बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकालीन विवादलाई लिएर प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरे।

थप २७ जना माधव पक्षका सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोधेका छन्। माधव नेपाल पक्षविना पनि एमाले चलाउँछु भनेर हिँडेका ओली दुई महिनामै गलेका छन्।

विश्वासको मत लिन तीन दिन बाँकी छँदै माधव नेपाल पक्षविना एमाले चलाउन सकिन्न र एमाले रहँदैन भन्ने महसुस भएपछि ओली अहिले माधव समूहलाई फकाउन तारन्तार छलफल र बैठकमा जुटेका छन्। कतिसम्म भने आफूले नसकेपछि उनले राष्ट्रपतिलाई पनि परिचालन गरेका छन्।

विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ दिनदिनै माधव पक्षका नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसालसँग संवादमा छन्। ओली आफैंले पनि बिहीबार राति माधव नेपाललाई टेलिफोनमा कुराकानी गरेको बताइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन आग्रह गर्दा नेता नेपालले २०७५ जेठ २ कै अवस्थामा फर्के मात्र त्यो सम्भव भएको नत्र जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताएपछि राति नै ओलीले माधव नेपाललाई फोनमा कुराकानी गरेको बताइएको छ।

स्रोतका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन्। तर, एकलौटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेको माग सम्बोधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन्।

जसका कारण ठोस सहमति भइसकेको छैन। आज साँझसम्म एउटा सहमति हुने बुझिएको छ। माधव पक्षलाई कारबाही गर्दा आफ्नो प्रधानमन्त्री पद नै गुम्ने भएपछि ओली फतक्कै गलेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय