मंगलबार , चैत्र ६, २०८०

काठमाडौं ।

अहिले सर्वत्र चासोको विषय एउटै बनेको छ, कोरानाको नयाँ प्रका।, बढ्दो संक्रमित संख्या, अस्पतालमा बेडको हाहाकार, अक्सिजन र स्वास्थ्य जनशक्तिको कमी।

यो अवस्था आज अकस्मात आइपुगेको होइन, एक वर्षअघिदेखि कोराना बाजा बजाएर हाम्रो आसपास नाचिरहेको थियो। समयक्रमसँगै खोप बन्यो, संक्रमित संख्या धेरै प्रकाशमा आएनन् र सबैजना सहज जीवनयापनमा साविक झैं व्यवहार गर्न थाले। जुलुस, सभा, मेला, धार्मिक कार्य, सामाजिक पर्व देख्दा यस्तो लाग्यो अब कोराना त मासिइसक्यो।

भारतीय प्रधानमन्त्री मोदीको एउटा सम्मेलनमा भनेको भाषण अहिले भाइरल छ। जसमा भनिएको छ, ‘भारतले गरेको कोरोनाको सफल व्यवस्थापन विश्वकै लागि अनुकरणीय छ।’

हाल भारतको स्थिति के छ, सर्वविदितै छ। राम्रो हुनु र राम्रो देखाइनु फरक कुरा हुन्। वास्तवमा स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको होइन, उदांगो भएको हो। अक्सिजन लगाएर सडकमा बसेकी वृद्धा, एम्बुलेन्स ट्याक्सीमा पालो कुर्दाकुर्दै प्राण त्यागेका बिरामी, आफन्त बचाउन याचना गरिरहेका आफन्त, यी सबैले देशको स्वास्थ्य प्रणालीको रूप देखाउँछन्।

नेपालको अवस्था पनि त्यस्तै उन्मुख छ। भारतका जस्ता दृश्य र तथ्यांकहरू अब हाम्रा समाचारमा पनि दिनहुँ बढिरहेका छन्। एक वर्षअघि अमेरिकामा कोरोना संख्या उच्च हुँदा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए, ‘न्यूयोर्कले त सम्हाल्न सकेन भने हाम्रो त स्रोत साधन झनै कमी छ।’

त्यो अन्तर्वार्ता धेरैले सुने कि सुनेनन्, हामीसँग सिक्ने समय चाहिँ धेरै थियो। के कति सिकियो र स्वास्थ्य प्रणालीमा कति सुधार भयो? आमजनतामा अहिले स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिले सातो गएको छ, ‘अस्पतालमा अब बेड दिन नसकिने भएको छ।’

यसको अर्थ हो अब हामी केही गर्न सक्दैनौं।

सरकारले हात उठायो भनेर आतंकित मानिसहरू घरमा अक्सिजन सिलिन्डर थुपार्न थालिसके।

हामीसँग स्रोत र साधन छैन, कसरी भन्न सक्छौं?

मेरो करिअरको सुरूआती दिनमा डा. जागेश्वर गौतमसँग काम गर्ने संयोग जुरेको थियो। जब चितवनमा भाइरल ज्वरो फैलिन्थ्यो, उहाँ आफैं आराम गर्ने रूममा बिरामी भर्ना गर्न बाध्य हुन्थ्यौं। कुरुवा बस्ने बेन्चमा बिरामी राख्थ्यौं। झ्यालका डन्डीमा झुन्ड्याएर भए पनि बिरामीलाई सलाइन चढाउँथ्यौं।

शल्यक्रिया गरेका बिरामी छिटो डिस्चार्ज गरेर भए पनि नयाँ सिकिस्त बिरामीलाई लिन्थ्यौं। अस्पताल आइसकेको बिरामी फर्काउन हुन्न भन्ने मान्यताका साथ सबैले काम गर्थ्यौं। अझ भरतपुर सरकारी अस्पतालमा बेड बाहेक म्याट्रेसमा पनि उत्तिकै संख्यामा, बालरोगमा तथा अन्य विभागमा पनि बिरामी हुन्थे।

शक्यक्रिया कक्षमा अनगन्ती शल्यक्रिया गरिसके पनि नमूना औषधि, सामग्री, प्रयोग गरेरै पनि अति विपन्न बिरामीको हड्डी जोडिरहनुहुन्थ्यो डाक्टरहरू। छ घन्टाको ड्युटीमा २४/२५ वटा सिजरियन भए पनि कसैलाई फिर्ता पठाउने अवधारणा त्यहाँ हुन्थेन। सबैले आ–आफ्नो ठाउँबाट सेवा दिइरहेका हुन्थ्यौं। संक्रामक रोग, एचआइभी, हेपाटाइटिस, सीमित पिपिई प्रयोग गरेर सेवा दिँदा हुने जोखिम त्यो बेला पनि स्वास्थ्यकर्मीले सामना गर्थे।

त्यसयता करिब १२/१३ वर्ष बितिसकेको छ। देशले जनआन्दोलन, गणतन्त्र, भुइँचालो, संघीयता, नाकाबन्दी, विभिन्न दलका सरकार देखिसकेको छ। देशका अरू समस्या त छँदै छन्। केही सुधार भए होलान्, केही राम्रा प्रतिवेदन बन्ने काम, केही सुधारिएका तथ्यांक पनि बने होलान् तर नर्सिङ क्षेत्रको हालत उही नै रह्यो।

नर्सहरूको उत्पादनसँगै निराशाको उत्पादन पनि झन् धेरै बढ्यो। मसँगै पढेका ४५ जनामध्ये अब नेपालमा ३ देखि ४ जना पनि भेट्न मुश्किल छ। लगभग सबै ब्याचको अवस्था यही हो।

के नेपालमा नर्सिङ जनशक्ति आवश्यकता नभएरै यस्तो भएको हो त?

अवश्य होइन।

नेपालमा सामान्य झाडापखालाले बर्सेनि सयौं शिशुको ज्यान गुम्छ, शिशु एवं मातृ मृत्युदर विश्वकै उच्चमध्येको छ। सरूवा मात्र नभई क्यान्सर जस्तो असाध्य रोगको वृद्धि उच्च छ। यस्तो देशमा नर्सिङजस्ता दक्ष जनशक्ति हजारौंको संख्यामा बेरोजगार छन् या विदेशिएका छन्।

पोहोर जब कोरानाका बिरामी देखिन थाले, एउटा सरकारी सूचना आयो—स्वयंसेवक बन्न आह्वान गर्दै।

अर्को जागिर खुल्यो—३ महिना करारमा कोभिड वार्ड काम गर्न, केही नर्स, १४ हजार तलब।

मानौं तीन महिनापछि कोभिड महामारी छुमन्तर भएर सकिन्छ। त्यसपछि उनीहरूको के काम!

त्यही सूचनाको तल अर्को विज्ञापन देखेँ। कुनै विदेशी नर्स लिने संस्थाको त्यो विज्ञापनमा अमेरिकामा पिआरसहित प्रतिमहिना ७ देखि १० हजार डलर (नेपाली ८ देखि १२ लाख) आधारभूत तलबसहितका सुविधा थिए।

युरोप, अमेरिका तथा अन्य धेरै देशले धमाधम परीक्षा लिएर नर्स लैजाने क्रम बढ्दो छ। रोजगारीको सूचना हेर्न लालायित जुनियर नर्सहरू जब नेपालको भ्याकेन्सी हेर्छन्, देख्छन्ः छोटो समयको करार वा ज्यालादारी। न जोखिम भत्ताको कुरा न, अन्य सुविधा।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकिसकेको छ। तर ८/१० हजार तलब भनेर सूचना दिन हिच्किचाउँदैनन् हाइरिङ एजेन्सीहरू!

एकजना डाक्टरले आफूले काम गर्दाको जोखिम भत्ता माइतीघरमा एक्लै एक महिना धर्ना बसेर बल्लबल्ल पाए, जुन मिडियामा निकै आएको थियो। डाक्टरको त यस्तो अवस्था छ भने नर्सिङ त झन् पहिलेदेखि श्रम शोषणको चपेटामा परिरहेको थियो। सकेसम्म स्वयंसेवी नभए न्यून ज्यालामा केही महिना करारमा त्यसपछि फेरि अनिश्चित भविष्य।

ती जागिरका विज्ञापनमा उनीहरूका साथै सबै तहका नर्सिङ जनशक्तिको तीव्र असन्तुष्टि छ। नर्सहरू जो भर्खर आमाबाबुको सम्पत्ति सकाएर ५/७ वर्ष लगाएर कठिन कोर्स पूरा गरेर लाइसेन्स लिएर बसेका छन्, उनीहरू त्यस्ता विज्ञापन हेरेर आगो ओकलिरहेका छन्। सँगै वैदेशिक रोजगारका आकर्षक तलब र सुविधायुक्त विज्ञापन पनि आइरहेका छन्। किनकी कोभिड त संसारभर फैलिएको छ।

आफ्नो देशमा उपेक्षित भए पनि उनीहरूसँग विकल्प जति पनि छन्। उकुसमुकुस हुने पिपिई लगाएर, दौडधूप गर्दै, खानपिन पनि नगरी, लामो समय परिवार पनि नभेटी, मुख्य कुरा आफ्नै स्वास्थ्य जोखिममा पारेर काम गर्नेहरूले यस्तो अवस्थामा क्रिटिकल केयर कसरी र कतिन्जेल काम गर्लान्?

हरेक स्थानीय तहमा कम्तीमा पनि एक जना सामुदायिक नर्सिङ अधिकृत चाहिन्छ। तर यहाँ त प्रदेशभरिका लागि एक जना सामुदायिक नर्सिङ अधिकृतको विज्ञापन खुल्छ। के नर्सिङ अधिकृत भनेको मुख्यमन्त्री जस्तो एक जना मात्रै भए पुग्ने पद हो र? यस्तोमा कसरी सुधार हुन सक्ला स्वास्थ्य प्रवर्द्धन?

भएका स्वास्थ्यकर्मी असन्तुष्ट छन्। जनशक्ति थप्न पर्दा असाध्यै कन्जुस्याइँ छ। पाउनुपर्ने भत्ता सजिलै दिइएको छैन। काम नगर्नेले भत्ता पाउने, सेवा गर्नेले डेरामा बस्न पनि नपाउने जस्ता अन्यायपूर्ण अवस्था छ। यस्तो दूर्भाग्य तुरून्त रोकिएन भने इतिहासमा हामीले यो समयको धेरै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ।

जन्मिने बित्तिकैको नवजात शिशुलाई जीवनको पहिलो सास फेर्न मद्दत गर्ने पनि नर्स हुन्। मानव जीवनको अन्तिम पलमा सहज मृत्युका लागि साथ दिने पनि नर्स हुन्। नर्स त्यत्तिकै बनिन्न। धेरै मेहनत गरेर शिक्षा र सीप आर्जन गरेका हुन्छन्। उनीहरूलाई देशको सेवामा लगाएर एउटा स्वस्थ समाज निर्माण गरेर हामी पनि विकसित राष्ट्र झैं बन्न केले छेकेको छ?

अझै सबै बर्बाद भइसकेको छैन। सरकारले स्वास्थ्य संकटकाल घोषणा गरी सम्पूर्ण स्रोत, साधन, दक्ष, अर्धदक्ष, जनशक्ति परिचालन गरी कोभिड नियन्त्रण लिन सक्छ। भेन्टिलेटर किनेर मात्र हुँदैन, त्यसलाई प्रयोग गर्न सक्ने स्वास्थ्यकर्मी पनि खटाउनुपर्छ।

पिपिई पर्याप्त उपलब्ध हुनुपर्छ र मित्यव्यायी हुने गरी ड्युटी सिफ्ट गर्नुपर्छ। बेड कम भए सार्वजनिक भवन, हलहरू प्रयोगमा ल्याउनुपर्छ। तीव्र रूपमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनुपर्छ। औषधि आपूर्तिको निरन्तरता सुनिश्चित गर्नुपर्छ। गैर-स्वास्थ्यकर्मीलाई पनि अस्पताल वा समुदायमा आवश्यकता अनुसार स्वास्थ्यकर्मीको सहयोगी बनाउन सकिन्छ। स्वास्थ्यका विद्यार्थीलाई पनि सुपेरिवेक्षण गरी काम लगाउन सकिन्छ।

अन्त्यमा नर्स दिदीबहिनीहरू, जतिसुकै पीडा र असन्तुष्टि भए पनि हाम्रो काम ‘पेसा’ भन्दा माथि हो। यो मानवीय संकटको घडी हो। यतिन्जेल हामीले भोगेको गलत व्यवस्थापनको नमिठो अनुभवको परिणाम निर्दोष जनताले भोग्न कदापी हुँदैन।

त्यसैले सबैले आ–आफ्नो ठाउँबाट यो विकराल परिस्थितिमा आफ्नो सीप र इमानदारीले योगदान दिऊँ। अरु केही नभए पनि फ्लोरेन्स नाइटिंगलवाला अनुभव सोचेर आफूलाई ऊर्जावान् बनाऊँ। यतिखेर उत्तरदायित्वबाट नपन्छिऊँ। हामीलाई भएको अन्यायको हिसाब पछि गर्दै गरौंला।
सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय