका हुन्छन् । महिला कालकारले यत्ति पारिश्रमिक लिए भनेर समाचार पनि आउँछ,’ उनले भनिन्, ‘पारिश्रमिक आफ्नो ठाउँमा छ । तर पहिला त काम पाउनु नै ठूलो कुरा थियो । अहिले काम/पारिश्रमिकमा चित्त बुझेन भनेर महिला फिल्मकर्मीले फिल्म छोडेर पनि हिँडेका छन् ।’ पारिश्रमिकको सवालमा पितृसतात्मक सोचले पनि भूमिका निभाएको दीपाश्री तर्क गर्छिन् ।

फिल्म क्षेत्रमा महिला फिल्मकर्मीको योगदानको कदर कत्तिको हुन्छ ? छलफलकै क्रममा सहजकर्ता सम्झना उप्रेतीले प्रश्न गरिन् । दीपाश्रीले यो क्षेत्रमा मरेपछि नै चर्चा गर्ने भएकाले आफ्नो कर्ममा निरन्तर लागिरहन महिला फिल्मकर्मीलाई उत्साह दिइन् । उनले भनिन्, ‘हामीले त गर्ने कामको निरन्तरता दिइरहने हो । समाजले कति स्याबास्सी दिन्छन् भन्ने कुरा त मरेपछि वाहवाह न गर्ने हो ।’

यो क्षेत्रमा टिक्न महिला र पुरुष दुवैका लागि चुनौतीपुर्ण रहेको बताउँछिन् करिश्मा । कलाकारले आफू टिक्नलाई केही नयाँ कुरा पस्कन सक्नुपर्ने उनको धारणा छ । निर्देशक निरौला यी चुनौतीबीच अर्को छुट्टै मज्जा रहेको बताउँछिन् । ‘एउटा फिल्म गरिसकेपछि राम्रो फिल्म दिनलाई चुनौती हुन्छ नै । तर सबभन्दा कुरा त म केका लागि काम गर्छु भन्ने सोच्छु । आत्मासन्तुष्टि या त दर्शकको लागि, ‘उनले भनिन्,’ पुरुषसँग काँधमा काँध मिलाउँदै काम गर्दै सफलतातिर अगाडि बढ्नु चुनौतीपुर्ण छ । यो चुनौतीलाई निरन्तरता दियो भने मज्जा पनि आउँछ ।’

अध्यक्ष राणाले भने लगावसहित आफ्नो काममा मन लगाए चुनौती पार गर्न सकिने बताइन् । ‘जुन क्षेत्रमा पनि टिकिरहन गाह्रो छ नै । बाहिरबाट ग्ल्यामर देखिए पनि योभित्र कति मिहेनत लाग्छ हामीलाई नै थाहा छ । दशैं तिहार भन्न पाइँदैन, रातदिन भन्न पाइँदैन, बिरामी छु भन्न पाइँदैन । तपाईंको कामप्रति लगाव छ भने सजिलै चुनौती पार गर्न सकिन्छ जस्तो लाग्छ मलाई,’ उनले भनिन् ।

पछिल्लो समय फिल्म क्षेत्रमा महिलाको सहभागिता उत्साहपूर्ण रहेको बताउँछिन् करिश्मा र दीपाश्री । अध्यक्ष राणा भने प्राविधिक क्षेत्रतर्फ औंलामा गन्न सकिने महिला फिल्मकर्मी रहेको बताउँछिन् ।

छलफलका क्रममा अभिनेत्री मानन्धरले महिला केन्द्रित फिल्मका नाममा पुरुषलाई नै बलवान देखाइने काम भएको बताइन् । ‘हाम्रो फिल्म हिन्दी फिल्मबाट प्रभावित छ । यसमा दुईमत छैन । मैले कति त कपी पेस्ट रोलहरु गरें । ती फिल्मले समाजलाई कस्तो दर्शन दियो मलाई थाहा छैन,’ उनले भनिन्, ‘माइतीघर नुमाफुङलगायतका केही फिल्मबाहेकका अन्य फिल्म महिलाकेन्द्रित भनिएता पनि महिलालाई पुरुष पात्रद्वारा नै रक्षा गर्नुपर्ने फिल्महरु बने । राजेश हमालको समयमा म आफैंले ती भूमिका निभाएँ । तर पछि रेखा थापाले त्यो कुरालाई बदलिदिनुभयो ।’

महिलालाई फिल्ममा प्रभावकारी ढंगले प्रस्तुत गरिएन भन्ने सवालमा भने कलाकारसमेत रहेकी दीपाश्रीले फरक मत दिइन् । ‘मलाई विशेषगरी महिला निर्देशक भएर महिलालाई नै नराम्रो देखायो भन्ने आरोपहरु आइरहेका हुन्छन् । बलिउडको तुलनामा हाम्रोमा महिला केन्द्रित फिल्महरु बनिरहेको छ । महिलालाई प्रभावकारी भूमिका दिइएको फिल्म यथेस्ट छैनन् । तर महिलालाई ठिंग उभ्याएर फिल्म चलाउन गाह्रो छ । समाजमा महिलाको चित्रण कस्तो छ त्यही कुरा हामीले फिल्ममा देखाउने हो ।’

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय