बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २४ वैशाख ।

नेकपा एमालेभित्र फेरि सहमतिको सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नै समूहका नेताहरुले दबाब बढाएपछि सहमतिको सम्भावना बढेको हो ।

माधव नेपाललाई चिढ्याएर बढ्न खोजे दुर्घटना हुने खतरा ओलीका विश्वासपात्रहरुले नै औल्याएपछि सहमतिको सम्भावना बढेको हो । सहमतिको सुत्र तयार गर्न ओली र नेपाल समूहका केही नेताहरु सक्रिय भएका छन् । उनीहरुले न्यूनतम सहमतिका लागि छलफल चलाइरहेका छन् ।

सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्ने माधव नेपालले बताइसकेका छन् । उनले सहमति नबनेको र बटमलाइन २ जेठ २०७५ मा फर्कनुपर्ने नै रहेको स्पष्ट पारिसकेका छन् । ओलीले महाधिवेशन आयोजक कमिटी बनाएरै बढ्ने अडान लिइरहेका छन् । सहमतिको लागि बीचको बाटो अपनाइँदैछ ।

ओलीले बनाएको महाधिवेशन कमिटीमा २६५ थपिएकालाई मान्यता दिने तर नवौं महाधिवेशनको निर्वाचित पदाधिकारी देखि केन्द्रीय कमिटीलाई यथावत् राख्नुपर्ने गरी सहमति निकाल्न खोजिएको बुझिएको छ । रामबहादुर थापा बादललाई विद्या भण्डारी राष्ट्रपति भएपछि खाली रहेको उपाध्यक्ष पदमा ल्याउने, माओवादीबाट एमालेमा आएका स्थायी कमिटी सदस्यहरुलाई यथावत् राख्ने गरी सहमति निकाल्नेबारे छलफल बढेको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ ।

२७ वैशाखमा विश्वासको मत लिनुअघि एमालेलाई एकतावद्ध बनाउने दबाबमा ओली परेपछि सहमतिको सुत्र बनाउने प्रयासले गति लिएको हो । यसमा राष्ट्रपति भण्डारी, ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङका अलावा नेपाल निकट योगेश भट्टराई र घनश्याम भुसाल सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय