शुक्रबार , चैत्र १६, २०८०

बागलुङ

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै विवाह र भोज दैनिक भइरहँदा जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

अघिल्लो सातासम्म दुई अंकमा सीमित भएको कोरोना संक्रमण दर अहिले ३ सय हाराहारीमा पुगिसकेको छ। संक्रमण फैलिनुमा नागरिकको लापरवाही र त्यसमा पनि अटेर गरेर आयोजना गरिने भोज मुख्य कारण रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

‘जिल्लामा कोरोना संक्रमण अस्वभाविक रुपमा बढ्नुमा विवाह लगायतका संस्कारजन्य क्रियाकलापमा नागरिकको बढी लापरवाही देखिन्छ,’ उनले भने, ‘लकडाउन छ, भिडभाड नगरौं, विवाहमा ७ जना मात्रै जानुस् भनेर निर्देशनसमेत गरेका छौँ तर अझै पनि ३, ४ वटा बस जीप लिएर बाजागाजासहित जन्ती लिएर विवाह गर्न छोडेका छैनन्।’

पटकपटक अनुरोध गर्दासमेत बेवास्ता गरेपछि प्रहरीले बुधवार काठेखोला गाउँपालिका १ खहरेका ३ वटा गाडीमा जन्त हिँडेकालाई दुई वटा गाडी नियन्त्रणसहित जरिवाना समेत गरिएको थियो।

शुक्रबार मात्रै जिल्लाको बडिगाडमा विवाह समारोहमा सरिक भएका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको वडा अध्यक्ष प्रेम गलामीले जानकारी दिए। विवाह समारोहमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको उनले बताए।

गाउँमा कोरोना संक्रमणको लक्षण सहितका शंकास्पद बिरामी बढ्न थालेपछि बडिगाड गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो। विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट करिब चार सयजना सहभागी भएको स्थानीय बताउँछन्।

विवाहमा सहभागी ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनमा पहिलेदेखि नै दमको समस्या थियो।

‘अहिले संक्रमित भएका अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्,’ अध्यक्ष गलामीले भने, ‘पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नु भएको छ तर अवस्था सबैको समान्य छ।’

गाउँ कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ। संक्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणिा कँडेलले बताए।

‘गाउँपालिकाको निर्देशन विपरित गाउँमा बढी भिडभाड हुने र अन्य लापरवाही सहित सार्वजनिक क्रियाकलाप आयोजना गर्दा संक्रमण दर बढेको छ, गाउँमा अरु धेरै मान्छे बिरामी भएका छन्,’ स्वास्थ्य शाखा प्रमुख कँडेलले भने, ‘शंकास्पद बिरामी भएको पाइएपछि हामीले परीक्षण गरेका हौँ, परीक्षण गरेका मध्ये धेरैलाई संक्रमण पुष्टि भएपछि कोरोना गाउँभर फैलिएका शंका छ।’

कोरोना जस्तो संवेदनशील संकटसँग खेलवाड गर्दा गम्भीर अवस्था आएकाले अब यसबाट सबैले पाठ सिक्नुपर्ने संयोजक कँडेलले बताए।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय