बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन (वैशाख २७) नजिकिँदै जाँदा सत्तारुढ नेकपा एमालेभित्र तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षबीच आन्तरिक छलफल बाक्लिएपनि दुई समूहबीचको दुरी घटेको छैन ।

दुई दिनयताका घटनाक्रम विश्लेषण गर्दा एमाले आपसमा नमिल्ने बाटोतिरै लम्किएको देखिन्छ । दोस्रो पुस्ताका नेताहरुबीच आन्तरिक संवाद तीव्र भएको छ । तर, यो संवादले ठोस निकास दिन सकेको छैन । केपी ओली र माधव नेपाल दुबै पक्षका नेताहरु आ–आफ्नो बटमलाइनमा दृढ देखिएकाले एमाले नेताहरुको सम्वाद सकारात्मक हुन नसकेको हो ।

राष्ट्रपतिलाई भेटेको भोलिपल्ट शुक्रबार बरिष्ठ नेता माधवकुमार नेपालले भ्रममा नपर्न आग्रह गर्दै भनेका छन्, ‘अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ र ०७५ जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।’
तीन दिनयता नेकपा एमालेभित्र आन्तरिक संवाद तीव्र बनेको छ । वैशाखको पहिलो साता होटल मेरियटमा केपी ओलीसँग दुई दिन वार्ता गरेर निस्केपछि माधव कुमार नेपालले जनकपुर पुगेर भनेका थिए, बालुवाटारको बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रनेवाला छैनन् ।

त्यसयता ओली र नेपालबीच एकपटक पनि वार्ता भएको छैन । तर, दोस्रो तहका नेताहरु चाहिँ ‘बालुवा पेलेर तेल निकाल्ने’ अभियानमा जुटिरहेका छन् ।

शुक्रबार मात्रै बालुवाटारमा दुई पक्षका ६ भाइ नेताहरु वार्तामा जुटेका थिए । ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमालसँग माधव पक्षका घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले घण्टौँ कुराकानी गरेका थिए । तर, उनीहरुको छलफलबाट कुनै निष्कर्ष निस्किएन । निश्कर्ष नै निस्किए पनि प्रधानमन्त्री ओलीले त्यसलाई नमान्ने अघिल्लो मेरियट होटलबाटै स्पष्ट पारिसकेको एमाले नेताहरु बताउँछन् ।

अहिले पनि प्रधानमन्त्री ओली पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार नरहेको र माधव नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिन सक्ने सम्भावना पनि यथावतै रहेको एमाले स्रोतको भनाइ छ । ओली पक्षका नेताहरुले बैशाख २७ मा माधव पक्षका नेताबाट विश्वासको मत प्राप्त गर्न मात्रै बहाना खोजिरहेको माधव नेपालनिकट नेताहरुको बुझाइ छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय