मंगलबार , चैत्र ६, २०८०

काठमाडौं ।

सानो हुँदा लाग्ने एउटा ठूलो कुरा, ठूलो हुनु। कत्रो ठूलो? काका जत्रै ठूलो, बुबा जत्रै अग्लो, अनि मामा जस्तै मोटो। ठूलो हुन मनलाग्नुको खासै धेरै ठूलो कारणहरु भने थिएनन्।

बसमा सधैँ अरुको काखमा बस्नुपर्ने, चकलेट किन्नलाई सधैँ अरुलाई गुहार माग्नुपर्ने, आफूले चाहेको ठाँउमा जान नपाउने, कपाल काट्ने ठाँउमा आफ्नो पालो सधैँ अन्तिममा आउने आदि इत्यादि।

ठूलो भएपछि न त अरुले फुच्चे भनेर हेप्छन् न त विद्यालय जानु पर्छ, न त गृहकार्य गर्नुपर्छ। ‘आहा!’ ठूलो हुन साँच्चीकै रमाइलो होला।

सानो हुँदाको रहरले हो या सामयको लहरले म ठूलो हुँदै गएँ, उमेरले सायद दिमागले पनि। ठूलो हुने क्रममा थुप्रै लडाइँहरु लड्नु पर्ने रहेछ, मेरो जीवनको पहिलो लडाइँ थियो दायाँ चप्पललाई दायाँ गोडामा र बायाँ चप्पललाई बायाँ गोडामा सफलतापूर्वक लगाउनु।

कुनै बेलाका लागि जीवनको ठूलो सफलता थियो त्यो। सफलता हासिल गर्न विस्तारै सिकियो या भनै सिकाइयो समाज, परिवार र आफै भित्रबाट पनि। पसलमा गएर सामान किन्नसक्नु विद्यालयका लागि आफै तयार हुन सक्नु, जुत्ताको तुना आफै बाध्न सक्नु, सानो बेलाका ठूलो सफलता हुन् हामी धेरैका लागि।

सफलतामा रुम्दै गर्दा विस्तारै जिम्मेवारीले पनि पछ्याउन थालेको पत्तो भएन। आफ्नो काम आफै गर्न सिक्दासिक्दै आफन्त र परिवारको हेरविचार गर्न सिकेको पत्तो भएन।

आमालाई भान्साका लागि आवश्यक ग्याँस, चामल ,सब्जी आदि लिनलाई पसल जानू, बाबाको कार्यालयको सामान मिलाएर राखिदिनु, हजुरबुबाको औषधि किन्न र हजुरआमालाई अस्पताल लान कहिले रहरले त कहिले कहरे सिकायो।

सानो फुच्चे केटाबाट २० वर्षको उमेरमा उक्लिएर यसो नियाल्दा मैले आफ्नो कामबाहेक आफन्तको हेरविचार गर्न पनि सिकिसकेको थिएँ कति त रहरले, त कति बाध्यताले। यस्तै रहर र बाध्यताको बीचमा फुच्चेबाट केटा, केटाबाट भाइ, भाइबाट दाइ अनि दाइबाट अंकल बन्नलाई धेरै समय कुर्नु परेको जस्तो लागेन।

जब उमेरले २० को अङ्कललाई पछाडि पार्दै २५ तिर अगाडि सर्न थाल्यो, जीवनको आनौठौँ अनुभवहरु हुन सुरु भयो। अब कुनै बेलाका रहरहरु बाध्यतामा, बाध्यताहरु जिम्मेवारीमा र जिम्मेवारीहरु चुनौतीको रुपमा अगाडि आउन थाले।

अब सफलताको परिभाषा फुच्चे उमेरको सफलताको परिभाषाबाट परिमार्जित भैसकेको थियो, चुनौतीलाई चिर्न सक्नु अबको सफलता थियो। उमेर २५ कै हाराहारीमा यो कुराको पनि बोध हुनेरहछ, चुनौती सधैँ र सबै चिर्न नसकिने रहेछ।

तर यही जीवनका चिर्न नसकेका चुनौतीका चिराहरु, जीवनको सुन्दर र कोमल अनुभवका रुपमा जीवनलाई ऊर्जावान बनाउने रहेछ। जीवनका प्रत्येक साना-ठूला चिराहरु जीवनको भोगाई र अनुभव भएर बस्ने रहेछन् जसले जीवनको कुनै उमेरको उचाइमा पुगेर तल हेर्दा ओठमा मुस्कान छरेर जाँदा रहेछन्।

जीवनको लागि २५ वर्षको अनुभव निकै कम हुँदो हो। सायद त्यही भएर २५ को उमेरमा जीवनले लिने धेरै परीक्षामा अनुत्तिण हुने गछौं हामी। २० वर्ष उमेरलाई पछाडि छाड्दै २५ को उमेरले हामीलाई स्वागत गर्दै गर्दा विद्यार्थी जीवनलाई भने हामीमध्ये धेरैले विट मारिसकेको हुन्छौं। धेरैको रहरले त कतिको बाध्यताले।

औपचारिक शिक्षाको विषयसूचीमा कहिल्यै अट्न नसकेको व्यवहारिक शिक्षाको सुरुआती अवस्था हो, उमेर २५। व्यक्तिगत खर्चका लागि परिवारमा आकर्षित हुनु पिढादाई हुने रहेछ उमेर २५ मा।

विद्यार्थी जीवन सक्याएर व्यवसायिक जीवन भर्खरै सुरु गरेका वा गर्न खोजेका धेरै २५ वर्षे युवाका लागि आर्थिक व्यवस्थापन ठूलो चुनौतीपूर्ण हुने रहेछ। अहिलेसम्म परिवारको छत्र छायाँमा हुर्केको युवक अब परिवार र समाजको टेको बन्ने बेला आएको कुरा बोध हुँदा मानसिकरुपमा ठूलो जिम्मेवारी काँधमा थपिएको महशुस हुनु अस्वभाविक पक्कै होइन।

उमेरले बुढेसकाललाई पछयाउँदै गरेका बाबु-आमाका कापिरहेको गोडाहरुमा २५ वर्ष सन्तानले पक्कैपनि दरिलो टेकाको रुपमा आडदिन्छन् भन्ने कुराको आशा बाबु-आमाको आँखामा प्रष्ट देख्न सकिन्छ २५ वर्षीय आँखाबाट।

देखिँदा सुन्दर देखिने उमेर २५ जीवनको भने संक्रमणकाल होला सायद आफ्नो बाँकी जीवन कुन दिशातर्फ अघि बढाउने भन्ने कुरा यही संक्रमणकालीन अवस्थामै गर्नु पर्छ हामी धेरैले। उमेर २५ को अझै रोचक कुरा के छ भने अस्थाई जीवनको स्थायित्व खोजिमा दैडिरहेका हुन्छन् यस उमेर समूहका अधिकांश युवा।

दोष परिवारको हो, समाजको हो या, स्वयम आफ्नो, यो त भन्न सकिन्न तर हाम्रो जस्तो देशकाअधिकांश २५ वर्षीय पुस्ता आफ्नो भविष्यप्रति पूर्ण रुपमा अनविज्ञ हुन्छन्।

भविष्यको अनविज्ञतालाई सिरोपर गर्दै व्यवहारिक कठिनाइँलाई छिचोल्न सक्नु नै उमेर २५ को सुन्दर पाटो होला सायद। भविष्यको अनिश्चितता एउटा पाटो भएपनि देशप्रेमको भावना मुटुको कहीँकतै नदेखिने पाराले गडेको हुन्छ उमेर २५ सम्म आइपुग्दा।

देशको सीमा रक्षाका लागि देखिने भिड होस् या अन्तर्राष्ट्रिय खेलमा देखिने जमात, या त इनफ इज इनफको ताँतीमा २५ वर्ष हराहारीकै युवाको वर्चश्व धेरै हुने गर्दछ। पूर्खाले रचेका इतिहासका कुराले होस् या राष्ट्रप्रेमी गीतले, या त समाचारमा सुनिने देशविकासका कुराले कान टाठो, रौं ठाडा र छाती फराकिला नहुने २५ वर्ष युवाकमै हुन्छन्।

तर १० हजारको जागिरको लागि १० औं पटक अन्तरवार्तामा अनुत्तिर्ण भएपछि भित्र गडेको देश प्रेमका भावना दबिँदै जाने रहेछ। राहदानीको कार्यालयको गेटमा होस् या लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन पढ्न गोरखापत्र लिने भिडमा उमेर २५ का युवौ धेरै हुन्छन्।

छुट्दै जाने कुराहरुको सम्झना र माया धेरै हुने रहेछ। विद्यालयका कोठा, शिक्षक, साथिभाइ, गुच्चा, चुङ्गी, देउसी भैलो सम्झँदामात्र पनि प्रेमले मन हर्षित हुन्छ। शिक्षकको गाली, विद्यालयको आँगन र आँगनमा गरेको त्यो चर्तिकला सम्झँदा मात्र पनि मन फुरुंग हुन्छ उमेर २५ को चौतारीमा पुगेपछि।

उमेर २५ योवनको मध्यविन्दु हो वा योवनको पूर्वाध, भन्न त गाह्रो होला तर योवनको सुरुआती दिनको भुललाई राम्रोसँग केलाउन र निफन्न सकिने उमेर पक्कै हो।

प्रेम र आर्कषण फरक कुरा हुन् भन्ने जान्न, समयको लहरले लगभग २५ कै हाराहारीमा सिकाउँदो रहेछ। २५ वर्षको वयस्क चौतारीमा बसेर १९/२० वर्षको उमेरमा भएका आकर्षणलाई प्रेम सम्झेर गरेका भूलहरु सम्झँदा मनमा काउकुती र ओठमा मुस्कान एकैसाथ आउने रहेछ।

साधारण कुराकानीकै क्रममा मैले दिदीलाई प्रेम र आकर्षणको फरक सोधेको थिएँ।

‘प्रेम अपरिवर्तनशील कुरा हो र आकर्षण क्षणिक हो, यो समय अनुसार परिर्वतन हुन सक्दछ’ उहाँको यो उत्तरले म निशब्द बनेको थिएँ।

मानिसको उमेर र खोलाको पानी उस्तै हुन बहाबको हिसाबले दुवै अविरल छन् अनि प्राकृतिक पनि। खोलाको पानीले जति दूरी तय गर्यो, त्यति नै कञ्चनतामा प्राप्त गर्दछ। सायद मानिसको उमेरले पनि दूरी तय गर्दै जाँदा मानसिक कञ्चनता र व्यवहारिक उदारता प्राप्त गर्दछ होला।

उमेर २५ लाई टेकेर हेर्दा अब म भन्न सक्छु, जीवन एक अविरल प्रक्रिया हो। जीवनको प्रक्रियामा सिकेका कुराहरुलाई नै जीवन जिउने औजार बनाउन सकेमा उमेर २५ को संक्रमणकाल सजिलै चिर्न सकिँदो हो। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय