मंगलबार , बैसाख ११, २०८१

कोभिड-१९ विरुद्ध सरकारबाट खोप आयातको अनुमति पाएको हुकमसँगैको अर्को कम्पनी हो- एमरल्ड, जसको विगत विवादले घेरिएको छ।

औषधि व्यवस्था विभागले भारतको पुनेस्थित सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिशिल्ड र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप ल्याउन नेपालस्थित दुई निजी आपूर्तिकर्ता कम्पनीलाई अनुमति दिएको छ ।

कोभिशिल्ड ल्याउन नेपाली आपूर्तिकर्ता हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक्स र कोभ्याक्सिन ल्याउन एमरल्ड फर्मालाई २२ फागुन साँझ अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले हिमालखबरलाई जानकारी दिए।

भक्तपुरको मध्यपुर ठिमीस्थित हुकम कम्पनीका तर्फबाट रमेश दवाडी र एमरल्डको काठमाडौं, थापागाउँस्थित कम्पनीका तर्फबाट नायरको नाम सम्पर्क व्यक्तिका रूपमा विभागमा उल्लेख छ।

यी दुई कम्पनी खोप उत्पादन गर्ने भारतीय कम्पनीका आधिकारिक विक्रेता भएकाले उनीहरूले नै आयात अनुमति पाएको केसीको दाबी छ। “हुकम र एमरल्ड फर्मालाई औषधि ऐन र औषधि तथा खोपको आपत्‌कालीन संहिता अनुसार, उनीहरूको निवेदनका आधारमा आयात अनुमति दिइएको हो,” केसीले भने।

उनका अनुसार, यी दुई कम्पनीलाई विभागले खोप लगाउँदा लाग्ने सेवा शुल्क समेत जोडेर १० प्रतिशत नाफा पाउने गरी आयात अनुमति दिइएको छ। यी कम्पनीहरूले निजी स्तरमा खोप खरीद गरेर ल्याएर बढीमा १० प्रतिशत नाफा राखेर बिक्री गर्न पाउँछन्।

आयातकर्तालाई १० प्रतिशत कमिसन दिने विषयमा मन्त्रिपरिषद्‌बाट निर्णय भएको र त्यसैका आधारमा आयात अनुमति दिइएको केसीले बताएका छन्।

यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हुकमले सरकारसँगै १० प्रतिशत कमिसन मागेका कारण खोप आयात रोकिएको बताएका थिए। तर, मन्त्रालयले पुनः हुकमलाई नै खोप ल्याउने अनुमति दिएको छ।

यसअघि हिमालखबरले कम्पनी रजिस्ट्रारको कार्यालयको दर्ता विवरण अनुसार, हुकममा विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतु सिंह वैद्यको नाममा शेयर स्वामित्व रहेको जानकारी बाहिर ल्याएको थियो। यो कम्पनी रजिस्ट्रारको कार्यालयमा ३० भदौ २०७७ मा मात्र दर्ता भएको देखिन्छ। हिमाल खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय